कारोबार


रिचार्ज बराबरको बोनस र २ सय लोन दिन दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

रिचार्ज बराबरको बोनस र २ सय लोन दिन दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

सन्तोष न्यौपाने
चैत ११, २०७६ मंगलबार १३:४२,

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई ग्राहकले रिचार्ज गरे बराबरको बोनस र सापटीलाई २ सय रुपैयाँसम्म पुर्‍याउन निर्देशन दिएको छ।

कोरोना भाइरसले उत्पन्न गरेको विषम परिस्थितिमा टेलिकम उपभोक्तालाई राहत होस् भनेर उक्त निर्णय गरेको प्राधिकरण जनाएको छ।

मंगलबार बसेको प्राधिकरणको सञ्चालक समितिको अनलाइन बैठकले उक्त निर्णय गरेको हो।

उक्त निर्णयअनुसार सरकारी स्वामित्वको नेपाल टेलिकम, निजी क्षेत्रका एनसेल र स्मार्ट टेलिकमले अब आफ्ना ग्राहकलाई एक महिनाको लागि रिचार्ज बराबरको बोनस र २ सय रुपैयाँसम्मको ऋण सापटी दिनु पर्ने छ।

ऋण सापटीको रुपमा ग्राहकले पाउने २ सय रुपैयाँमा ब्याज नलाग्ने तर पछि ब्यालेन्सबाट भने काटिने छ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार लकडाउनको अवस्थामा ग्राहकले रिचार्जकार्ड उपलब्ध नहुने अप्ठेरो परिस्थिति भएकाले सहजताको लागि यो निर्णय भएको बताए।

प्राधिकरण बोर्डको निर्णयलाई सेवा प्रदायकले तुरुन्त कार्यान्वयनमा ल्याउने अर्यालले बताए।

 प्राधिकरणको उक्त निर्णय आधिकारिक रुपमा नआएको भन्दै थप अध्ययन गरेर मात्र सहुलियत दिने वा नदिनेबारे निर्णय गरिने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बताए।

‘उक्त निर्णयलाई कार्यान्वयन गर्नुभन्दा पहिला आर्थिक र प्राविधिक रुपमा कस्तो असर गर्छ भन्ने अध्ययन गर्न आवश्यक छ,’ अधिकारीले भने, ‘आर्थिक भार पर्नेभन्दा पनि नेटवर्कमा थप समस्या आउन सक्छ।’
उनका अनुसार रिचार्ज बराबरको बोनस दिँदा नेटवर्कमा धेरै ट्राफिक बढ्ने छ, जसले गर्दा अहिलेको गुणस्तर खस्केर ग्राहकलाई थप समस्या हुनसक्ने समस्या आउन सक्छ।

‘नेटवर्क व्यस्तता बढ्यो भने ग्राहकको असन्तुष्टि बढ्न सक्छ,’ अधिकारीले भने, ‘यसलाई विशेष ध्यान दिनु पर्छ।’

प्राधिकरणले रिचार्ज बराबरको बोनस भने पनि त्यसमा थप भ्याट लाग्ने भएकाले दूरसञ्चार सेवा प्रदायकलाई अझ ठूलो भार पर्ने छ।

नगद बोनसको सट्टामा डाटा, एसएमएस वा अन्य विकल्पतिर पनि जान सकिने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad