कारोबार


व्यावसायिक भिसामा नेपाल आउने बढे, ४ अर्बले बढ्यो विदेशी लगानी स्वीकृति

६ महिनामै लक्ष्यभन्दा बढी साना उद्योग दर्ता
व्यावसायिक भिसामा नेपाल आउने बढे, ४ अर्बले बढ्यो विदेशी लगानी स्वीकृति

नेपालखबर
फागुन १, २०८१ बिहिबार १४:५६, काठमाडौँ

नेपाल भित्रिने लगानीकर्तासँगै वैदेशिक लगानी प्रतिबद्धता समेत बढेको छ। चालू आर्थिक वर्षको साउनदेखि माघसम्म विगतका वर्षको तुलनामा लगानीकर्तासँगै लगानी बढेको हो।

उद्योग विभागअन्तर्गत दर्ता हुने उद्योगमा गत वर्षको तुलनामा ४ अर्ब रुपैयाँ बढी प्रतिबद्धता आएको छ। 

चालू आर्थिक वर्षमा कुल २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँको प्रतिबद्धता आएको छ। 

साउनदेखि माघ महिनासम्म अटोमेटिक रुटबाट २ अर्ब ६७ करोड रुपैयाँ प्रतिबद्धता आएको छ। गत वर्ष वैशाखबाट अनलाइनबाटै आवेदन दिएका कम्पनी अटोमेटिक रुपमै स्वीकृत हुने व्यवस्था लागू भएको छ। 

उद्योग विभागका अनुसार अटोमेटिक रुटबाट दर्ता हुनेमा सूचना प्रविधिसम्बन्धी कम्पनी धेरै छन्। ५० करोडसम्म पुँजी भएका उद्योग अटोमेटिक रुटबाटै दर्ता हुन सक्छन्। उनीहरुले उद्योग विभाग धाइराख्नु पर्दैन। 

कर्मचारीले डकुमेन्ट हेरेर स्वीकृत हुने प्रणालीमा धेरै उद्योग छन्। म्यानुअल रुटबाट २४ अर्ब २१ करोड रुपैयाँ प्रतिबद्धता आएको छ। 
माघ महिनामा मात्र १ अर्ब ६ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।  

गत आर्थिक वर्षको यही अवधिमा २२ अर्ब ६८ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो। आर्थिक वर्ष ०७९/०८० मा १८ अर्ब ६३ करोड रुपैयाँको प्रतिबद्धता आएको थियो।

चालू अवधिमा ३२ वटा कम्पनीले सेयर खरिद तथा बिक्रीको अनुमति पाएका छन्। जसबाट १ अर्ब ९४ करोड रुपैयाँ रकम प्रतिबद्धता भएको छ।

उद्योग विभागअन्तर्गत वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाका प्रमुख प्रशान्त बोहराले अघिल्ला वर्षको तुलनामा वैदेशिक लगानी प्रतिबद्धता बढेको बताए। 

‘सूचना प्रविधिसम्बन्धी कम्पनीमा वैदेशिक लगानी भित्रिने क्रम बढिरहेको देखिन्छ’, निर्देशक बोहराले भने, ‘विगतका वर्षको तुलनामा राम्रो सुधार हो।’

व्यावसायिक भिसामा नेपाल आउने बढे
आर्थिक वर्ष २०८०/०८१ मा १६५६ जना व्यावसायिक भिसामा नेपाल आएका थिए। अहिले बढेर २२ सय ६७ पुगेका छन्।

कम्पनीको प्रतिनिधिको रुपमा गत वर्ष १६८ जना रहे पनि माघमा २३२ जना भित्रिए। डिपेन्डेन्ट भिसामा गत वर्ष ४८८ जना भित्रिएकोमा अहिले ५८२ जना भित्रिएका छन्। आर्थिक वर्ष २०७९/०८० मा ९४६ विदेशी लगानीकर्ता भित्रिएका थिए।

कुल ३८६ उद्योग दर्ता भएकोमा साना ३७५, मझौला ७ र ठूला ४ उद्योग दर्ता भएका छन्। गत वर्ष २४१ उद्योग दर्ता भएकोमा २२६ साना, १२ मझौला र ठूला ३ उद्योग दर्ता भएका थिए। आर्थिक वर्ष ०७९/८० मा १४४ उद्योगले लगानी स्वीकृति पाएका थिए।

चालू आर्थिक वर्षमा उत्पादनमूलक उद्योगमा २७ वटा आएका छन्। जसमा २ अर्ब १२ करोड रुपैयाँ प्रतिबद्धता छ। ऊर्जामा एउटा कम्पनीले लगानीको प्रस्ताव गरेको छ। जसमा २५ करोड लगानी गर्ने प्रतिबद्धता जनाएको छ।

पर्यटनमूलक उद्योगका लागि १६८ कम्पनी दर्ता भएका छन्। जसमा १७ अर्ब ३२ करोड रुपैयाँ प्रतिबद्धता आएको छ। सेवामूलक ४८ विदेशी लगानीका उद्योग दर्ता भएका छन्। उनीहरुले ५ अर्ब ६९ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।

पूर्वाधारमा २ कम्पनी आएका छन्। उनीहरुले १२ करोड नेपालमा लगानी गर्ने उल्लेख गरेका छन्। सूचना प्रविधिमूलक उद्योग १३४ आएका छन्। उनीहरुले ८० करोड रुपैयाँ नेपालमा लगानी गर्ने स्वीकृति पाएका छन्।

साउन महिनामा उच्च रहेको प्रतिबद्धता माघ महिनामा भने केही खुम्चिएको छ। 

‘हरेक वर्ष नै जनवरी र फेब्रुअरी महिनामा वैदेशिक लगानी कम नै आउने गरेको छ’, बोहराले भने, ‘नयाँ वर्षमा धेरै घुम्न निस्किने हुँदा लगानीको लागि कम आउने गरेको देखिन्छ।’

उद्योग विभागले चालू आर्थिक वर्षमा ४४ अर्ब वैदेशिक लगानी प्रतिबद्धता ल्याउने लक्ष्य राखेको छ। ७ महिनाको तथ्यांकअनुसार लक्ष्य पूरा हुने देखिएको विभागले जनाएको छ। 

विभागले वर्षभरमा ५५ ठूला उद्योग, ५० मझौला उद्योग र २०० साना उद्योग दर्ता गर्ने लक्ष्य राखेको थियो। त्यसमध्ये साना उद्योग ६ महिनामै लक्ष्यभन्दा बढी दर्ता भइसकेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad