ad ad

कारोबार


कोरोना परीक्षण किट ल्याउन पहल गर्दै चौधरी ग्रुप

कोरोना परीक्षण किट ल्याउन पहल गर्दै चौधरी ग्रुप

नेपालखबर
चैत ९, २०७६ आइतबार १३:५७,

मुलुकका एक मात्र डलर अर्बपति विनोद चौधरीको चौधरी फाउन्डेसनले चीन र भारतबाट कोरोना परीक्षण किट तथा अन्य स्वास्थ्य सामग्री ल्याउन पहल गरिरहेको जनाएको छ।

विश्वका धनाढ्यहरुले कोरोना भाइरसको महामारीका बेला सहयोगको हात बढाइरहँदा चौधरी ग्रपले पनि नेपालीहरुलाई सघाउन पहल थालेको हो।

तर,  ढुवानी प्रणाली सहज नभएकाले परीक्षण किट आइपुग्न समय लाग्ने चौधरी ग्रुपले जानकारी दिएको छ।

नेपाली नागरिकलाई संक्रमणबाट सुरक्षित राख्न के गर्न सकिन्छ भन्नेमा आफूहरुको ध्यान केन्द्रित भएको फाउन्डेसनको भनाइ छ।

‘हामीले मुलुकभर छरिएका हजारौं कर्मचारीको सुरक्षा प्रबन्ध मिलाउँदै नियमित जाँच र परीक्षण गरिरहेका छौं,’ चौधरी ग्रुपले भनेको छ, ‘हाम्रा कर्मचारीको सुरक्षा व्यवस्थाका लागि हाम्रो विशेषज्ञ टोलीले निकै सचेतताका साथ काम गरिरहेको छ।’

‘सरकार र अन्य साझेदारहरूसँग बलियो एवं प्रभावकारी काम गर्न हाम्रा पहल सुरू भइसकेका छ,’ उसले थपेको छ।

व्यवसायी वसन्त चौधरीले पनि ५० लाख रुपैयाँ सहयोग गर्न आफू तयार रहेको बताएका छन्। उनले ट्विटरमार्फत दक्षिण एसियाली देशहरुका लागि तयार गरिएको सार्क आपतकालीन कोषमा सहयोग दिने बताएका हुन्।

‘सार्क आपतकालीन कोषमा सदस्य राष्ट्रबाहेक सर्वसाधारणले पनि आर्थिक सहयोग गर्न मिल्ने हो कि हैन? आधा करोड सहयोग गर्न तयार छु,’ उनले लेखेका छन्।

चेम्बर अफ कमर्सले सरकारसँग माग्यो सहुलियत
यसैबीच नेपाल चेम्बर अफ कमर्सले भने कोरोना भाइरसले व्यवसायमा संकट निम्त्याएको भन्दै सरकारले विभिन्न सहुलियत दिनुपर्ने माग राखेको छ।

अल्पकालीन र दीर्घकालीन प्याकेजको व्यवस्था गर्नुपर्ने, सीमावर्ती भन्सारमा आएका तथा आउने माल वस्तुको डेमरेज, डिटेन्सन चार्जमा पूर्णतः छुट हुनुपर्ने, भुक्तानी भएको कारोबारमा मात्र मूल्य अभिवृद्धि कर लिने व्यवस्था हुनुपर्ने, बैंकहरुले ऋणको भुक्तानीको अवधि रिसेड्युल गर्नु पर्ने, बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको व्याजदरमा कम्तीमा ५ प्रतिशत सरकारी अनुदान, २ प्रतिशत बैंकबाट सहुलियतको व्यवस्था हुनु पर्ने चेम्बरको माग छ।

साथै, पर्यटन तथा होटल व्यवसायको लागि विशेष सुविधासहितको प्याकेज ल्याउन समेत आग्रह गरेको छ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले व्यवसायी आर्थिक संकटमा परेकाले सरकारले पहिला प्याकेजको घोषणा गर्नु पर्ने बताए। ‘व्यवसायी यो संकटको अवस्थामा राष्ट्र तथा जनतालाई सहयोग गर्न तयार छन्, विभिन्न प्याकेज पनि घोषणा गर्न चाहन्छन्,’ मल्होत्राले भने, ‘सरकारले पनि व्यवसायीको समस्या समाधान गर्ने घोषणा गर्नुपर्छ।’

निजी क्षेत्रको अग्रणी दूरसञ्चार कम्पनी एनसेलले पनि कोरोना भाइरसको प्रकोपको आपतकालीन अवस्थामा आफ्ना उपभोक्तालाई राहत प्याकेज दिने बताएको छ। उसले उक्त प्याकेज तयार हुन लागेकाले केही दिनभित्र आउने जनाएको छ।

यसअघि सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकमले आम नागरिकलई जनचेतना फैलाउनेगरी जानकारीमूलक सन्देश तयार गरेको छ। ‘रिङ ब्याक टोन’ मार्फत टेलिकमले कारोना भाइरस के हो? यसका लक्षण, कसरी बच्ने लगायतका विषयमा जानकारी मूलक सन्देश दिइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .