विगतका वर्षमा यो समय सौराहा पर्यटकले भरिन्थे। होटलहरुको अकुपेन्सी पनि राम्रो हुन्थ्यो। तर यसपाली विगत जस्तो भएन। चिनियाँ पर्यटक कम आएसँगै यहाँको पर्यटकीय गतिविधि प्रभावित भयो। विगतमा जस्तो भारतीय र तेस्रो मुलुकका पर्यटक पनि उल्लेख्य आएका छैनन्। स्वदेशी पर्यटकको सङ्ख्या पनि न्यून रहेको व्यवसायीले बताएका छन्।
चितवन फरेष्ट रिसोर्टका सञ्चालक दीपक भट्टराई विगतका वर्षमा यतिबेला आफ्नो होटलमा ८० प्रतिशत चिनियाँ पर्यटक हुने गरेकामा यस वर्ष ४० प्रतिशत पनि नपुगेको बताउँछन्। चिनियाँ पर्यटक किन आएनन् भन्ने जानकारी नभएको भन्दै उनले नेपालीहरु नयाँ गन्तव्यहरुमा गएको बताए।
सिद्धार्थ भिलासा वनवासका महाप्रबन्धक प्रकाश न्यौपाने खर्चिला चिनियाँ पर्यटकहरु सौराहा नआएको बताउँछन्। चिनियाँ पर्यटकको एक समूहको भनाइलाई उदृत गर्दै उनले भने, ‘काठमाडौँमा फागु खेल्न यस वर्ष भारतीयभन्दा चिनियाँ पर्यटक बढी आए, यहाँ भने आएनन्।’
क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलिया गतवर्षहरुको तुनलनामा सौराह आउने पर्यटक आधाभन्दा कमले घटेको बताउँछन्। चैतको पहिलो सातादेखि असारसम्म यहाँ धेरै पर्यटक आउने गर्दछन्। यो मौसमलाई सौराहाका होटल व्यवसायीहरुले राम्रो यामका रुपमा लिने गर्दछन्।
जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे चिनियाँहरुले यसवर्ष ‘भिजिट नेपाल वर्षका’ रुपमा मनाएको भएपनि नेपाल कम आएको बताउँछन्। नेपालका पर्यटकीय गन्तव्यमा समेत गतिविधिहरु गरेर आकर्षण गर्न नसकेको उनको भनाइ छ। चीनको छेन्दु–पोखरा उडान भएपछि केही पर्यटक बढ्ने आशा आफूहरुमा रहेको उनले बताए। घिमिरेले भने, ‘सन् २०२५ मा चिनियाँ पर्यटकबाट धेरै आशा गरेको भएपनि हुन सकेन।’ नेपालको पर्यटन प्रवद्र्धनका लागि चीन र भारत नै मुख्य रहेको घिमिरेको भनाइ छ।
गत वर्षमा यतिबेला एउटा हात्तीले पर्यटकलाई दैनिक तीन पटक जङ्गल घुमाउँथ्यो। हात्ती सञ्चालन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा अहिले यो सङ्ख्या आधा भएको बताउँछन्। रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) का पूर्वअध्यक्ष समेत रहनुभएका खतिवडा रेष्टुरेन्टहरुको व्यापार पनि आशातित नभएको बताउँछन्।
सङ्घका अध्यक्ष गङ्गा गिरी चिनियाँ पर्यटक धेरै आउँदा चिनियाँ पर्यटक धेरै राख्ने होटलहरु भरिने र अन्य पर्यटकले अरु होटल भरिने भए पनि अहिले त्यस्तो नभएको बताउँछन्। गत वर्षहरुमा यतिबेला दैनिक पाँच सय चिनियाँ पर्यटक सौराहा आइपुग्थे। यो वर्ष एक सय ५० देखि दुई सय मात्रै चिनियाँ पर्यटक आएको उन बताउँछन्।
एकैदिन एक हजार हाराहारीसम्म भारतीय पर्यटक आउने सौराहामा यतिबेला एक सय ५० हाराहारी मात्रै आएका छन्। गिरीले भने, ‘एक हजारभन्दा बढी तेस्रो मुलुकका पर्यटक आउने सौराहामा यो वर्ष देख्न मुस्किल छ।’
उनको भनाइमा यस याममा ९९ प्रतिशतसम्म बुकिङ हुन्थ्यो। यस वर्ष ३५ देखि ४० प्रतिशत मात्रै पर्यटक छन्। भूकम्पअघिसम्म तातोपानी नाकाबाट आफ्नै सवारीमा आउने चिनियाँ पर्यटक सडक नबन्दा रोकिएको उन बताउँछन्। यस्तै हवाई यात्रा महँगो हुँदा पनि चिनियाँसँगै अरु पर्यटक प्रभावित भएको गिरी बताउँछन्।
अहिले आएका पर्यटकमध्ये ६० प्रतिशत नेपाली छन्। उनले भने ‘धेरथोर स्वदेशी पर्यटकले सौराहा धानेको छ’, सौराहामा १४८ वटा होटल छन्। जहाँ सात हजार २०० पर्यटक अट्ने क्षमता छ।
गिरीका अनुसार ती होटलमा रु चार खर्बभन्दा बढी लगानी छ। प्रत्यक्ष रुपमा ६ हजार ४०० ले रोजगारी पाएका छन्। अप्रत्यक्ष रोजगारी पाउनेको सङ्ख्या १२ हजारभन्दा बढी छ। बर्सेनि पर्यटक घट्दै गएपछि धेरै होटलको अवस्था नाजुक छ। गिरीले भने, ‘एउटा ठूलो होटल बैंकको लिलाम निस्किसकेको छ, अरु धेरै लिलामीको चरणमा छन्।’
Shares

प्रतिक्रिया