कारोबार


४०० केभी क्षमताको बाह्रबिसे सबस्टेसन निर्माण धमाधम

४०० केभी क्षमताको बाह्रबिसे सबस्टेसन निर्माण धमाधम

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १२:२२, काठमाडौँ

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ४०० किलोभोल्ट (केभी)को सबस्टेसन निर्माण धमाधम भइरहेको छ।

तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र देशभित्रको प्रणालीलाई सदृढ बनाउन ४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण सुरु गरिएको हो। 

सोही स्थानमा २२०/१३२ केभी र १३२/११ केभी सबस्टेसन निर्माण सम्पन्न गरी उपकरणहरुको परीक्षण सम्पन्न भइसकेको छ। 

ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित ४०० केभी बाह्रबिसे सबस्टेसनका सम्पूर्ण उपकरणहरु निर्माण स्थलमा आपूर्ति भइसकेका छन्। पावर ट्रान्सफर्मरहरु राख्ने सिभिल संरचनाहरुको निर्माण सम्पन्न गरी जडान भइरहेको छ। 

नियन्त्रण कक्ष, जीआईएसका उपकरणहरु रहने भवनको सिभिल संरचना निर्माणाधीन छन्। सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएपछि उपकरणहरुको जडान सुरु हुनेछ। सबस्टेसनको समग्र निर्माण प्रगति ७० प्रतिशतको हाराहारीमा छ। सबस्टेसन निर्माण आगामी जेठभित्र सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ। 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार सबस्टेसन निर्माणस्थलको   अनुगमन गरी तोकिएको समयभन्दा अघि नै सम्पूर्ण काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई आग्रह गरे। 

कार्यकारी निर्देशक घिसिङले भने, ‘४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भएपछि बलेफी तथा भोटेकोशी नदी करिडोरमा निर्माण भएका जलविद्युत आयोजनाहरुको विद्युत यही सबस्टेसनमा जोडी बाह्रबिसे–खिम्ती ४०० केभी प्रसारणलाइनमार्फत ढल्केबरतर्फ पठाउन सकिन्छ, हिउँदयामका खिम्तीतर्फबाट काठमाडौं उपत्यकामा थप विद्युत् ल्याउन सकिन्छ भने वर्षायाममा ढल्केबरतर्फ थप विद्युत् पठाएर भारततर्फ निर्यात गर्न सकिन्छ,त्यसैले सबस्टेसन निर्माणलाई उच्च प्राथमिकतामा राखी बाँकी रहेका काम द्रुत गतिमा अगाडि बढाऔं।’ 

खिम्ती, बाह्रबिसे र लप्सीफेदी ४०० केभी सबस्टेसन आयोजनाअन्तर्गत तीनवटा सबस्टेसन निर्माणाधीन छन्। तामाकोशी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४३ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ। 

वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको समस्या, स्थानीयको अवरोधलगायतका समस्या झेल्दै आएको खिम्ती–बाह्रबिसे–काठमाडौ प्रसारण लाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको कार्यकारी निर्देशक घिसिङले बताए। 

खिम्ती–बाह्रबिसे प्रसारण लाइनमा पर्ने ११८ वटा टावरहरुमध्ये ११७ वटा जग हालिएको छ। ११५ वटा टावर खडा गरिएको छ। ३६ किलोमिटर तार तानिएको छ। बाँकी १ वटा टावर निर्माणाधीन छ। खिम्ती–बाह्रबिसे खण्ड आगामी माघभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। 

त्यस्तै, बाह्रबिसेबाट काठमाडौँको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन पनि निर्माणाधीन छ। ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १२२ वटा टावरमध्ये ११८वटाको जग हालिएको छ। ११७ वटा टावर खडा गरिएको छ। ४२ किलोमिटर तार तानिएको छ। बाँकी टावरको काम भइरहेको छ। 

खिम्ती–बाह्रबिसे–काठमाडौं हुँदै प्रवाह भएको विद्युत्लाई काठमाडौं उपत्यककामा छिराउन लप्सीफेदी–चाँगुनारायण १३२ केभी प्रसारण लाइन अगाडि बढाइएको छ। स्थानीयको अवरोधका कारण निर्माण प्रभावित छ। 

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले निर्माण गर्ने ४०० केभीको प्रसारण लाइन निर्माण सम्पन्न भएपछि लप्सीफेदीबाट विद्युत्लाई नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) भुमहीस्थित नयाँ बुटवल सबस्टेसनतर्फ प्रवाह गराउन सकिनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad