ad ad

कारोबार


मध्यराति सिंगापुर फर्किन नमानेपछि सिल्क एयरका ८५ यात्रुलाई काठमाडौंमै ओरालियो

मध्यराति सिंगापुर फर्किन नमानेपछि सिल्क एयरका ८५ यात्रुलाई काठमाडौंमै ओरालियो

नेपालखबर
चैत ९, २०७६ आइतबार ३:१४,

सिंगापुरबाट काठमाडौं अवतरण गरेको सिल्क एयरको विमानका यात्रुलाई झण्डै ३ घण्टापछि ओरालिएको छ।

शनिबार राति ८ः४० मा आएको विमानका यात्रुलाई मध्यराति १२ बजे मात्रै ओरालिएको हो ।

तेल भर्न मात्रै भनेर आपतकालीन अवतरण मागेको विमानले फर्किने तयारी गरेपछि यात्रुले नाराबाजी गरेका थिए। विमानभित्रै चर्को नाराबाजी सुरु भएपछि विमानस्थल प्रशासनले यात्रु ओराल्ने निर्णय गरेको हो।

प्रतिबन्धित देशका यात्रु सोही विमानमा सवार रहेको जानकारी नागरिक उड्डयन प्राधिकरणमा आएपछि प्राधिकरणले विमान फिर्ता पठाउन भनेको थियो।

तर विमानले तेल भरेर फर्किन भन्दै आपतकालीन अवतरण माग्यो। त्यसपछि त्रिभुवन विमानस्थल कार्यालयले सिल्क एयरलाई अवतरणको अनुमति दिएको थियो।

अवतरणको अनुमति पाए पनि यात्रु ओराल्न भने दिइएको थिएन । तेल भरेर फर्किने र प्रतिबन्धित देशका नागरिकलाई छाडेर बाँकी यात्रुलाई आइतबार फेरि ल्याउने विमानमा जानकारी गराइएको थियो।

त्यसपछि यात्रुले होहल्ला गरेका थिए। विमानभित्रै यात्रुले होहल्ला गरेपछि विमानस्थलले त्यहाँ रहेका यात्रु पहिचान गर्न थाल्यो। प्रतिबन्धित देशबाट आएका यात्रु नेपाली नै रहेको पाइएपछि ओराल्ने निर्णयमा पुगेको हो।

विमानमा रहेका ८५ यात्रुमध्ये ३ जना प्रतिबन्धित देशबाट फर्किएको पाइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले नेपालखबरलाई बताए।

उनका अनुसार जापानबाट फर्किएका दुई जना र नेदरल्यान्डबाट फर्किएका एक नेपालीका कारण समस्या भएको हो।

‘तर पछि आफ्नै देशका नागरिकलाई फिर्ता पठाउन हुन्न भनेर यात्रु ओराल्ने निर्णय गरेका हौं,’ आचार्यले भने।

उनीहरू तीन जनालाई राति नै खरिपाटी क्वारेन्टाइनमा पठाइएको छ। अन्य ८२ यात्रुलाई भने सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको अध्यागमन कार्यालयले जनाएको छ।

नेपालले गत शुक्रबारदेखि कोरोना प्रभावित देशबाट आउन प्रतिबन्ध लगाएको थियो। आइतबारदेखि भने सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .