कारोबार


बुटवलमा प्रसारणलाइनको मोनोपोल राख्ने काम धमाधम

बुटवलमा प्रसारणलाइनको मोनोपोल राख्ने काम धमाधम

नेपालखबर
फागुन २३, २०८१ शुक्रबार १२:३१, काठमाडौँ

बुटवल उपमहानगरपालिका–११स्थित कालिकापथको योगिकुटी चोकदेखि होराइजन चोकसम्मको सडक खण्डमा पर्ने प्रसारण लाइनको मोनोपोल राख्ने काम धमाधम भइरहेको छ।

बुटवलबाट मोतीपुरतर्फको १३२ केभि डबल सर्किट प्रसारण लाइनको टावर (चार खुट्टा भएको) लाई हटाएर योगिकुटी– होराइजन चोक सडक खण्डमा मोनोपोल (एउटा मात्र खुट्टा) राख्न लागिएको छ।

करिब एक किलोमिटर सडक खण्डको बीचमा रहेका चारवटा टावरलाई हटाएर राखिने मोनोपोलको जग (फाउन्डेसन) निर्माण भइरहेको छ। फाउण्डेसनको काम १५ दिनभित्रमा सकिनेछ। मोनोपोल निर्माणस्थलमा आपूर्ति भइसकेको छ। उक्त सडक खण्डमा ३०÷३० मिटरका दुईवटा र ३२÷३२ मिटरका दुईवटा मोनोपोल जडान गरिनेछ।

चालू रहेको उक्त प्रसारणलाइनलाई करिब १५ दिन बन्द (सटडाउन) गरेर मोनोपोल जडान गरिनेछ। उक्त खण्डमा रहेका पुरानो टावरलाई हटाइने छ। साथै, तार (कन्डक्टर) पनि नयाँ प्रयोग गरिनेछ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको अनुगमन गरी गर्मी सुरु हुनुभन्दा पहिले नै मोनोपोल जडान गरिसक्न आग्रह गरे। गर्मी सुरु भएपछि बुटवल क्षेत्रमा विद्युत्को माग बढ्ने हुँदा प्रसारणलाइन सटडाउन दिन समस्या हुने भएकाले त्यसभन्दा अघिनै काम सक्न कार्यकारी निर्देशक घिसिङले बुटवल ग्रीड महाशाखालाई निर्देशन दिए।

सडक र प्रसारणलाइन (तार) बीचको कम हुँदा सडकमा गुड्ने ठूला गाडीहरुले लाइन छोएमा हुन सक्ने दुर्घटनाको अन्त्य गर्न योगिकुटी– होराइजन चोक सडक खण्डमा मोनोपोल राख्न लागिएको हो। हाल सडक र लाइनबीचको दूरी ६ मिटरभन्दा कम छ। मानोपोल राखिएपछि सडक र लाइनबीचको दूरी करिब नौ मिटर हुनेछ।

प्रसारण लाइनको टावर हाल बीचमा हुँदा उक्त सडक खण्ड साँघुरो रहेको छ। हालको टावरको बेसमेन्टको व्यास करिब ८ मिटर छ।

मोनोपोलको बेसमेन्टको व्यास करिब साढे दुई मिटर मात्र हुनेछ। यसले गर्दा सडक पनि फराकिलो हुनेछ। साथै, मोनोपोल राखिएपछि हालको प्रसारण लाइनको मार्गधिकार घट्ने भएकाले त्यसको दायाँ–बायाँ रहेका घरहरु पनि थप सुरक्षित हुनेछन्। 

मोनोपोल निर्माणका लागि ३ करोड ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। प्राधिकरणको लगानीमा निर्माण भइरहेको मोनोपोलको सम्पूर्ण काम अगागी जेठभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad