कारोबार


सेयरबजार हाँक्ने यी १० कम्पनी

दोस्रो बजारको पहिलो ठूलो कम्पनी बन्यो विशाल बजार
सेयरबजार हाँक्ने यी १० कम्पनी

नेपालखबर
मंसिर १५, २०८१ शनिबार १६:१९, काठमाडौँ

नेपालको धितोपत्र बजारमा पुँजीकरणका आधारमा विशाल बजार कम्पनी ‘मार्केट लिडर’ बन्न सफल भएको छ।

बुधबार एकै पटक कम्पनीको ३ करोड ९६ लाख ८ हजार कित्ता संस्थापक सेयर दोस्रो बजारमा सूचीकृत भएसँगै २ खर्ब १८ अर्ब पुँजीसहित विशाल बजार दोस्रो बजारको पहिलो ठूलो कम्पनी बनेको हो।

बुधबार थपिएको सेयर संख्यासँगै अब विशालबजारको धितोपत्रको दोस्रो बजारमा ४ करोड १ लाख कित्ता सेयर सूचीकृत छ। मात्र १.०४ प्रतिशत सेयर स्वामित्व सर्वसाधारणमा रहेको यो कम्पनीको ९९.९६ प्रतिशत सेयर स्वामित्व भने संस्थापक सेयरधनीमा छ। 

प्रतिकित्ता ५ हजार ४ सय ४५ रुपैयाँ रहेको यो कम्पनीको पुँजीकरण बुधबार सेयर सूचीकरणपछि २ खर्ब माथि पुगेको हो।

नेपालको धितोपत्र बजारमा पुँजीकरणका आधारमा विशाल बजारसहित १० कम्पनीहरु पनि मार्केट लिडरका रुपमा छन्। 

पुँजीकरणका आधारमा सबैभन्दा ठूला मानिएका कम्पनीहरु धितोपत्रको दोस्रोबजारमा मार्केट लिडरको रुपमा छवि बनाएका हुन्। 

विशाल बजार कम्पनी
बुधबार सूचीकृत सेयर संख्या थपिएपछि विशाल बजार एकैपटक पहिलो ठूलो कम्पनी बनेको हो।

यो कम्पनीको धितोपत्रको दोस्रोबजारमा सूचीकृत सेयर संख्या नै ४ करोड १ लाख कित्ता पुगेको छ। प्रतिकित्ता ५ हजार ४ सय ४५ मूल्य रहेको यस कम्पनीको बजार पुँजीकरण एक सय प्रतिशतले बढेर २ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ।

विशाल बजार कम्पनीको ३ करोड ९६ लाख ८ हजार कित्ता संस्थापक सेयर दोस्रोबजारमा सूचीकृत भएसँगै पुँजीकरणको आधारमा सबैभन्दा ठूलो बनेको हो। 

योबाहेक पनि ९ कम्पनीहरु समग्र मार्केट लिड गर्नसक्ने सामर्थ्यका छन्। 

नेपाल दूरसञ्चार कम्पनी
मार्केट लिडरको रुपमा पहिलोमा रहँदै आएको नेपाल दूरसञ्चार कम्पनी विशाल बजारको पुँजी वृद्धिपछि दोस्रो नम्बरमा आएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको दोस्रो बजारमा बजार पुँजीकरण १ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ।

यो कम्पनीको १८ करोड कित्ता सेयर बजारमा सूचीकृत छन्। जसमा ९१.५३ प्रतिशत संस्थापक सेयर छ भने ८.४७ प्रतिशत हिस्सा साधारण सेयरको छ।

प्रतिकित्ता ९८२ रुपैयाँ मूल्य रहेको यस कम्पनी पुँजीकरणको आधारमा धितोपत्र बजारकै दोस्रो ठूलो कम्पनी हो। 

नबिल बैंक
पुँजीकरणको आधारमा नबील बैंक तेस्रो ठूलो कम्पनीको रुपमा छ। १ खर्ब ४६ अर्ब रुपैयाँ पुँजीसहित धितोपत्रको दोस्रोबजारमा कारोबार भइरहेको नबील बैंक मार्केट लिड गर्ने तेस्रो ठूलो कम्पनी पनि हो। 

यो कम्पनीको २७ करोड ५ लाख कित्ता सेयर धितोपत्रको दोस्रो बजारमा सूचीकृत छ। बिहीबार कारोबार मूल्यअनुसार यो कम्पनीको १ खर्ब ४६ अर्ब बराबरको पुँजीकरण रहेको हो। बिहिबार यो कम्पनीको सेयर प्रतिकित्ता ५४० रुपैयाँ किनबेच भएको थियो। 

सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट 
मार्केट लिडरको सूचीमा चौथो नम्बरमा सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट रहेको छ।

धितोपत्र बजारमा सूचीकृत कुल ६ करोड ५ लाख किता सेयर रहेको  यस कोषको ८० प्रतिशत स्वामित्व संस्थापक सेयरधनीको छ भने बाँकी २० प्रतिशतमा सर्वसाधारणको सेयर रहेको छ। 

प्रतिकित्ता २१ सय ८९ रुपैयाँमा रहेको यो कोषको बिहीबारको बजार पुँजीकरण मात्रै १ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ। बजार पुँजीकरणकै आधारमा यो धितोपत्र बजारको तेस्रो ठूलो मानिन्छ। 

नेपाल रिइन्स्योरेन्स कम्पनी
सेयरबजार हाँक्ने कम्पनीहरुमा पाँचौँ स्थानमा आउँछ सरकारी स्वामित्वको नेपाल रिइन्स्योरेन्स कम्पनी।

यो कम्पनीको १६ प्रतिशत हिस्सामात्रै सर्वसाधारणमा रहेको यो कम्पनीको सेयरबजारमा पुँजीकरणमात्रै १ खर्ब ७ अर्ब रुपैयाँ छ। 

धितोपत्र बजारमा सूचीकृत कुल १३ करोड ४२ लाख कित्ता सेयरमध्ये २ करोड १४ लाख कित्ता साधार सेयर छ भने ११ करोड २७ लाख कित्ता संस्थापक सेयर छ। 

ग्लोबल आईएमई बैंक
नबील बैंकपछि वाणिज्य बैंकहरुमा पुँजीगत आधारमा ग्लोबल आइएमई बैंक ठूलो छ। यो बैंकको पुँजीकरण धितापत्रको दोस्रो बजारमा पनि पहिलो १० ठूला कम्पनीहरुमा समेटिँदै आएको छ। 

मर्जरपछि पुँजीकरणका आधारमा बलियो बनेको यो बैंकको पुँजीकरण ९० अर्ब ३३ करोड रुपैयाँ छ।

धितोपत्रको दोस्रो बजारमा सूचीकृत कुल ३८ करोड ११ लाख कित्तामध्ये ४८.७६ प्रतिशत अर्थात् १८ करोड ५८ लाख कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा छ भने १९ करोड ५३ लाख अर्थात् ५१.२४ प्रतिशत सेयर संस्थापक सेयरधनीको स्वामित्वमा रहेको छ। 

हिमालयन रि इन्स्योरेन्स 
सातौ ठूलो कम्पनीको रुपमा हिमालय रि इन्स्योरेन्स आउँछ। कुल ८८ अर्ब ९४ करोड पुँजीकरणसहित हिमालयन रि इन्स्योरेन्स बजार हाँक्नसक्ने १० कम्पनीहरुको सूचीमा सातौँ नम्बरमा परेको हो। 

धितोपत्र बजारमा यो कम्पनीको १० करोड ४० लाख कित्ता सूचीकृत छ। जसमा ७० प्रतिशत सेयर स्वामित्व संस्थापक सेयरधनीहरुसँग रहँदा साधारण सेयरधनीसँग ३० प्रतिशत सेयरमात्रै छ।

यसरी कुल सूचीकृत सेयरको कुल बजार पुँजीकरण ८८ अर्ब ९४ करोड रुपैयाँ पुगेको हो। यो कम्पनीको पुँजीकरण १ खर्ब पुगेर तल ओर्लिए पनि मार्केट लिडरको रुपमा भने यथावत् नै देखिन्छ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक 
मर्जरसँगै नेपाल इन्भेस्टमेन्ट मेगा बैंक पनि धितोपत्र बजार हाँक्ने कम्पनीहरुको सूचीमा आठौँ स्थानमा पर्दै आएको छ।

यो कम्पनीको धितोपत्र बजारमा कुल ३४ करोड १२ लाख कित्ता सेयर सूचीकृत छ भने सोको बजार पुँजीकरणमात्रै ७८ अर्ब ८३ करोड रुपैयाँ छ। 

कुल सेयरको ३९.१९ प्रतिशत अर्थात १३ करोड ३७ लाख कित्ता सर्वसाधारणको स्वामित्वमा रहेको यो कम्पनीको सेयरमा ६०.८१ प्रतिशत अर्थात् २० करोड ७५ लाख कित्ता सेयर संस्थापक सेयरधनीको स्वामित्वमा रहेको हो। 

एभरेस्ट बैंक
एभरेस्ट बैंक पनि बजार पुँजीकरणका हिसाबमा नवौँ ठूलो कम्पनी मानिन्छ। यो कम्पनीको ७८ अर्ब ९६ करोड रुपैयाँबराबरको पुँजीकरण छ। 

धितोपत्रको दोस्रो बजारमा सूचीकृत १२ करोड ९४ लाख कित्ता सेयरमध्ये ४०.७७ प्रतिशत अर्थात ५ करोड २७ लाख रुपैयाँ सर्वसाधारण सेयरधनीको स्वामित्वमा छ भने ५९.२३ प्रतिशत अर्थात् ७ करोड ६६ लाख कित्ता सेयर संस्थापक सेयरधनीको स्वामित्वमा रहेको छ। 

नेपाल लाइफ इन्स्योरेन्स
बिमा क्षेत्रमा नम्बर वान कम्पनीको परिचय बनाएको नेपाल लाइफ इन्स्योरेन्स धितोपत्रको दोस्रो बजारमा पनि मार्केट लिडरको रुपमा चिनिन्छ। बजार पुँजीकरणका आधारमा यो कम्पनी १०औँ ठूलो मानिएको हो।

सूचीकृत ५ करोड कित्ता सेयरमा ३० प्रतिशत अर्थात् १ करोड ५० लाख कित्ता सेयर स्वामित्व सर्वसाधरणमा रहँदा यो कम्पनीको ७० प्रतिशत सेयर अर्थात् ३ करोड ५० लाख कित्ता सेयर स्वामित्व संस्थापक सेयरधनीसँग रहेको हो।

यो कम्पनीको बजार पुँजीकरण ७० अर्ब रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad