कारोबार


मालसामान आयात गर्न रसुवागढी र तातोपानी नाका खोल्ने निर्णय

मालसामान आयात गर्न रसुवागढी र तातोपानी नाका खोल्ने निर्णय

भीष्मराज ओझा
चैत १२, २०७६ बुधबार १४:५०,

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीन तर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुरु गर्ने भएको छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले सो निर्णय गर्दै यस सम्बन्धी आवश्यक समन्वय गृह र अर्थ मन्त्रालयले गर्ने जनाएको छ।

यसैगरी समितिले अति आवश्यक बैंकिङ सेवा गृह र अर्थ मन्त्रालयको समन्वयमा नाका सञ्चालन गर्ने, औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने तथा यस्ता सवारी साधनले यात्रु ओसारपसार गर्न नपाउने निर्णय गरेको छ।

औषधि उत्पादन, ग्यास बोटलिङजस्ता कार्यमा संलग्न हुने श्रमिकहरूलाई कार्यस्थलसम्म आउन जानका लागि सम्बन्धित उत्पादक संस्थाले सवारी साधनको व्यवस्था गर्नुपर्ने तथा गृह मन्त्रालयले सो सवारी साधनका लागि आवश्यक अनुमति दिने बैठकले निर्णय गरेको छ।

ठूला खाद्य स्टोरले होम डेलिभरी दिनुपर्ने
समितिले ठूला खाद्य स्टोर तथा पसलहरूले आवश्यक खाद्यवस्तुहरू ‘होम डेलिभरी’ गर्ने व्यवस्था मिलाउने र यसका लागि गृह मन्त्रालयले सीमित संख्याका सवारी साधनलाई अनुमति दिने, स्थानीय तहले वडास्तरमा दूध, तरकारी, फलफूल लगायत अन्य खाद्यवस्तु बिक्री वितरण गर्ने पसलहरूमा भीडभाड नहुने, मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र ग्राहकहरूबीच भौतिक दुरी कायम हुने गरी सञ्चालन गर्न सहजीकरण गर्ने पनि निर्णय गरेको छ।

यसैगरी अति आवश्यक परी खाद्यान्न ढुवानी गर्नुपरेमा गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा हवाई ढुवानी गर्ने व्यवस्था मिलाईने भएको छ। इन्डक्सन चुल्हो प्रयोग गर्न प्रोत्साहन दिन अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र उद्योग मन्त्रालयले समन्वय गरी विद्युत् महसूल र भन्सार महसूल छूट दिने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ।

गृह मन्त्रालय र पर्यटन मन्त्रालयको स्वीकृतिमा नेपालका विभिन्न स्थानहरूमा रहेका विदेशी नागरिकहरूलाई हवाई उद्धार गरी काठमाडौं ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो देश फर्की जान सहजीकरण गर्ने, यसरी ल्याइएका विदेशीहरूलाई विमानस्थलबाटै आफ्नो देश फर्की जाने उडानको समय नमिलेको अवस्थामा सो अवधिभर विमानस्थल नजिकको होटेलमा निजहरूकै खर्चमा क्वारेन्टामइनमा राखिने भएको छ।

स्थानीय तहले स्वास्थ्यसम्बन्धी विवरण अद्यावधिक गर्नुपर्ने
स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्रका वडाहरूमा तेस्रो मुलुक र भारतबाट आएका व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी विवरणसहितको अभिलेख प्रत्येक दिन अद्यावधिक गर्नुपर्ने, स्थानीय स्वास्थ्य संयोजकले कोभिड–१९ को लक्षण देखिएका व्यक्तिहरूको विवरण प्रत्येक दिन प्रमुख जिल्ला अधिकारीलाई उपलब्ध गराउने, यस्तो विवरण प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा र सो केन्द्रले आपत्कालीन स्वास्थ्य कार्यसञ्चालन केन्द्रमा प्रत्येक दिन साँझ ६ बजेभित्र पठाउनुपर्ने बैठकको निर्णय छ।

समितिले प्रदेश र स्थानीय तहहरूले क्वारेन्टाइनको व्यवस्था गरी सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा चार अंकको टोल फ्रि टलिफोन सेवा जडान गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad