भारतमा काम गरेर घर फर्किने क्रममा नाकामा अलपत्र परेका सुदूरपश्चिमका एक हजार पाँच सय ३४ जना सम्बन्धित जिल्ला पुगेका छन्।
कञ्चनपुरको गड्डाचौकी तथा कैलालीको गौरीफन्टा र खक्रौला नाकामा अलपत्र परेकाहरुलाई प्रशासनले गाडीमा राखेर गन्तव्यमा पुर्याएको हो। सुदूरपश्चिम प्रदेश सरकारले मंगलबार सीमामा रोकिएहरुलाई गन्तव्यसम्म पुर्याएर १४ दिन क्वारेन्टिनमा राख्ने निर्णय गरेको थियो। सीमाबाट उद्धार गरिएकामध्ये कोही क्वारेन्टिनमा बसेका छन् भने कोहीले बस्न अटेरी गरेका छन्।
आवागमन बन्द भएपछि मंगलबार कञ्चनपुरको गड्डाचौकी नाकामा रोकिएका सुदूरपश्चिमसहित कर्णाली प्रदेशका पाँच सय १७ जनालाई बसमा राखेर गन्तव्यमा पुर्याइएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए। यस्तै कैलालीको गौरीफन्टा नाका र खक्रौला नाकामा रोकिएका एक हजार ४२ जनालाई पनि घर पुर्याइएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए।
सुदूरपश्चिम प्रदेशका ९ जिल्लासहित २३ जिल्लाका मानिस सीमामा रोकिएका थिए। मंगलबार नाकाबाट उद्धार गरिएकाहरुलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने निर्णय भएको थियो। जिल्लागत विवरण राख्दै उनीहरुलाई नाका प्रवेश अनुमति दिइएको थियो।
गड्डाचौकी, गौरीफन्टा र खक्रौला नाकाबाट उद्धार गरिएकाहरुमध्ये कोहीले क्वारेन्टिन बस्न अटेरी गरेका छन्। अछामको मंगलसेन नगरपालिकामा क्वारेन्टिनमा बस्न अटेरी गरेको नगर उप–प्रमुख सरिता उपाध्यायले बताइन्। ‘भारतबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्न खोजेका छौँ तर बस्ने मानिरहेका छैनन्, हामीलाई केही भएको छैन्, क्वारेन्टिमा बसालेर मार्न खोज्दै छन् भनेर बस्न चाहेका छैनन्’, उनले भनिन्।
उनका अनुसार नाकाबाट उद्धार गरिएकाहरुमध्ये ४० जना सदरमुकाम पुगेका छन्। उनिहरुलाई कृषि कार्यालय भवनमा राखिएको क्वारेन्टाइमा राख्ने व्यवस्था मिलाइएको छ। नगर उप–प्रमुख उपाध्यायका अनुसार केहीलाई सम्झाएर क्वारेन्टाइनमा राखिएको छ। केही भने क्वारेन्टाइमा बस्न मानेका छैनन्।
उता डोटीमा पनि क्वारेन्टिनमा बस्न अटेरी गरिरहेको प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले बताए। ‘क्वारेन्टिनमा बस्न अटेरी गरेका छन्, हामी बिहानैदेखि सम्झाउदै छौँ, केहीलाई क्वारेन्टिनमा राखिएको छ’, उनले भने, ‘बल प्रयोग गछौँ भने पछि केही बल्ल बसेका छन्।’
डडेल्धुराको अमरगढी नगरमा समेत भारतबाट फर्किएकाहरुले क्वारेन्टिन बस्न अटेरी गरेका छन्। ‘क्वारेन्टाइन छन् तर त्यहा बस्न मानेका छैनन् ।’ अमरगढी नगरपालिकाका नगर प्रमुख विशेश्वरप्रसाद ओझाले भने, ‘घरमा एक्लै क्वारेन्टिनमा बस्ने लिखित प्रतिबद्धता लिएर घर जान दिएका छौं।’
कतै क्वारेन्टाइन छैन
भारतबाट फर्किएकाहरुलई १४ दिन क्वारेन्टिनपछि मात्र घर पठाउने सुदूरपश्चिम प्रदेशले निर्णय गरे पनि पहाडी जिल्लाका केही ठाउँमा भने यसको प्रवद्र्धन नै मिलाइएको छैन्। भारतबाट फर्किएकाहरुलाई क्वारेन्टिनमा राख्ने भने पनि अहिलेसम्म स्थानीय तहले यसको व्यवस्था मिलाएका छैनन्।
क्वारेन्टिन राख्ने ठाउँको खोजीमा नै स्थानीय तह रुमलिएका छन्। बाजुराको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकाले क्वारेन्टिनका लागि स्थानको खोजी गरिरहेको नगर प्रमुख पदम बडुवालले बताए।
‘भारतबाट आएकाहरु पुगिसकेका छन्, क्वारेन्टिनका लागि ठाउँको खोजीमा छुँ’, उनले भने। जिल्लाको अन्य स्थानीय तहका मानिसलाई सम्बन्धित स्थानीय तहमै पठाइएको छ।
केहि दिनपहिले भारतबाट गड्डा चाैकी हुँदै नेपाल प्रबेश गर्नेहरुकाे भीड। तस्बिर: गाेकुल जाेशी
जो क्वारेन्टिनमा बसेका छन्
नाकाबाट उद्धार गरिएका सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका मानिस कोही क्वारेन्टिनमा बसेका छन्, कोही तयारी छन् भने कोहीले अटेरी गरेका छन्। बझाङका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीका अनुसार भारतबाट फर्किएहरुमध्ये अधिकांशलाई क्वारेन्टाइनमा राखिएको छ। केहीलाई सम्बन्धित स्थानीय तह पठाइएको छ।
डोटीमा २ सय ५७ जनालाई क्वारेन्टिन राखिएको छ। डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलका अनुसार २ सय ५७ जना क्वारेन्टिन बसेका छन् भने कोहीले अटेरी समेत गरेका छन्। डोटीको शिखर नगरपालिकास्थित नगरसभाको भवनमा तयार रहेको ४ वटा क्वारेन्टाइनमा ७२ जनालाई राखिएको नगर प्रमुख सीताराम जोशीले बताए।
बझाङमा भने अहिलेसम्म मानिस पुगेका छैनन्। क्वारेन्टिन तयार रहेको बताउँदै बझाङको जयपृथ्वी नगरपालिकाका नगर प्रमुख वीरबहादुर खड्काले सबैलाई क्वारेन्टिनमा राखिने बताए।
उता दार्चुलाको महाकाली नगरपालिकाका २ जना पुगेको नगर प्रमुख हंशराज भट्टले बताए। उनीहरुलाई घरमा १४ दिन एक्लै बस्ने प्रतिवद्धतापछि घर पठाइएको छ। डडेल्धुराको परशुराम नगरपालिकास्थित त्रिवेणी क्याम्पसमा राखिएको क्वारेन्टाइनमा ४५ जना राखिएको उप–प्रमुख कलावतीदेवी बोहराले बताइन्।

प्रतिक्रिया