विगत चार दिनसम्म लगातार घटेको सुनको मूल्यमा आज उल्लेख्य वृद्धि भएको छ। चाँदीको मूल्य भने आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज सुनको मूल्य प्रतितोला एक हजार चारसय रुपैयाँ बढेर एक लाख ५१ हजार रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य एक लाख ४९ हजार ६ सय रुपैयाँ थियो।
गएको बिहीबार प्रतितोला ६ सय, शुक्रबार चारसय र आइतबार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य हिजो (मंगलबार) पनि ६ सय रुपैयाँ घटेको थियो।
आज चाँदीको मूल्य भने एक हजार सातसय ६५ रुपैयाँमै स्थिर छ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।
Shares

प्रतिक्रिया