बिमा सरेन्डरको संख्या बढेपनि बिमकको व्यावसायमा भने कमी आएको छैन। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा बिमकको व्यावसाय बढेको देखिएको हो।
अर्थतन्त्र चलायमान बन्न नसक्दा बिमाको प्रिमियम समेत तिर्न नसक्नेहरू बढ्न थालेपछि बिमा त्याग गर्नेको संख्यामा तिव्र बृद्धि देखिएपनि त्यसको असर बिमा व्यावसायमा भने नदेखिएको हो।
नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको ६ महिनाको तथ्यांकमा बिमकको व्यावसाय गत वर्षको तुलनामा९.३३ प्रतिशतले बढेको छ।
प्राधिकरणका अनुसार पुस मसान्तसम्म १४ वटा जीवन बिमा र तीन लघुबिमाले कुल ८१ अर्ब १७ करोड रुपैयाँ बापतको बिमाशुल्क आर्जन गरेका छन्।
गत आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीहरूले बिमितबाट कुल ७४ करोड २४ लाख रुपैयाँ शुल्क संकलन गरेकामा चालु आवमा यस्तो आम्दानी ९.३३ प्रतिशतले बढाएका हुन्।
बिमा कम्पनीहरूको प्रमुख आयको रुपमा रहेको बिमालेख बिक्री, नविकरण र सो बापतको शुल्क नै होे।
यो अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनी बाहेकका सबै कम्पनीहरूले बिमाशुल्क आम्दानी बढाएका हुन्।
राष्ट्रिय जीवन बीमा कम्पनीले भने गत वर्षको पुसको तुलनामा चालु आवको पुसमा १ अर्ब ९८ करोड रुपैयाँले कम शुल्क आर्जन गरेको छ।
गत वर्षको पुस मसान्तसम्म यो कम्पनीले कुल ४ अर्ब ७५ करोड रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको थियो। चालु आवको सोही अवधिमा भने कम्पनीले २ अर्ब ७७ करोड रुपैयाँमात्रै शुल्क संकलन गरेको छ।
गत वर्ष भन्दा यो वर्ष राष्ट्रिय जीवन बिमा कम्पनीको शुल्कबापतको आम्दानीमा ४१. ६८ प्रतिशतले कमी देखिएको हो।
यो बाहेक चालु आवको ६ महिनामा १३ वटा जीवन बिमा कम्पनी र ३ वटा लघुबिमा कम्पनीको व्यसायमा उल्लेख्य सुधार देखिएको छ।
जसमा रिलायबल लाइफ र सिटिजन्स लाइफको बिमाशुल्क २३ प्रतिशत भन्दा धेरैले बढ्दा प्रभु माइलक्ष्मीको १९.०८ प्रतिशत, शूर्यज्योतिको १८.२५, आइएमई लाइफको १५.७२ प्रतिशत, सानिमाको १३.३९ प्रतिशत, एशियन लाइफको १३.१३ प्रतिशत, नेपाल लाइफको १२.१५ प्रतिशत,नेशनल लाइफको १२ प्रतिशत, सन नेपाल लाइफको १२.५२ प्रतिशत, लाइफ इन्स्योरेन्सको ९.६६ प्रतिशत, मेट लाइफको ६.७७ प्रतिशत र हिमालयन लाइफको २.९३ प्रतिशतले बिमाशुल्क संकलन बढेको हो।
जीवन बिमाकम्पनी मध्ये राष्ट्रिय जीवन बिमा कम्पनीको मात्रै बिमाशुल्क ४१.६८ प्रतिशतले घटेको छ।
व्यावसायमा उचालिए लघुबिमा
यो अवधिमा लघुबीमाको बिमाशुल्क आर्जनमा भने अप्रत्यासित वृद्धि देखिएको छ। गत आवको पुस मसान्तसम्म ६६ लाख रुपैयाँमात्रै बिमाशुल्क आर्जन गरेको गार्डियन माइक्रो लाइफले चालु आवको सोही अवधिमा २० करोड २० लाख शुल्क आर्जन गरेको छ। यो गत वर्षको तुलनामा चालु आवमा २ हजार ९ सय ४५ प्रतिशतले बढी हो।
यस्तै गत आवको पुससम्म १ करोड ५७ लाख शुल्क आर्जन गरेको क्रेष्ट माइक्रो लाइफले पनि चालु आवमा १८ करोड ६४ लाख रुपैयाँ शुल्क आर्जन गरेको छ। लिबर्टी इनर्जी माइक्रोले पनि गत वर्ष पुससम्म २८ लाख रुपैयाँ बिमाशुल्क सकलन गरेकोमा चालु आवको सोही अवधिमा १२ करोड ४४ लाख रुपैयाँ शुल्क संकलन गरेको हो।
चालु आव शुरु भएसँगै बिमा बिचैमा छोड्नेको संख्या बढ्दा कम्पनीहरूमा बिमा सरेन्डर निरन्तर बढ्दै आएको छ। पुस मसान्तसम्म ७ अर्ब ४६ करोड रुपैयाँ बराबरका बिमालेख सरेन्डर भएको छ। गत वर्ष सोही अवधिमा १ अर्ब ८ करोडको मात्रै बिमालेख सरेन्डर भएका थिए।
गतवर्ष पुसकोे तुलनामा चालु वर्षको पुससम्म बिमा सरेन्डर ५९०.७४ प्रतिशतले बढेको हो। बिमालेख सरेन्डर उच्चदरमा बढ्दा पनि बिमा व्यावसायमा भने खास्सै प्रभाव पारेको देखिँदैन।
Shares

प्रतिक्रिया