कारोबार


सरकारसँगको मिलेमतोमा सिमेन्टको मूल्य वृद्धि भयो : सांसद श्रेष्ठ

सरकारसँगको मिलेमतोमा सिमेन्टको मूल्य वृद्धि भयो : सांसद श्रेष्ठ

नेपालखबर
माघ ८, २०८१ मंगलबार १८:४, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले सरकारको समेत मिलेमतोमा सिमेन्ट उद्योगीहरूले सिमेन्टमा दोब्बर मूल्य बढाएको आरोप लगाएका छन्।

मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले यस्तो बताएका हुन्। उनले ट्रंक लाइन र डेडिकेटेड लाइनको विद्युत महशुल बुझाउनको लागि सरकारसँगको मिलेमतोमा बोरामा दोब्बर मूल्य वृद्धि गरेर उपभोक्तालाई मारमा उद्योगीहरुले पारेको बताए।

उनले सिमेन्ट उद्योगीहरुले काट्रेलिङ गरेर ४५० रुपैयाँ बोरा रहेको सिमेन्ट अहिले ८५० सम्म पुर्‍याएको उल्लेख गरे। उनले सिमेन्टको मूल्य नियन्त्रणको लागि समितिले आवश्यक निर्देशन दिन आवश्यक रहेको बताए।

उनले भने, ‘सिमेन्ट उद्योगीहरुले काट्रेलिङ गरेर ४५० रुपैयाँ बोरा रहेको सिमेन्ट अहिले ८५० सम्म पुर्‍याएको छ। यो विषयमा समितिले आवश्यक निर्देशन गर्नुपर्छ। सिमेन्टमा ब्रह्मलुट भएकाले बैठकले निर्देशन गर्नुपर्छ। विद्युतको रकम बुझाउनको लागि सरकारको समेत मिलेमतोमा सिमेन्ट व्यवसायीहरुले मूल्यवृद्धि गरेका छन्। सिमेन्ट व्यवसायीहरुले उपभोक्ताहरुलाई मार पर्नेगरी दोब्बर मूल्य वृद्धि गरेका छन्। अब डण्डीको पनि १५ रुपैयाँसम्म बढाउन थालेका छन्।’

नेपाली कांग्रेसका सांसद रमेश रिजालले सामाजिक सञ्जालमा विज्ञापन गरेको आधारमा व्यापार गर्न पाउने गरी विद्युत व्यापार विधेयक ल्याउन नहुने बताए।

उनले विद्युत विधेयकमा अनलाइन व्यापार गर्नको लागि व्यवसायीले अनलाइन पोटल दर्ता गरेको हुनुपर्ने बताए। उनले अरुले दर्ता गरेको फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा राखेर अनलाइन व्यापार गर्न नपाउने व्यवस्था गर्न आवश्यक रहेको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले विद्युत व्यापार विधेयक साना तथा मझौला व्यवसायीहरुलाई जोगाउने गरी ल्याउनुपर्नेमा जोड दिए। उनले साना र मझौला व्यवसायीहरुलाई जोगाउन सकिन भने सिन्डिकेट कायम रहने बताए।

उनले सिमेन्टको मूल्य वृद्धि नियन्त्रणको लागि तत्काल समितिले निर्देशन दिनुपर्ने बताए। उनले उद्योगी व्यवसायीहरुले उपभोक्ताहरुलाई ठगी गर्ने काम गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad