डिजिटल सुरक्षा भन्नाले विशेषतः अनलाइन वातावरणमा हुने हानिलाई रोक्ने र न्यूनीकरण गर्ने बुझिन्छ। यसमा अवैध वा हानिकारक सामग्रीको पहिचान, जिम्मेवार अनलाइन प्लाटफर्म डिजाइन र प्रवर्द्धन र प्रयोगकर्तालाई उनीहरूको डिजिटल अनुभव सहज तथा अनुकूल हुने वातावरण कसरी सशक्त बनाउने, आदि पनि पर्दछन्।
अनलाइन माध्यममा उपलब्ध जानकारीलाई पर्याप्त रूपमा सुरक्षित गर्न असफल भएमा यसले सामजिक सञ्जाल मात्र नभएर उक्त माध्यमको विश्वास घटाउन तथा मानवीय सम्बन्धलाई पनि क्षति पुर्याउँछ। त्यसैले संवेदनशील डेटा (तथ्यांक) को सुरक्षा गर्न, लगानीकर्ता र साझेदारको विश्वास कायम राख्न र साइबर घटनाहरूसँग सम्बन्धित वित्तीय र प्रतिष्ठाको क्षतिको जोखिमलाई कम गर्न पनि बलियो डिजिटल सुरक्षा प्रणाली आवश्यक पर्दछ।
सुरक्षाबारे सचेत हुनसक्दा जटिल डिजिटल वातावरणलाई जिम्मेवारीपूर्वक सम्हाल्न, सीप र ज्ञानले सुसज्जित हुन सहयोगी हुन्छ। त्यसैले अरुले चोर्न नसक्ने बलियो पासवर्ड प्रयोग गर्नेदेखि, ‘फिसिङ स्क्याम’हरू पहिचान गर्ने र बेवास्ता गर्ने, अनि सामाजिक सञ्जालहरूमा गोपनीयताका प्रावधानहरूबारे सचेत हुन पनि आवश्यक छ।
हालैका वर्षहरूमा सामाजिक सञ्जालको बाढी आएको कारण पनि हरेक प्रयोगकर्ताले आफनो तथ्यांक तथा निजी स्वतन्त्रताको सुरक्षा गर्न असहज हुँदै गएको छ। त्यसैले पनि डिजिटल सुरक्षामा यथेष्ट ध्यान पुर्याउनु आवश्यक भएको हो।
डिजिटल सुरक्षा अपनाउन यस सम्बन्धी शिक्षा, प्रोत्साहन, प्रवर्तन र मूल्यांकनजस्ता केही विधिहरूको सहयोग लिन सकिन्छ। यसका साथै, कार्यस्थल र समुदायमा प्रयोगकर्ताले विशेष सुरक्षा उपायहरू अपनाउनु र आफना आनीबानी सुधार गर्नु पनि त्यत्तिकै जरुरी छ।
त्यसैले, डिजिटल शिक्षाले सुरक्षा अभ्यास सिक्ने तथा चेतना जगाउने काम गर्दछ भने सुरक्षा अभ्यासलाई प्रोत्साहन गर्दा आफ्नो मात्र नभएर आफ्ना साथीभाइ तथा परिवारको पनि डिजिटल सुरक्षा सुनिश्चित गर्दछ।
यसका साथै सुरक्षा अभ्यासको प्रवर्तन तथा बेलाबेलामा मूल्यांकन गर्नाले विभिन्न समयमा हुनसक्ने वा आइपर्ने डिजिटल समस्या तथा असुरक्षाको खतरालाई पूर्वआकलन गरी सचेत रहन सकिन्छ।
एकातिर प्रयोगकर्ता आफैँ सचेत हुन आवश्यक छ भने अर्कोतिर सामाजिक सञ्जालहरू आफैँले पनि डिजिटल सुरक्षाका विविध उपायहरू अपनाउने तथा बेलाबेलामा प्रयोगकर्तालाई त्यसबारेमा सुसूचित गर्ने, डिजिटल सुरक्षाका उपायहरू प्रवर्द्धन गर्ने, सुरक्षा उपायहरू अपनाउन प्रोत्साहन गर्ने तथा बेला बेलामा सुरक्षाका उपायहरूको मुल्यांकन गर्दै स्तरोन्नति गर्दै जानु आवश्यक छ।
यसैक्रममा गत मंसिरमा सामाजिक सञ्जाल टिकटकले नेपालमा डिजिटल सुरक्षाको बारेमा चेतना जगाउन सेफ्टी एम्बासडर कार्यक्रम आयोजना पनि गरेको थियो।
विश्वव्यापी रूपमा १ अर्ब मासिक सक्रिय प्रयोगकर्ताहरू रहेको टिकटकले आफ्ना प्रयोगकर्ताहरूलाई सशक्त बनाउन तथा सुरक्षाका उपायहरूका बारेमा सचेतना प्रवर्तन तथा प्रवर्द्धन गर्न आवश्यक पनि छ। अन्यथा प्रविधिको होडबाजीमा असुरक्षा बढ्दै जाँदा यसले प्रयोगकर्ताहरूलाई लाभभन्दा पनि हानि हुने सम्भावना बढ्छ।
अझ त्यसमाथि टिकटकजस्तो एउटा मनोरञ्जन डिजिटल प्लाटफर्मका लागि बजारमा आफ्नो उपस्थिति बलियो बनाइराख्न तथा प्रयोगकर्ताहरूलाई सुरक्षित राख्न पनि उनीहरूमाथि लगानी गर्न आवश्यक छ। जसअन्तर्गत डिजिटल शिक्षा, प्रोत्साहन, प्रवर्तन र मूल्यांकनजस्ता विधिहरूमा टिकटकले संस्थागतरूपमा नै नियमित सचेत रहने र लगानी गरिरहनु आवश्यक हुन्छ।
किनकि नयाँ र विविधतायुक्त समुदायको लागि प्रशंसित टिकटक लोकप्रिय हुनुको एउटा कारण प्रयोगकर्ता र प्लाटफर्म दुवैको सुरक्षामा यसको विशेष ध्यान पनि हो।
यसको लागि टिकटकले सञ्चारमाध्यमहरूको साथ र सहयोगमा जनचेतनामूलक कार्यक्रमहरूमा लगानी गर्नु र डिजिटल सुरक्षाको लागि निरन्तर ध्यान दिनु आवश्यक मात्र होइन अनिवार्य पनि छ।
पछिल्लो समयमा टिकटकले नेपालमा ह्यासट्याग सेफर टुगेदर अभियान पनि चलाउँदै आएको छ। जुन एउटा सकारात्मक कदम हो। चर्चित कन्टेन्ट क्रियटरहरू तथा प्रयोगकर्ताहरूलाई डिजिटल सुरक्षामा सचेत बनाउन गरिएको लगानीले बजारमा टिकटकको आफ्नै ब्रान्डलाई अब्बल कायम राख्न मद्दत गर्दछ।
यस्ता सचेतनामूलक कार्यक्रमले इन्टरनेटको जिम्मेवार प्रयोग र सुरक्षित सामग्री निर्माणको वकालत गर्दै गलत सूचना, उत्पीडन, साइबर बुलिङ, अनलाइन ठगीलगायतका डिजिटल सुरक्षाका विभिन्न पक्षहरूबारे स्पष्ट पार्दछ।
वास्तवमा आकर्षक कन्टेन्ट सिर्जना गरेर राम्रो कन्टेन्ट क्रियटर बन्नु मात्र सफलता होइन। किनकि कन्टेन्ट निर्माणमा रहेका विभिन्न चुनौतीहरू बाहेक पनि डिजिटल सुरक्षाको प्रश्न उत्तिकै महत्त्वपूर्ण रहन्छ। यदि डिजिटल सुरक्षाको बारेमा अनभिज्ञ रहने हो भने आकर्षक कन्टेन्टले मात्रै समाजिक सञ्जालबाट फाइदा लिन सकिन्न। उल्टो विभिन्न समस्यामा पर्ने खतरा हुन्छ।
प्रयोगकर्ता आफैँ व्यक्तिगतरूपमा डिजिटल सुरक्षामा सचेत हुनु एउटा पक्ष भए पनि टिकटकजस्ता सामाजिक सञ्जाल आफैँले पनि सुरक्षित प्लाटफर्म निर्माण गर्ने संस्थागत प्रयासस्वरूप उपलब्ध विभिन्न इन–एप सुरक्षा सुविधाहरूको फाइदा कसरी लिन सक्छन् भन्ने बारे नियमित जागरूकता सिर्जना गर्नु समयको माग हो।
टिकटकले बारम्बार प्रयोगकर्ताहरूको सुरक्षा आफ्नो शीर्ष प्राथमिकतामा रहेको बताउँदै आएको छ। प्लाटफर्मले सेफ्टी सेन्टर भनिने सुरक्षा अपडेटहरूका लागि केन्द्रीकृत स्थान प्रदान गरेर प्लाटफर्ममा सुरक्षा र यसलाई निरन्तर बढावा दिन आफूले लागू गर्ने सबै कार्यसम्बन्धी नवीनतम जानकारीहरू प्रदान गर्ने दाबी पनि गरेको छ।
यस्तै, टिकटकको सुरक्षा केन्द्रले नयाँ प्रयोगकर्ता सुरक्षा गाइड, अभिभावकहरूका लागि गाइड, सुरक्षा सुनिश्चित गर्न के गर्ने भन्ने बारेका स्रोतहरू र पूर्ण गोपनीयता गाइडसहित सुरक्षा सुविधा र उपायहरूबारे सबै टुल्स (विधि) र सुझावहरू पनि समावेश गरेको बताउँदै आएको छ। यसबाहेक, सेफ्टी सेन्टरलाई अनुकूल राख्न यसका प्रयोगकर्ताहरूका लागि तयार दिशानिर्देशहरू नियमित रूपमा टिकटकले अद्यावधिक गरिरहेको पनि जनाएको छ। जसका कारण पछिल्ला दिनमा टिकटकका प्रयोगकर्ता बढेको अनुमान लगाउन सकिन्छ।
टिकटकसँग अनुपयुक्त सामग्री र व्यवहारलाई मध्यस्थता गर्न सामुदायिक दिशानिर्देशहरूको बलियो विधि रहेको तथा सामुदायिक दिशानिर्देशनहरू उल्लंघन गर्ने कुनै पनि सामग्री वा अन्य प्रयोगकर्ताहरू विरुद्ध हिंसालाई उक्साउने हानिकारक सामग्रीको लागि शून्य सहनशीलताका साथ आफ्ना प्रयोगकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने दाबी पनि गरेको छ।
यसरी नेपालमा डिजिटल सुरक्षाको लागि टिकटकको प्रतिबद्धतालाई एउटा मानक मान्ने हो भने अन्य सामाजिक सञ्जालहरूले पनि डिजिटल सुरक्षामा लगानी गर्न आवश्यक छ। यसले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको अनलाइन र अफलाइन सुरक्षा थप सुदृढ गर्न मद्दत गर्दछ। किनकि यस्ता अभियानले प्रयोगकर्ताहरूलाई सुरक्षा, गलत सूचना र प्रामाणिक सामग्रीको शक्तिको बारेमा सचेत बनाउनुका साथै जिम्मेवार नागरिक बन्न पनि अभिप्रेरित गर्दछ।
त्यसैले, टिकटकजस्ता सामाजिक सञ्जालले नियमितरूपमा अनलाइन सुरक्षा र डिजिटल साक्षरता प्रवर्द्धन गर्न आवश्यक छ। यसका लागि विशेषत सञ्चारमाध्यम अनि सरकारी अधिकारी, शिक्षाविद्, डिजिटल अधिकार विज्ञ, बालबालिकाको सुरक्षा सम्बन्धी अधिवक्ताहरू तथा उद्योगी व्यवसायीलगायत सबै सरोकारवालाहरूलाई समावेश गराएर सुरक्षित तथा प्रविभिमैत्री समाज बनाउन सकिन्छ।
नेपालमा सुरक्षित डिजिटल वातावरण निर्माण गर्न समाजका विभिन्न तह तथा तप्कासँगको सहकार्य आवश्यक छ। र, यस्ता नियमित कार्यक्रमले सम्भावित डिजिटल जोखिमको अनुगमन, प्रयोगकर्ताहरूको सुरक्षाजस्ता विषयमा पनि सचेत रहिरहन मद्दत गर्दछ।
अझ बालबालिकालाई अनलाइन सुरक्षा प्रदान गर्नु र डिजिटल रूपमा जिम्मेवार समाजको प्रवर्द्धन गर्नु एउटा पक्षको मात्र दायित्व होइन। यसमा समाजका सबै जिम्मेवार निकाय तथा टिकटकजस्ता समाजिक सञ्जालको सहकार्य आजको आवश्यकता हो। यस्ता अर्थपूर्ण सहकार्यले नेपालमा डिजिटल सुरक्षाको सचेतना अभिवृद्धि गर्ने आधार मात्र सिर्जना गर्दैन, टिकटकजस्ता छोटो आकारको मोबाइल भिडिओका माध्यमबाट रचनात्मकतालाई प्रेरित गर्दा डिजिटल नेपाल बनाउन पनि मद्दत गर्दछ।
Shares

प्रतिक्रिया