बागमती प्रदेश सरकारले भौतिक रुपमा रहेका ढड्डालाई विद्युतीय अभिलेख सुरु गरेको छ।
भौतिक रुपमा रहेका फाइलहरुको विद्युतीय अभिलेख सुरु गरिएको हो। यातायात व्यवस्था कार्यालय, गुर्जुधाराका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराईले भौतिक रुपमा प्रवाह भइरहेको सेवालाई विस्थापन गरी अनलाइनबाट सेवा प्रवाह गर्ने उद्देश्यले काम सुरु गरेको बताए।
उनले विद्युतीय अभिलेख सुरु भएसँगै भौतिकरुपमा रहेका अभिलेखहरु हराउने, नष्ट हुने तथा सेवाग्राहीले लाइन लाग्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने बताए। २५ लाखको संख्यामा रहेको यातायातको अभिलेख दुई वर्षभित्र डिजिटलाइजेसन गरिसक्ने गरी काम सुरु भएको उनले जानकारी दिए।
उनले भने, ‘लगभग २५ लाखको हाराहारिमा बागमती प्रदेशका यातायात कार्यालयमा सवारी साधनका अभिलेखहरु छन्। यी अभिलेखहरु अहिले नहुँदाखेरि अथवा यी अभिलेखहरु भौतिकरुपमा रहँदा खेरि कतिपय अभिलेखहरु नष्ट हुने, हराउने ढुसी लाग्ने जनताले हैरानी भोग्नुपर्ने अनि भौतिक रुपमा आएर सेवा लिँदा विचौलियाबाट ठगिन सक्ने, कार्यालयमा लाइनको हैरानीको जुन समस्याहरु छन् यसबाट मुक्ति दिनका लागि मन्त्रालयले डिजिटलाइजेसन गर्ने यो मुख्य कार्यक्रम हो र यो लगभग दुई वर्षभित्रमा सबै कामहरु सम्पन्न गर्ने भनिएको छ, यसैका लागि एक सय जना डेटा इन्ट्रीकर्ताहरुलाई प्रतिष्पर्धात्मक प्रणालीबाट नियुक्ति गरिएको छ।’
कार्यालय प्रमुख भट्टराईले भौतिक प्रमाण नष्ट भएका वा हराएका सवारी साधनको पनि सवारी धनीसँग भएको प्रमाणलाई आधार मानेर विद्युतीय अभिलेखन गरिने बताए। विद्युतीय अभिलेखनमा देखिने कतिपय समस्यालाई समाधान गर्न भौतिक निर्माण तथा यातायात मन्त्रालयले निर्णय गर्नुपर्ने उनको भनाइ छ।
कार्यालय प्रमुख भट्टराईले सचेतनाको कमीले कतिपय सवारी साधन घरघरमा थन्किएर रहेको तथा कतिपयको भौतिक अस्तित्व नै नभएको बताए। जबसम्म कर कार्यालयमा गएर लगत कट्टा र खारेज गरिँदैन तबसम्म करको दायित्व सवारी धनीकै हुने भएकाले सरकारी बाँकी सरह असुल गर्न सकिने उनको भनाइ छ।
Shares

प्रतिक्रिया