कारोबार


ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको ऊर्जा विकासबारे छलफल

ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको ऊर्जा विकासबारे छलफल

नेपालखबर
माघ ३०, २०८१ बुधबार १६:१६, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ। 

‘इन्डिया इनर्जी विक–२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका मन्त्री खड्काले आज भारतका समकक्षी खट्टरसँग भेटवार्ता गरेका हुन्। भेटमा नेपाल भारतबीचको ऊर्जा विकासका विविध विषयमा छलफल भएको थियो। 

ऊर्जामन्त्री खड्काले गत नोवेम्बर ५ मा नयाँदिल्लीमा भारतका विद्युतमन्त्री खट्टरसँग भएको भेटमा इनरुवा–पूर्णिया र दोदोधारा–बरेली ४०० केभी अन्तर्देशीय प्रसारणलाइन निर्माण प्रारुपमा सहमति गरेसँगै उक्त प्रसारणलाइन अगाडि बढाउन माघ ९ गते दुई देशबीचको सहसचिवस्तरीय बैठक र माघ २९ गते सचिवस्तरीय बैठक बसेर मोडालिटीबारे सहमति भएकोमा भारतीय विद्युतमन्त्रीलाई धन्यवाद दिएका थिए। 

ऊर्जामन्त्री खड्काले गत वर्षको नोबेम्बर १५ मा नेपालबाट भारतीय प्रसारण लाईन हुँदै बङ्गलादेश विद्युत निर्यात गर्न भारतले गरेको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिए। मन्त्री खड्काले नेपालले सुख्खायामको पिक आवर (बेलुका ६ बजेदेखि १० बजेसम्म) मा भारतीय पावर एक्सचेञ्जको विद्युत उपलब्ध हुन नसकेको भन्दै २४ सै घण्टा विद्युत उपलब्धताको स्वीकृत दिन माग गरे। 

हाल भारतले नेपाललाई एक हजार मेगावाट विद्युत उपलब्ध गराउँदै आए पनि पिक आवरमा भने उपलब्ध गराएको छैन। ऊर्जामन्त्री खड्काले नेपालको आफ्नै लगानीमा निर्माण भएको तामाकोशी जलविद्युत आयोजनाको विद्युत निर्यातका लागि स्वीकृत गर्न ध्यानाकर्षण गराएको मन्त्रालयले जनाएको छ। 

ऊर्जामन्त्री खड्काले यसअघिको भारत भ्रमणका क्रममा भारतीय विद्युतमन्त्री खट्टरलाई नेपाल भ्रमणका लागि निम्तो दिए पनि आजको भेटमा फ्रेबुवरी अन्तिम साता नेपाल भ्रमण हुने गरी छलफल भएको बताइएको छ। 

भेटमा भारतका विद्युतमन्त्री खट्टरले नेपालको ऊर्जा क्षेत्रको विकासमा सँधै भारतको साथ र सहयोग रहेको बताएका थिए। उनले दुई देशबीचको विद्युत विकासलाई आपसी छलफल र सहकार्यमार्फत अगाडि बढाउने बताएका थिए।

भारतका विद्युतमन्त्री खट्टरले भारतीय कम्पनीले नेपालमा बनाइरहेका आयोजनाको आवश्यक सहजीकरण गर्न आग्रह गरेका थिए। 

भेटमा मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, मन्त्रालयका सहसचिव सन्दिपकुमार देव, मन्त्रीका आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायत सहभागी थिए। 

यस्तै, भारतीय तर्फबाट विद्युतमन्त्री खट्टरसँगै विद्युत सचिव पङ्कज अग्रवाल र भारतको विद्युत संस्था एनएचपीसीका अध्यक्ष आरके चौधरीको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad