कारोबार


विदेशमा लगानी खुला भएपछि सूचना प्रविधि क्षेत्र उत्साहित

विदेशमा लगानी खुला भएपछि सूचना प्रविधि क्षेत्र उत्साहित

नेपालखबर
पुस २८, २०८१ आइतबार १७:२५, काठमाडौँ

नेपालमा आईटी कम्पनीले विदेशमा कार्यालय स्थापना गर्न पाउने निर्णयलाई एतिहासिक भनेका छन्।

सरकारले नेपाली सूचना प्रविधि (आईटी) कम्पनीहरूले विदेशमा लगानी गर्न पाउने कानुनी प्रावधानका लागि अध्यादेश मार्फत कानुन संशोधन गर्ने निर्णय गरेपछि सूचना प्रविधि क्षेत्र उत्साहित बनेको हो।  

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले एतिहासिक निर्णय भनेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले केही नेपाल ऐन संशोधन सम्बन्धी अध्यादेश स्वीकृत गरी नेपाली आईटी कम्पनीहरूले विदेशमा लगानी गर्न, शाखा खोल्न, कारोबार गर्न र त्यहाँको आम्दानी नेपाल भित्र्याउन पाउने कानुनी व्यवस्था गरेको छ।

यस व्यवस्थाले नेपाली आईटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने र वैदेशिक मुद्रा आर्जनमा वृद्धि गर्ने विश्वास व्यक्त गरेको छ।

क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले सूचना प्रविधि क्षेत्रमा ठूलो सुधार ल्याउने बताउँदै यसले नेपाली आईटी उद्योगलाई नयाँ दिशामा लैजान मार्गप्रशस्त गर्ने दाबी गरिन्।

उनले क्यान महासंघले लामो समय देखि यस्तो कानुनी सुधारको माग गर्दै आएको स्मरण गराउँदै नीतिगत सुधारसँगै यस क्षेत्रमा देखिएका समस्या र समाधानका लागि स्पष्ट कार्यक्रम ल्याउनुपर्ने बताइन्।

‘नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ,’ उनले भनिन्,‘नेपालबाट विदेशमा आईटी कम्पनी विस्तार गर्ने देखि विदेशबाट नेपालमा गुणस्तरीय आईटी परियोजना ल्याउने वातावरण बनाउन अपरिहार्य छ।’

क्यानमा पूर्व अध्यक्ष विनोद ढकालले विदेशमा लगानी गर्ने व्यवस्था समग्र सूचना प्रविधि क्षेत्रकोलागि उपयुक्त भएपनि नेपालका कम्पनीको क्षमता कम नै रहेको बताए।

‘अहिले नेपालमा थुप्रै आउटस्रोसको काम गर्ने कम्पनी दर्ता विना नै चलिरहेका छन्,’ पूर्वअध्यक्ष ढकालले भने,‘अब विदेशमा साहायक कम्पनी वा शाखा खोल्न पाउने व्यवस्थाले दर्ता भएरै चल्न आशा गर्न सकिन्छ।’

उनले विदेशमा लगानीको खुल्ला भएपनि विदेशी आईटी कम्पनीसँग प्रतिस्पर्धा गर्ने क्षमता कम रहेको छ।

‘अहिले विदेशमै लगानीगरी व्यपार विस्तार गर्न सक्ने ठूला कम्पनी खासै देखिँदैनन्,’ उनले भने,‘तर अब विदेशमा पनि लगानी गर्न पाइने आशामा आफ्नो जनशक्तिलाई प्रतिस्पर्धी र डकुमेन्टेशनमा सुधार हुने ठाउँ छ।’

त्यसैगरी, सरकारले स्टार्टअप कम्पनीहरूलाई ४० प्रतिशतसम्म स्वेट सेयर जारी गर्न सकिने व्यवस्था गर्ने गरी कानुन संशोधन गरेकोमा पनि क्यान महासंघले प्रशंसा गरेको छ ।

क्यान महासंघका महासचिव चन्द्र विलास भूर्तेलले यो निर्णयले नेपाललाई ज्ञानमा आधारित अर्थतन्त्रतर्फ उन्मुख गराउने र सूचना प्रविधि क्षेत्रमा बजार विस्तार गर्न सहायक हुने बताए।

महासचिव भुर्तेलले सूचना प्रविधि क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुलेको बताएका छन्। उनले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिने बताए।

राष्ट्र बैंकको तथ्यांक अनुसार सूचना प्रविधी सम्बन्धी सेवा बेचेर नेपालले ८ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको छ। जसमा सबैभन्दा बढी कम्प्युटर सफ्टवेयरबाट ६ अर्ब ३२ करोड भित्रिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad