११ महिनादेखि रोकिएको प्राथामिक सेयर (आईपीओ) निष्काशन यही हप्ताबाट अगाडि बढ्ने भएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोष नारायण श्रेष्ठले अध्यक्षको जिम्मेवारी पाएको १२ दिनपछि आईपीओ निष्काशनलाई अगाडि बढाउन लागेका हुन्।
बोर्डले यो सातादेखि अवरुद्ध आईपीओ निष्काशनको प्रक्रिया अगाडि बढाउने उपकार्यकारी निर्देशक दिपा दाहालले बताइन्।
‘यो साताबाट हामी रोकिएका आईपीओ निष्काशनकोे प्रक्रिया अगाडि बढाउँदै छौँ’, उनले नेपालखबरसँग भनिन्।
अध्यक्ष श्रेष्ठको निर्णय कुरिरहेका ८१ कम्पनीहरू सेयर निष्काशनको पर्खाइमा छन्।
झण्डै एक वर्षदेखि ७८ कम्पनीको ४९ अर्ब ४८ करोड ३० लाख रुपैयाँबराबरको आईपीओ पाइपलाइनमा छन्।
यो अवधिमा उनले एभरेष्ट बैंक, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, भगवती हाइड्रो, गुराँस लघुवित्त, अरुण भ्याली हाइड्रो र स्वावलम्बन लघुवित्तको बोनस सेयर सूचीकरणको निर्णय गरेका छन्।
अहिले बोर्डको आन्तरिक कर्मचारी व्यवस्थापनमा लागेका अध्यक्ष श्रेष्ठ यो साताबाट भने आईपीओ निष्काशनको प्रक्रिया सुरु गर्ने तयारीमा छन्।

बोर्डमा विभागीय हेरफर, को कहाँ?
त्यसो त अध्यक्षको जिम्मेवारी लिएसँगै अध्यक्ष श्रेष्ठले एक वर्षयता रोकिएका बोर्डका आन्तरिक कामहरूमा केन्द्रित हुने बताएका थिए।
उनले सो क्रममा पहिलो कामको रुपमा वरीयताका आधारमा अगाडि रहेकै कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेका छन्।
यसअनुसार बोर्डमा माथिल्लो तहमा रहेका कर्मचारीहरूको जिम्मेवारी हेरफेर भएको छ। कार्यकारी निर्देशकहरू डा. नवराज अधिकारी, विनय श्रेष्ठ, कृष्णराज पोखरेलको जिम्मेवारी श्रेष्ठले हेरफेर गरेका हुन्। अध्यक्षमा आफ्नै प्रत्याशी रहेका कार्यकारी निर्देशक डा.नवराज अधिकारीको जिम्मेवारी हेरफेर गरे पनि अर्का प्रत्याशी कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठलाई चलाएका छैनन्।
अध्यक्ष श्रेष्ठले अधिकारीलाई व्यवस्थापन तथा कानुन विभागबाट हटाएर नीति अनुसन्धान तथा तालिम विभागमा सरुवा गरेका छन्।
व्यवस्थापन तथा कानुन विभागको जिम्मेवारी भने कार्यकारी निर्देशक विनय देव आचार्यलाई दिएका छन्। आचार्य यसअघि सुपरिवेक्षण विभागमा थिए।
त्यस्तै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठलाई भने अध्यक्ष श्रेष्ठले पुरानै विभागमा यथावत राखेका छन्। नियमन विभाग सम्हालिरहेका श्रेष्ठलाई सोही जिम्मेवारीमा निरन्तरता दिएका हुन्।
अर्का कार्यकारी निर्देशक कृष्णराज पोखरेललाई पनि नीति तथा अनुसन्धान तथा तालिम विभागबाट सुपरिवेक्षण विभागमा सरुवा गरेका छन्।
यस्तै उनले प्रवक्ताको जिम्मेवारी पनि कार्यकारी उपकार्यकारी निर्देशक निरन्जन घिमिरेलाई दिएका हुन । यसअघि प्रवक्ताको जिम्मेवारीमा कार्यकारी निर्देशक डा. अधिकारी थिए भने अध्यक्ष श्रेष्ठले उक्ता जिम्मेवारी उपकार्यकारी निर्देशक घिमिरेलाई दिएका हुन्।
कर्मचारीको जिम्मेवारी हेरफेरसहित उनले बोर्डको आन्तरिक व्यवस्थापनको काम सकेर अब प्राथमिक सेयर निष्काशनको काम अगाडि बढाउन लागेका हुन्।
आन्तरिक व्यवस्थापनमा कर्मचारीको जिम्मेवारी हेरफेरसँगै अध्यक्ष श्रेष्ठले बोर्डका चारवटै विभागको प्रगति विवरण तथा योजनाबारे विभागीय प्रमुखहरूबाट प्रस्तुतीकरण लिइसकेका छन्।
Shares

प्रतिक्रिया