कारोबार


सरकारले सुनचाँदीसहित यी वस्तुमा घटायो कर, कुनमा कति घट्यो?

सरकारले सुनचाँदीसहित यी वस्तुमा घटायो कर, कुनमा कति घट्यो?

नेपालखबर
मंसिर ११, २०८१ मंगलबार १३:०, काठमाडौँ

सरकारले मार्बलमा लाग्दै आएको कर घटाएको छ। 

राजपत्रमा सूचना प्रकाशित गर्दै मार्बल, ग्रेनाइड, सुन र चाँदीको मूल्य नै घट्ने गरी महशुल घटाएको हो। 

मार्बल र ग्रेनाइटको अन्तःशुल्क र भन्सार दुवै घटाएको छ। चालू आर्थिक वर्षमा दालमा बढाएको अग्रिम आयकरको प्रतिशत पनि घटाएको छ। 

सरकारले उद्योगले आयात गर्ने करौंतीद्वार वा अरु किसिमले आयाताकार स्वरुपमा ढिक्का वा पाताको रुपमा केबल काटेको सङगमर्मरको पैठारीमा लाग्ने अन्तःशुल्क दर १५ प्रतिशतको सट्टा शून्य प्रतिशत कायम गरेको छ। 

मार्बलमा लाग्ने भन्सार ३० प्रतिशतबाट घटाएर १० प्रतिशत बनाएको छ।

त्यसबाहेक ढिक्का वा पाताको रुपमा केबल काटेको ग्रेनाइटको अन्तःशुल्क दर २५ प्रतिशतको सट्टा शून्य प्रतिशत कायम गरेको छ। ग्रेनाइटको भन्सार महशुल २० प्रतिशत लगाउने गरेकोमा १० प्रतिशत कायम हुने भएको छ। 

सरकारले दलहनमा बढाएको अग्रिम आयकर समेत घटाएको छ। चालू आर्थिक वर्षको बजेटमा सरकारले १० प्रतिशत अग्रिम आयकर लाग्ने व्यवस्था भएकोमा सुख्खा कोसे वनस्पतिहरु, कोसा छोडाएका, दलेका वा नदलेका वस्तुमा लाग्ने अग्रिम आयकर २ .५ प्रतिशत कायम गरिएको छ।

उक्त वर्गमा केराउहरु, चना, सिमी, मास, राज्मा, मसुरो, बकुल्लाको दालहरु रहेका छन्। सरकारले अपरिष्कृत वा अर्धनिर्मित स्वरुपको वा धूलो स्वरुपको चाँदीको आयातमा लाग्ने भन्सार महशुल दर १५ प्रतिशत रहेकोमा १० प्रतिशत कायम गरिएको छ। 

सुनमा भन्सार महशुल २० प्रतिशत लगाउँदा आयात नै घटेको उल्लेख गर्दै २० प्रतिशतबाट १० प्रतिशत कायम गरिएको छ। गत आर्थिक वर्षमा १५ प्रतिशत भन्सार लाग्ने गरेकोमा २० प्रतिशत पुर्‍याएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad