ऊर्जामन्त्री दीपक खड्काले दूधकोसी जलविद्युत आयोजना प्रमुख कार्यकारी अधिकृत इन्जिनियर विमल गुरुङलाई हटाउन ठाडो आदेश दिएको पाइएको छ।
मन्त्री खड्काले आफ्नाबारेमा सामाजिक सञ्जालमा ‘गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण’ गरेको आरोप लगाउँदै तत्काल जिम्मेवारीबाट हटाउन आदेश दिएका हुन्।
मन्त्रालयले फागुन ८ गते नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्राचार गरी गुरुङलाई हटाउन भनेको छ। उक्त निर्णय भने सचिवस्तरबाट भएको पत्रमा उल्लेख छ।
यो आयोजना नेपाल विद्युत प्राधिकरणअन्तर्गतकै हो। गुरुङ प्राधिकरणकै १० औँ तहका प्रबन्धक हुन्। यसअघि उनले माथिल्लो तामाकोसी आयोजनाको सफलतापूर्वक निर्माणको जस पाएका थिए। त्यही कारणले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गुरुङलाई दूधकोसीको जिम्मा दिएर पठाएका थिए।
गुरुङ ०८० साउनदेखि दूधकोसी जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत एवं आयोजना प्रमुखको जिम्मेवारीमा छन्। मृत अवस्थामा रहेको परियोजनाले उनी गएपछि गति लिएको प्राधिकरणका अधिकारीहरू बताउँछन्।
यस परियोजनाको मुख्य सुरुङ ड्रिलिङ र ब्लास्टिङ विधिबाट खन्ने गरी डिजाइन गरिएकोमा उनी प्रमुख भएपछि टीबीएम विधिबाट खन्ने गरी डिजाइन गरिएको थियो। यसबाट करिब ४ किलोमिटर सुरुङ र ८ किलोमिटर पहुँच सडक खन्नु नपर्ने भएको छ। साथै, सुरुङको ३ लाख ३० हजार घनमिटर खन्नुपर्ने भाग घट्ने भएको छ।
१८ किलोमिटर लामो १३२ केभी प्रसारणलाइनको सट्टा उनले डेढ किलोमिटर ४०० केभी प्रसारणलाइनको डिजाइन गरे। यस डिजाइन परिवर्तनबाट भविष्यमा निर्माण गरिने अर्को नयाँ २०० मेगावाटको समेत बिजुली प्रवाह गर्न पुग्ने अनुमान गरिएको छ। करिब ४५ वटा धेरै महँगा मल्टिभोल्टेज मल्टिलेभल टावरको सट्टा सिम्पल टावरको डिजाइन गरेर यसबाट करिब ७५ करोड बचत हुने काम गरेको मानिन्छ।
उनी दूधकोसीमा गएपछि करिब १०० किलोमिटर पहुँच मार्गहरूको विस्तृत डिजाइन गरिएको छ। डेढ सय मिटर लामो भोजे मोटरेबल पुल र लामीडाँडामा कार्यालय र आवासीय भवनहरूको ठेक्का सम्झौता गरिएको छ।
उनले लागत घटाउने र छिटो काम सम्पन्न हुने गरी परियोजनाको काम अघि बढाइरहेका बेला मन्त्री खड्का हटाउन लागेका हुन्।
गुरूङले फेसबुकमा कुलमान घिसिङलाई काम गर्न दिनुपर्ने भन्ने आशयको स्टाटस लेखेपछि मन्त्रीले तारो बनाउन थालेका थिए। उनले यसबीचमा नेपाल प्रहरीको साइबर ब्युरो लगाएर समेत दुःख दिएका थिए। मन्त्रीले नै आफ्नो सामाजिक सञ्जालमा चासो दिन थालेपछि गुरूङले फेसबुकको खाता नै निष्क्रिय पारेका थिए।
‘उहाँले माफीसमेत मागिसक्नुभएको थियो,’ गुरुङनिकट एक कर्मचारीले भने, ‘फेसबुक डिएक्टिभ गरिसक्नुभएको छ। तर, पनि खेद्न छाडिएको छैन।’
६३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत परियोजना एसियाली विकास बैंकको वित्तीय लगानीमा बनाउन लागिएको छ। अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रूप दिने काम भइरहेको छ।
Shares

प्रतिक्रिया