ad ad

कारोबार


एनसेलले मानेन प्राधिकरणको निर्देशन, रिचार्जमा आधा मात्र बोनस, सापटी २ सय पुर्‍यायो

एनसेलले मानेन प्राधिकरणको निर्देशन, रिचार्जमा आधा मात्र बोनस, सापटी २ सय पुर्‍यायो

नेपालखबर
चैत १२, २०७६ बुधबार १२:५,

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनलाई अवज्ञा गर्दै रिचार्जमा आधामात्र बोनस दिने निर्णय गरेको छ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अहिलेको विषम परिस्थितिमा उपभोक्तालाई रिचार्जबराबरको बोनस दिन निर्देशन दिए पनि उसले आधा मात्र दिने बताएको हो।

बुधबार विज्ञप्ति जारी गर्दै रिचार्जमा ५० प्रतिशत मात्र बोनस दिने घोषणा गरेको हो। एनसेलका अनुसार उक्त आधा बोनस सोही दिनको मध्यरातिसम्मको लागि मात्र मान्य हुनेछ।

एनसेलले उपभोक्तालाई दिने आधा बोनस र सोही दिनको लागि मात्रको निर्णय नियामक निकायको निर्देशनविपरीत देखिन्छ।

मंगलबार बसेको प्राधिकरणको सञ्चालक समितिको अनलाइन बैठकले सम्पूर्ण दूरसञ्चार सेवा प्रदायकलाई एक महिनाको लागि रिचार्जबराबरको बोनस र लोनको सीमा २ सय रुपयै पु¥याउने निर्देशन दिएको थियो।

‘एनसेलले हरेक रिचार्जमा ५० प्रतिशतसम्म बोनस पाइने योजना ल्याएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यो योजनाअन्तर्गत एनसेलका ग्राहकले रु ५०, रु १००, रु २००, रु ३००, रु ५०० र रु १००० को रिचार्जमा ५० प्रतिशत बोनस प्राप्त गर्न सक्नेछन्।’

प्राप्त बोनस रकम एनसेल नेटवर्कभित्र कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्नेछन्। बोनस रकम सोही दिनको मध्य रातिसम्म मान्य हुनेछ।

आधार बोनस मात्र दिएको एनसेलले सापटी भने २ सय पु¥याएको छ। एनसेलका ग्राहकले विगतमा यो सेवा प्रयोग गरेको व्यवहारको आधारमा न्यूनतम रु ४० देखि अधिकतम रु २०० सम्म
सापटी लिन सक्नेछन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले भने प्राधिकरणको निर्देशनलाई सेवा प्रदायकले पालना गर्नुपर्ने बताएको छ।

योसँगै एनसेलले कोरोना भाइरस संक्रमणको अवस्थामा एनसेलले सञ्चार सेवाको पहुँचलाइ अझै सरल र सुलभ बनाउँन भन्दै ग्राहकका लागि एनसेल सापटी रकममा वृद्घि, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा र स्टे होम प्याक ल्याएको जनाएको छ।

ब्यालेन्स ट्रान्सफर सेवा अन्तर्गत प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र रहेका आफ्ना परिवारका सदस्य तथा साथीभाइलाई आफ्नो मेन ब्यालेन्सबाट निःशुल्क रुपमा ब्यालेन्स रकम उनीहरुको मोबाइलमा पठाउन तथा उनीहरुबाट प्राप्त गर्न पनि सक्नेछन्।

हालको परिस्थितीलाई ध्यानमा राखी ब्यालेन्स ट्रान्सफरको सिमा एक दिनमा अधिकतम ३ पटकबाट २० पटक पुर्याइएको जनाएको छ।

प्रिपेड ग्राहकलाई १० देखि रु ५०० सम्म आफ्नो मेन ब्यालेन्सबाट एनसेलको अन्य कुनै नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न सकिने सुविधा दिएको छ। ब्यालेन्स ट्रान्सफरबाट प्राप्त रकमबाट ग्राहकले कल गर्न, एसएमएस पठाउन तथा इन्टरनेट चलाउन सक्नेछन् ।

एनसेलले १५ जिबी डेटा भोलुम सहितको स्पेशल डेटा प्याक स्टे होम प्याक ल्याएको छ। ग्राहकले कर बाहेक मात्र रु २३० (कर सहित २९३.६९) मा यो प्याक सुचारु गर्न सक्नेछन् ।

यो डेटा प्याकमा रहेको १५ जिबी डेटामा १० जिबी डेटा सबै नेटवर्कमा (टुजी, थ्रिजी र फोरजी) मा लागु हुनेछ भने ५ जिबी डेटा फोजी नेटवर्कमा मात्र लागु हुने जनाएको छ।

यो प्याकको समयावधि सात दिनको रहेको छ र ग्राहकले मध्यरात देखि बेलुका ६ बजेसम्मको समयमा डेटा प्रयोग गर्नुपर्ने हुन्छ ।

एनसेलको यो योजना अन्तर्गतको सबै अफरहरु ३० दिनका लागि संचालनमा रहने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .