समाज


कपिलवस्तुमा निषेधाज्ञा, बुटवलमा तीन पक्राउ

कपिलवस्तुमा निषेधाज्ञा, बुटवलमा तीन पक्राउ

नेपालखबर
चैत ११, २०७६ मंगलबार १३:५२,

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव जोखिम नियन्त्रणका लागि नेपाल सरकारले आजदेखि लागु गरेको अत्यावश्यक सेवाबाहेक अन्य सेवा सञ्चालनमा रोक लगाउने आदेश ‘लकडाउन’ को प्रभाव यस क्षेत्रमा देखिएको छ।

प्रदेशको अस्थायी केन्द्र बुटवललगायत वरपरका जिल्लाहरूमा ‘लकडाउन’ को समयमा अत्यावश्यक बाहेकका कुनै पनि सवारी साधन चलेनन्। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले अन्य जिल्लाभन्दा रुपन्देही प्रदेशको केन्द्र भएकाले कार्यालय सञ्चालन गर्ने जिम्मेवारीले कार्यालय आउने जानेहरुका कारण केही बढी सवारी चलेको बताए।

उनले यस क्षेत्रकै मुख्य सीमा नाका बेलहिया भन्सारमा सोमबार बेलुका भारतका विभिन्न स्थानबाट आएकालाई स्वदेश भित्रिन दिइएको र त्यसपछि भने नाका पूर्णरूपले बन्द रहेको जानकारी दिए। ‘लकडाउन’ कारण रुपन्देहीबाट प्रकाशित हुने अधिकांश दैनिक पत्रिकाहरुले प्रकाशन बन्द गरेका छन्। पत्रिकाहरुले आफ्नो प्रकाशन अनलाइन संस्करणबाट सूचना प्रवाह गर्ने भन्दै प्रकाशन बन्द गरेको जनाएका छन्।

यस्तै सरकारले घोषणा गरेको ‘लकडाउन’ को सर्वसाधारणले अवज्ञा गरेपछि कपिलवस्तुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्नुपरेको छ। सरकारले आज बिहान ६ बजेदेखि गरेको ‘लकडाउन’लाई अटेरी गरेपछि प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको हो।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले आज विज्ञप्ति जारी गरी अर्को आदेश जारी नहुँदासम्म निषेधाज्ञा आदेश जारी रहने बताएका छन्। ‘लकडाउन’ को अवज्ञा गर्दै सर्वसाधारण घरबाहिर निस्कन थालेपछि निषेधाज्ञा जारी गरिएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा अनुसार चैत ११ गते बिहान ६ बजेदेखि अर्को आदेश जारी नहुँदासम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। विश्वभरि फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यस्तो गरिएको प्रशासनले जनाएको छ। खुल्ला सिमानाका कारण जिल्लामा ‘लकडाउन’ गर्न समस्या भएको थियो।

यससँगै प्रदेशका अन्य जिल्लामा ‘लकडाउन’को अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय तुल्सीपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिए। उनले प्रहरीले सर्वसाधारणलाई ‘लकडाउन’ को पूर्णरूपले पालन गरेर घर बाहिर ननिस्कन माइकिङ गर्ने र सीमा क्षेत्रमा आवतजावतलाई पूर्णरूपले रोक लगाउन कडा सुरक्षा परिचालन परिएकोसमेत जानकारी गराए।

प्रदेश सरकारले समेत प्रदेशका कुनै पनि क्षेत्रमा कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि ‘लकडाउन’ लाई कडाइका साथ लागु गर्न सर्वसाधारणमा आग्रह गरेको छ। यसका साथै प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि रु १० करोडको नोभल कोरोना भाइरस नियन्त्रण कोष घोषणा गरेको छ। प्रदेश सरकारले स्थापना गरेको उक्त कोषमा जोसुकैले पनि रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए।

यसका साथै प्रदेश सरकारले प्रदेशका मुख्य चार स्थानमा निर्माण गर्ने भनेको आइसोलेशन अस्पतालका लागि विनियोजन गरिएको रु १/१ करोडलाई बढाएर रु २/२ करोड पुर्याएको प्रवक्ता चौधरीले जानकारी दिए।

बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालले बुटवलमा निर्माण गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा चार जनालाई राखिएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिशियन डा सुदर्शन थापाले उनीहरुलाई सोमबार बेलुका आइसोलेसनमा ल्याइएको जानकारी दिए।

आइसोलेट गरिएका चारैजनाको स्वाब परीक्षणका लागि स्वाब सुरक्षित तरिकाले एम्बुलेन्समा काठमाडौँ पठाउने व्यवस्था गरिएको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले जानकारी दिए।

लकडाउन अवज्ञा गर्ने प्रहरी नियन्त्रणमा
बुटवलमा लकडाउन अवज्ञा गर्दै हिँडेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुटवलको राजमार्ग चौरहामा मोटरसाइकलमा होहल्ला गर्दै हिँडेका अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

मादक पदार्थ सेवन गरेर मोटरसाइकलमा होहल्ला गर्दै हिँडेका बुटवलका हेमन्त घिमिरे, सन्तोष रास्कोटी र नवराज श्रेष्ठलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।
प्रहरीले उनीहरुले प्रयोग गरेको लु २६ प ५६५२ नम्बरको स्कुटर र लु ३० प ९७०८ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको बताइएको छ।

यसैगरी लकडाउन अवज्ञा गर्दै सडकमा सवारी चलाउने १६७ सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलका विभिन्न स्थानमा चलाइएका १५२ मोटरसाइकल, तीन तीन स्कुटर र कार, एक ट्याक्टर, दुई अटो रिक्सा र ६ ट्रक नियन्त्रणमा लिइएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad