करिब २ महिनापछि नेप्से २७ सय अंकमाथि उक्लिँदा लघुवित्त कम्पनीमा पोजिटिभ सर्किटको बाढी देखिएको छ।
मंसिर २७ गते २७३० अंकमा पुगेर ओर्लिएको नेप्से आइतबार पुनः त्यही अंकमा पुग्दा लघुवित्त कम्पनीहरुमा सर्किटको बाढी देखिएको हो।
यो दिन नेप्से सूचक ६९.८० अंकले बढेर २७२७.५८ अंकमा बन्द भएको छ। मंसिर २७ गतेयता २७ सय माथि सूचक पुग्नसकेको थिएन। आइतबार भने सोही विन्दुनजिकै नेप्से पुगेको हो।
दोस्रो बजारमा कारोबार सुरु भएसँगै लगानीकर्ताले खरिद चाप बढाउँदा सुरुवातबाटै नेप्से सूचक उचालिएको थियो। दिनभरजसो निरन्तर उचालिएको सूचक अन्तिम समयमा भने ६९ अंकको वृद्धिसहित बन्द भएको हो।
सूचकसँगै आइतबार कारोबार रकमले पनि ६ महिनायताकै रेकर्ड तोडेको हो। भदौ १८ गते नेप्से २८५८ मा पुग्दा लगानीकर्ताले १३ अर्ब ५७ करोडको कारोबार गरेका थिए भने त्यसको भोलिपल्ट भदौ १९ गते लगानीकर्ताले १२ अर्ब ९२ करोडको कारोबार गरेका थिए।
त्यसयताका ६ महिनासम्म लगानीकर्ताले सोअनुसार कारोबार गरेका थिएनन्। आइतबार भने लगानीकर्ताले कुल १२ अर्ब ९५ करोड रुपैयाँको सेयर कारोबार गरेका हुन्।
६ महिनादेखि निरन्तर कारोबार खुम्च्याएर बसिरहेका लगानीकर्ताले आइतबार एकैपटक लगानीलाई बढाएका हुन्। धमाधम खरिद चाप बढाउँदा आजको बजारमा नेप्से सूचकसँगै कारोबार रकम पनि उचालिएको हो। आज नेप्से तीन महिनापछि २७ सयको विन्दुमा पुगेको छ भने कारोबार रकम ६ महिनायताकै धेरै करिब १३ अर्बमा पुगेको छ।
लामो समय साइडवेजमा चलिरहेको बजारमा लगानीकर्ताले बजारमा पर्ख र हेरको अवस्थाामा थिए भने कतिपयले सर्टटर्म कारोबार (छोटो समयका लागि गरिने कारोबार) गर्दै आएका थिए। यसले गर्दा सूचक र कारोबार दुवै अपेक्षित रुपमा अगाडि बढ्नसकेको थिएन।
आइतबार सो ट्रेन्डलाई भत्काउँदै नेप्सेसँगै कारोबार रकम पनि बढेको हो।
लघुवित्तमा सर्किटको बाढी, अन्यको कति?
आजको कारोबारबाट लघुवित्तका कम्पनीहरुमा सर्किटको बाढी आएको छ। आज एकै दिन ७ वटा लघुवित्त कम्पनीहरको मूल्यमा सकारात्मक सर्किट लागेको छ।
सर्किट लाग्नेमा उन्नति सहकारी लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, ग्रामीण विकास लघुवित्त र भूगोल इनर्जी विकास कम्पनी रहेका छन्। यी कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको हो।
योबाहेक आज सर्वाधिक कमाउनेमा एनएमबी माइक्रोफाइनान्स, समता घरेलु लघुवित्त, ङादी हाइड्रो पनि अगाडि देखिएका छन्। यी कम्पनीहरुको पनि आज सर्किट लेभलमै मूल्य बढेको हो।
समग्रमा माइक्रोफाइनान्स कम्पनीहरुको मूल्य धेरैले बढेको छ भने बैंकिङ लगायतका कम्पनीहरुको मूल्य पनि बढेको छ। जसले गर्दा आज कारोबारमा आएका ३३० कम्पनीमध्ये २०२ कम्पनीको मूल्य बढेको हो। बाँकी ३७ कम्पनीको मूल्य घट्दा ३ वटा कम्पनीको मूल्यमा भने आज उतारचढाव देखिएन।
बजार सूचक र कारोबार दुवै उच्च अंकले बढ्दा पनि सामुदायिक लघुवित्तको मूल्यमा भने नकारात्मक सर्किट लागेको छ भने केबीएल डिबेन्चर र सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्यमा पनि सर्किट लेबलमै घट्न पुगेको छ।
एनआरएनमा उर्लिए लगानीकर्ता
६ महिनायताकै उच्च कारोबार गरेका लगानीकर्ता आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीमा उर्लिएका छन्। यो कम्पनीको आज एकै दिन लगानीकर्ताले ४१ करोडको कारोबार गरेका हुन्।
यस्तै लगानीकर्ताले सप्तकोशी डेभलपमेन्ट बैंक सिन्धु विकास बैंकको पनि सर्वाधिक कारोबार गरेका हुन्।
Shares

प्रतिक्रिया