उपत्यका सडक विस्तार आयोजनाले जोरपाटी–साँखु सडकअन्तर्गत मूलपानी र थली क्षेत्रमा सडक मिचेर बनाएका घर तथा अन्य भौतिक संरचना भत्काएको छ।
आयोजनाले मूलपानी र थलीमा गरी ८ वटा घरसहित सडकका विस्तारका लागि अवरोध संरचना बुधबार हटाएको हो।
नेपाल प्रहरीको सहयोगमा सडक विस्तार आयोजनाले मुआब्जा लिएका तर भौतिक संरचना हटाउन नमानेका घरमा डोजर चलाएको बताएको छ।
‘भौतिक संरचना हटाउँछौं भनेर सरकारसँग मुआब्जा लिइसकेका घर भत्काउन सुरु गरेका हौँ’, आयोजना प्रमुख गुरु अधिकारीले नेपालखबरसँग भने, ‘पैसा लिने तर हटाउन नमान्नेहरुका संरचना भत्काउँछौं।’

उक्त सडकखण्ड वर्षौंदेखि मुआब्जा विवादको कारण विस्तार हुनसकेको छैन। कोही घरधनीहरु सर्वोच्च अदालतमा गएर अन्तरिम आदेश लिएका छन् भने केही सर्वोच्चले मुआब्जा वितरण गरेपछि मात्रै संरचना हटाउनु भनेको छ।
‘दुई तिहाइको सरकार भनेर हाम्रो घर भत्काउँदै हिँड्न पाइन्छ’, एक स्थानीय आक्रोश पोख्दै भने, ‘भारतले सीमा मिच्दा केही गर्न नसक्ने, हाम्रो घर भत्काउँदै हिँड्ने?’
मुआब्जा लिएर केहीले भने आफैँ भत्काउन सुरु गरेका उपत्यका विकास प्राधिकरणका इन्जिनियर खेमराज जोशीले बताए। उनले भने, ‘मुआब्जा लिने ७ जनाका ८ घर तथा टहरा भत्काएका छौँ।’
आयोजनाले सडकमा संरचना खडा गरी विस्तारमा अवरोध गर्ने ‘छाप्रे पसल’ तथा ठेला हटाएको छ। ६ महिनादेखि नै संरचना हटाउन सूचना पठाएको आयोजनाको दाबी छ।

केही स्थानीयले आफ्नो संरचना आफैँ हटाउने बताएपछि केही संरचनामा आंशिक हटाउँदै आयोजनाले छिटो खाली गर्न भनेको छ। इन्जिनियर जोशीले अदालतबाट अन्तरिम आदेश पाएका र मुआब्जा वितरण बाँकीलाई भने अहिले केही पनि नगर्ने बताए।
भिडियाे ः
आयोजनाले सडक विस्तारलाई तीव्र बनाउन काम सुरु गरेको बताएको छ। भौतिक पूर्वाधार मन्त्रालय वसन्त कुमार नेम्वाङले सम्हालेपछि काठमाडौंका सडक मुख्य सडकको मुहार फेरिँदै गएको स्थानीयले बताएका छन्।
मन्त्री नेम्वाङले असार मसान्तसम्म उपत्यकाको ८५ किमि कालोपत्रे भइसक्ने दाबी गरेका छन्।

तस्बिर भिडियाेः प्रविन काेइराला

प्रतिक्रिया