नेपाल वायुसेवा निगमको जहाज खरिद भ्रष्टाचारमा विदेशी कम्पनी पनि जोडिएको छ।
अमेरिकाको इलिनोइस राज्यस्थित वुड डेलमा मुख्यालय रहेको एएआर कर्प नेपाली जहाज खरिद भ्रष्टाचारमा जोडिएको हो।
यससम्बन्धमा अनुसन्धान गरिरहेका अमेरिकी जस्टिस डिर्पाटमेन्ट र धितोपत्र विनिमय आयोगसँग यो मुद्दा सुल्झाउन उक्त कम्पनीले ५ करोड ५० लाख अमेरिकी डलर तिर्ने भएको हो।
ती दुई निकायले कम्पनीबाट विदेशमा भ्रष्टाचार भएको सम्बन्धमा अनुसन्धान गरेका थिए। अमेरिकी जस्टिस डिपार्टमेन्टको सार्वजनिक मामिला कार्यालयले विज्ञप्तिमार्फत जनाएअनुसार एएआरका पूर्वसब्सिडरी कार्यकारीले नेपाल स्किममा आफ्नो भूमिका स्वीकारेका थिए।
दोष स्वीकारेसँगै एएआरले अमेरिकी विभागसँग १८ महिनासम्म गैरअभियोगसम्बन्धी सम्झौता समेत गरेको छ। उक्त भ्रष्टाचार सन् २०१५ देखि २०२० को बीचमा भएको विभागले जनाएको छ। एएआरले नेपाली सरकारी अधिकारीलाई घूस दिएर नेपाल एयरलाइन्ससँगको व्यवसाय हत्याउन भूमिका खेलेको थियो।
एएआरले ‘थर्डपार्टी’सँग मिलेर दक्षिण अफ्रिकामा पनि भ्रष्टाचार गरेको अनुसन्धानका क्रममा भेटिएको हो।
एएआरको यो भ्रष्टाचारजन्य कार्यबाट कम्पनीले २ करोड ४० लाख अमेरिकी डलर नाफा आर्जन गर्न सफल भएको थियो।
‘एएआरले नेपाल र दक्षिण अफ्रिकामा राज्यस्वामित्वका एयरलाइनसँगको व्यवसाय प्राप्त गर्न उच्चपदस्थ सरकारी अधिकारीलाई घूस खुवाएर २ करोड ४० लाख अमेरिकी डलर अवैध नाफा आर्जन गरेको भेटियो’, जस्टिस डिपार्टमेन्टका अपराध विभागका काउन्सिलर ब्रेन्ड विबलले भनेका छन्।
उनले यस्ता कार्यमा संलग्न कम्पनी र व्यक्तिलाई जिम्मेवार ठहर गर्न विभाग सदैव तयार रहेको समेत उल्लेख गरेका छन्।
नेपाल वायुसेवा निगमले खरिद गरेका जहाजमा भ्रष्टाचार भएको भन्दै लामो समय राजनीतिक वृत्त तातेको थियो। हाल सोही भ्रष्टाचारमा संलग्न निगमका तत्कालीन महाप्रबन्धकसहितलाई विशेष अदालतले जरिवाना तथा सजायको फैसला गरिसकेको छ।
थप समाचार
Shares

प्रतिक्रिया