दक्षिण एसियाली राष्ट्रहरुका अर्थमन्त्री तथा अन्य उच्च पदस्थ पदाधिकारी एवं अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक लगायत अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाका उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभावबारे भिडियो कन्फ्रेन्स गरेका छन्।
नेपालको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थिति रहेको अर्थ मन्त्रालयले जनाएको छ। अर्थमन्त्री खतिवडाले आफ्नो मन्तव्य दिँदै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले नेपालमा परेको असर र नेपाल सरकारले सो को रोकथाम र नियन्त्रणका लागि हालसम्म गरेको प्रयास बारे जानकारी गराएका थिए। उनले पर्यटन, निर्माण र रोजगारीको क्षेत्रमा यसले तत्काल असर पारेको तथा अर्थतन्त्रमा दीर्घकालमा नकारात्मक असर पार्न सक्ने धारणा राखेका थिए।

महामारीको रुपमा फैलिएको यस रोगले सबै वर्ग र तप्कालाई कुनै न कुनै रुपमा प्रभाव पारेको यथार्थसँगै स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र अर्थतन्त्रलाई टेवा पुग्ने गरी सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको उनले बताए। राज्यको क्षमता सीमित हुँदा क्षति पुगेका वास्तविक वर्ग र क्षेत्रलाई तत्काल र ठूलो सहयोग उपलब्ध गराउने विषय चुनौतीपूर्ण रहेको बताए।
कोरोना प्रभावबाट भएको क्षति परिपूरण गर्न नेपाल जस्ता कम क्षमता र स्रोत भएका मुलुकहरुका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले विशेष सहयोग गर्नुपर्ने तथा क्षेत्रीय सहयोगका सम्भावित सबै संयन्त्र उपयोग गर्नुपर्ने बताए। उनले दक्षिण एसियाली मुलुकहरुको साझा संगठन सार्कलाई पुनर्जीवन दिँदै विद्यमान संस्थागत संरचनाको पूर्ण उपयोग गर्ने, एकापसका व्यापार आपूर्ति प्रणालीलाई निरन्तरता दिने र आवश्यक परे स्वास्थ्य सेवामा थप सहकार्य गर्न सबै राष्ट्रले एक अर्कालाइ सहयोग, साथ र आड भरोसा दिनुपर्ने धारणा समेत राखे।
भिडियो कन्फरेन्समा सहभागीहरुले कोरोना भाईरसको रोकथामका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक उपकरण तथा सुरक्षाका सामग्रीहरुको व्यवस्था, स्वास्थ्य सेवा प्रणालीको विकास, साना तथा मझौला उद्यमहरु र रोजगारीमा परेको प्रभाव, मौद्रिक तथा वित्त नीति बीच गर्न सकिने समन्वय र तादाम्यता तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले गर्नसक्ने सहयोग बारे आ-आफ्नो धारणा राखेका थिए।
उक्त छलफलमा अन्तर्राष्ट्रिय मुद्रा कोषका डाईरेक्टर च्याञ्योङ्ग रि, विश्व बैंकका भाईस प्रेसिडेन्ट हार्टविग सेफर, अन्तर्राष्ट्रिय वित्त निगमका भाईस प्रेसिडेन्ट नेना स्टोजोभिक, बहुपक्षीय लगानी प्रत्याभूत संस्थाका भाईस प्रेसिडेन्ट तथा चिफ अपरेटिङ्ग अफिसर एस. विजय आईयरका अतिरिक्त दक्षिण एशियाका राष्ट्रहरुका एक्जुकेटिभ डाइरेक्टरहरु तथा एशियाली विकास बैंक, एशियाली पूर्वाधार लगानी बैंक जस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाका पदाधिकारीको समेत सहभागिता थियो। सो छलफलमा अर्थ सचिव, राजस्व सचिव, नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिव तथा नेपाल स्थित विश्व बैकका कन्ट्री म्यानेजरको समेत उपस्थिति थियो।
Shares

प्रतिक्रिया