कारोबार


निर्यात र कर्जा प्रवाहमा आशा, अन्यको अवस्था उस्तै : कस्ता छन् अर्थतन्त्रका सूचक?

निर्यात र कर्जा प्रवाहमा आशा, अन्यको अवस्था उस्तै : कस्ता छन् अर्थतन्त्रका सूचक?

नेपालखबर
माघ २०, २०८१ आइतबार १८:८, काठमाडौँ

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा आइपुग्दा अर्थतन्त्रका केही सूचक आशलाग्दा देखिएका छन्। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय विवरणमा गत वर्षको तुलनामा चालू आवमा आयातनिर्यात, रेमिट्यान्स, सरकारको खर्च तथा कर्जा प्रवाहको स्थिति सुधारोन्मुख देखिएको हो। 

बढ्यो महँगी 
यो अवधिमा वार्षिक विन्दुगत महँगी बढेको छ। 

वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशतमा रहेको हो। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत थियो। 

यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१९ प्रतिशत छ।

अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५.७५ प्रतिशत र ४.९३ प्रतिशत थियो।

यस्तै वार्षिक विन्दुगत थोक मुद्रास्फीति पनि ४.०१ प्रतिशतमा रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.३६ प्रतिशत रहेको थियो। समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः ६.९२ प्रतिशत, २.५५ प्रतिशत र ३.१४ प्रतिशत रहेको छ।

समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.२८ प्रतिशतले घटेको छ।

समग्रमा गत वर्षको तुलनामा चालु आवको दोस्रो त्रैमासमा उपभोक्ताले बढ्दो महंगीको सामना गर्नुपरेको हो। 

आशा लाग्दो निर्यात, आयात पनि बढ्यो
आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा कुल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भई ९८ अर्ब ७९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.२ प्रतिशतले कमी आएको थियो। 

गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ४६.१ प्रतिशत, १९.७ प्रतिशत र १.० प्रतिशतले वृद्धि भएको छ।

वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, अलैंची लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जडीबुटीलगायतका वस्तुको निर्यात घटेको छ। 

यस्तै यो अवधिमा कुल वस्तु आयात ७.१ प्रतिशतले वृद्धि भई रु.८२२ अर्ब ३७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.१ प्रतिशतले कमी आएको थियो। 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.९ प्रतिशत, ८.९ प्रतिशत र ९.० प्रतिशतले वृद्धि भएको छ। 

वस्तुगत आधारमा कच्चा भटमास तेल, चामल/धान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, स्पन्ज आइरन, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, सुन, रासायनिक मल, केराउ लगायतका वस्तुको आयात घटेको छ।

रेमिट्यान्स ७ खर्ब माथि, २३ खर्बमाथिको विदेशी विनियम सञ्चिति
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भई ७ खर्ब ६३ अर्ब ८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो। 

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ८ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड थियो। 

यस्तै विदेशी विनिमय सञ्चिति पनि बढेको छ। २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भई २०८१ पुस मसान्तमा रु.२३ खर्ब १६ अर्ब ८४ करोड पुगेको हो।

आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ। 

सरकारको खर्च
महालेखा नियन्त्रकको कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को छ महिनामा नेपाल सरकारको कुल खर्च ६ खर्ब ६७ अर्ब ६० करोड छ। 

समीक्षा अवधिमा चालु खर्च ४ खर्ब ५२ अर्ब, पँुजीगत खर्च ५६ अर्ब ९४ करोड र वित्तीय व्यवस्था खर्च १ खर्ब ५८ अर्ब ६६ करोड छ।

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ५ खर्ब ५९ अर्ब ६१ करोड पुगेको छ। यसअन्तर्गत कर राजस्व ४ खर्ब ८९ अर्ब ४० करोड र गैरकर राजस्व ७० अर्ब २१ करोड रुपैयाँ परिचालन भएको छ। 

बढ्न थाल्यो कर्जा प्रवाह 
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरुबाट जाने कर्जा प्रवाह बढेको छ। पुस मसान्तसम्म बैंकहरुबाट प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको हो। 

समीक्षा अवधिमा समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ६५ अर्ब ५६ करोडले बढेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९२ अर्ब ६४ करोड (४.० प्रतिशत) ले बढेको थियो।  

वार्षिक विन्दुगत आधारमा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.० प्रतिशतले बढेको छ। २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.८ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत रहेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad