चीनले विश्वकै विशाल जलविद्युत् बाँधको निर्माण गर्दै छ। यसलाई चीन सरकारले स्वीकृत गरिसकेको छ।
प्रस्तावित बाँध तिब्बतकै सबैभन्दा लामो यार्लुङ साङपो नदीमा निर्माण गरिनेछ। यो परियोजना सफल हुँदा हाल विश्वकै ठूलो जलविद्युत् आयोजना जुन चीनमै छ, त्यसको पनि तीन गुणा बढी बिजुली उत्पादन हुनेछ।
चीनले पर्यावरणीय रक्षालाई प्राथमिकतामा राखेर सुरक्षित परियोजनाको रुपमा यसको निर्माण गरिने जनाएको छ। सन् २०२० को अन्तिमतिर नै पहिलोपटक घोषणा भएको यो परियोजना तिब्बतमा बनाउनलागेको छ। यस क्षेत्रमा चीनले धेरै बाँधहरु बनाइसकेको छ।
यो परियोजनामा कम्तीमा २० किमि लामा चारवटा सुरुङ बन्नेछन्। जुन नाम्चा बारवा पर्वतभित्र रहनेछन्। यो परियोजनाको लागत बढीमा १ खर्ब २७ अर्ब अमेरिकी डलर पुग्नसक्ने चोंगी वाटर रिसोर्स ब्युरोको आकलन छ।
पछिल्लो समय चीन पूर्वाधार निर्माणमा आक्रामक रुपमा प्रस्तुत भइरहेको छ। यार्लुङ साङपो नदीमा निर्माण गरिने विश्वकै विशाल बाँध यसको पछिल्लो उदाहरण हो।
चामत्कारिक पूर्वाधार : जो बनिसके

पानीमुनिको सुरुङमार्ग
ताइहु सुरुङ चीनकै लामो पानीमुनिको सुरुङ राजमार्ग हो। यसले शांघाई र नान्जिङलाई जोडेको छ।
४ वर्षको निर्माणपछि २०२२ मा यसको सञ्चालन सुरु गरिएको थियो। १०.७९ किमि लामो यो राजमार्ग चीनको पूर्वी प्रान्त जियाङसुमा छ।
ताइहु तालमुनि यसको निर्माण गरिएको छ। जियांग्सु सरकारका अधिकारीहरुका अनुसार यसको लागत १.५६ अर्ब अमेरिकी डलर थियो।
सन् २०१८ मा यसको निर्माण सुरु गरिएको थियो।

अग्लो डज ब्रिज
चीनको गुइझोउ र युनान प्रान्तको सीमामा बनाइएको डज ब्रिजलाई बेइपान्जियाङ ब्रिजका रुपमा पनि चिनिन्छ।
यो पुल निझु नदीको माथि डज सहरनजिकै बनेको छ। सन् २०११ मा निर्माण सुरु भएको यो पुल २०१६ को सेप्टेम्बरमा पूरा भएको थियो भने सोही वर्ष डिसेम्बरमा सार्वजनिक रुपमा खुल्ला गरिएको थियो।
यसको निर्माण गर्न चीनले १.०२३ अर्ब चिनियाँ युआन खर्च भएको थियो। सन् २०१८ मा गिनिज वर्ल्ड रेकर्ड्सले यसलाई संसारकै अग्लो पुलको प्रमाणपत्र दिएको थियो।
यो पुलको कुल लम्बाइ १ हजार ३४० मिटर, उचाइ २६९ मिटर छ। यसमा ७२० मिटर लामो स्प्यान छ।

उच्चगतियुक्त ‘उड्ने रेल’
चीनको अत्युच्च गतियुक्त लो भ्याकुम ट्युब म्यागलेभ यातायात प्रणाली अर्थात् उच्चगतियुक्त उड्ने रेल परियोजना समेत निर्माणसम्पन्न भइसकेको छ।
यसको प्रतिघण्टा गति नै अधिकतम १ हजार किमि छ। यसको परीक्षण पनि सम्पन्न भइसकेको छ।
गत अगस्टमा भएको परीक्षणले यो प्रणालीको परिपक्वता पुष्टि भएको ग्लोबल टाइम्सले जनाएको छ। ठूला ठूला सहरलाई जोड्न यो प्रणाली उपयुक्त हुने देखिएको छ। चीनले पछिल्लो समय उच्च गतिका रेल प्रणालीको विकास गरिरहेको छ।
सन् २०१३ मा अमेरिकी खर्बपति इलोन मस्कले यसको अवधारणा सार्वजनिक गरेका थिए। तर चीनले परीक्षण नै गरेपछि कतिपय मिडियाले चीनले मस्कको सपना चोरेको भनी ठट्यौली रुपमा समाचारहरु प्रकाशित गरेका थिए।
लो भ्याकुम ट्युब र म्याग्नेटिक लेभिटेसन सिस्टमयुक्त प्रविधि भएकाले यो उच्च गतिमा कुद्न सक्छ। यसलाई संसारकै क्रान्तिकारी प्रविधि मानिएको छ। चीनले यसको परीक्षण शान्सी प्रान्तको डाटोङमा गरेको थियो।

सांघाई वर्ल्ड फाइनान्सियल सेन्टर
चीनले सांघाईको पुदोङमा बहुउद्देश्यीय भवन सांघाई वर्ल्ड फाइनान्सियल सेन्टर निर्माणसम्पन्न गरिसकेको छ।
२८ वर्षअघि निर्माण सुरु गरिएको यो भवन १७ वर्षअघि सन् २००८ मा निर्माणसम्पन्न भएको थियो। कुल लागत १.२० अर्ब अमेरिकी डलर रहेको यो भवनको स्वामित्व सांघाई वर्ल्ड फाइनान्सियल सेन्टर कम्पनी लिमिटेडसँग छ।
यसभित्र कार्यालयहरु, होटल, संग्रहालय, अवलोकन गर्ने ठाउँ, पार्किङ गराजलगायत छन्।
मोरी बिल्डिङ कम्पनीले विकास गरेको यो भवनको आर्किटेक्चर डिजाइन कोहन पिडर्सन फक्सले गरेको हो।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्प र सांघाई कन्स्ट्रक्सन (ग्रुप) जनरल को.ले यसको मुख्य ठेक्का लिएका थिए।
यसको शिलान्यास सन् १९९७ अगस्ट २७ मा गरिएको थियो।

थ्रि गर्जेज ड्याम
चीनको हुबेई प्रान्तमा रहेको यिचाङ सहरको पश्चिमा बग्ने यांग्सी नदीमाथि यो ड्याम बनेको छ। सन् १९९४ मा आधिकारिक रुपमा यसको निर्माण सुरु भएको थियो। जुन त्यतिबेला चीनकै ठूलो इन्जिनियरिङ परियोजना थियो।
सन् २००६ मा यसको निर्माण पूरा हुँदा थ्रि गर्जेज ड्याम संसारकै ठूलो बनेको थियो। सन् २०१२ मा यो पूर्ण विद्युत् उत्पादन क्षमतायुक्त बनेको थियो। यसको पूर्ण क्षमता २२ हजार ५ सय मेगावाट छ।
यो ड्याम १८५ मिटर अग्लो र २ हजार ३ सय ३५ मिटर लामो छ। यसको कुल लागत ३१.७६ अर्ब अमेरिकी डलर रहेको छ। यो ड्याम निर्माणले ३ करोड १० लाख मानिसलाई विस्थापित गरेको थियो।

बनिरहेका छन् थप ५ मेगा परियोजना
पछिल्लो समय चीनले पाँच ठूला पूर्वाधार निर्माण गरिरहेको छ। तिनमा ४ हजार ८ सय मेगावाट क्षमताको शिदाउवान आणविक भट्टी विस्तार एक हो।
यो परियोजना शान्दोङको वेइहाइस्थित रङचेङमा बन्दै छ। काम सुरु भइसकेको यो परियोजना २०३२ को चौथो त्रैमासिकतिर पूरा हुने अनुमान छ।
यसबाहेक झेजियाङको झाउसानस्थित डाइसान काउन्टीमा झाउसिन हाइएन्ड न्यु मटेरियल प्लान्ट पनि बन्दै छ। २०२९ सम्म निर्माण सकिने अनुमान गरिएको यो परियोजना केमिकल प्रशोधन र एकीकरण परियोजना हो। यसले त्यस क्षेत्रका तेल र इन्धनको बढ्दो माग पूरा गर्ने अपेक्षा गरिएको छ।
त्यस्तै चीनले वुवेई टु शाओचिङ ८०० केभी यूएचभी डीसी प्रसारणलाइन बनाउँदै छ। सन् २०२८ सम्म पूरा हुने अनुमान गरिएको यो आयोजना २ हजार ३ सय ७० किमि प्रसारणलाइन बन्नेछ। जुन वुवेईबाट शाओचिङसम्म बन्नेछ। अर्को गान्सु–झेजियाङ अल्ट्रा हाई भोल्टेज फ्लेक्जिबल डाइरेक्ट करेन्ट ट्रान्समिसन लाइन पनि निर्माण भइरहेको छ।
यसबाहेक चीनले डालियन हाइड्रोजन बेस्ड इनर्जी सेन्टर पनि बनाउँदै छ। यस वर्ष निर्माण सुरु भएको यो परियोजना २०२७ सम्म बनिसक्ने बताइएको छ।

पूर्वाधार लगानीमा अग्रणी चीन
चीनले २१औँ शताब्दीको सुरुवातदेखि नै पूर्वाधारमा व्यापक लगानी गर्न सुरु गरेको साइन्सडाइरेक्टमा प्रकाशित एक अध्ययनले देखाएको छ। सोही समयमा अन्य देशहरुभन्दा चीन पूर्वाधार लगानीमा अग्रणी देखिएको थियो।
सन् २००१ मा चीन सरकारले दशौँ पञ्चवर्षीय योजनालाई ग्रहण गर्दै पूर्वाधारवृद्धिमा ध्यानकेन्द्रित गरेको थियो।
चीनको पूर्वाधार लगानी कुल गार्हस्थ्य उत्पादनको अंशमा सन् २००२ मा ८ प्रतिशतजति रहेकामा तेब्बरले बढेर सन् २०१६ मा झण्डै २४ प्रतिशतले वृद्धि भएको अध्ययनहरुले देखाएका छन्।
पूर्वाधारमा भएको लगानी वृद्धिसँगै यो अवधिमा चीनले औसत ९.६ प्रतिशत वृद्धिदर हासिल गर्न सफल भएको थियो।
स्टाटिस्टाको सन् २०२१ को एक तथ्यांकअनुसार देशभित्रको यातायात पूर्वाधारमा हुने लगानीमा चीन ४.८ प्रतिशतसहित विश्वमा पहिलो स्थानमा थियो। देशको जीडीपीको अंशमा सो वर्ष चीनको औसत पूर्वाधार लगानी संयुक्त राज्य अमेरिकाको भन्दा १० गुणा धेरै थियो।
ग्लोबल डेटाका अनुसार सन् २०२४ मा चीनको निर्माण बजार ४.४ प्रतिशतले बढ्ने अनुमान छ। अघिल्लो वर्ष पनि यस्तो दर ४.४ प्रतिशत नै थियो। चीनमा मुख्य वृद्धि भइरहेको बजार नै पूर्वाधार हो। जुन १८ प्रतिशतले बढ्दै छ।
Shares

प्रतिक्रिया