कारोबार


सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीको कम्पनीले सेयर जारी गर्नसक्ने, प्रिमियम थप्न नपाउने

न्यूनतम सीमा १ हजार कित्ता र अधिकतम सोको गुणांकमा हुने, कसले पाउँछन् भर्न?
सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीको कम्पनीले सेयर जारी गर्नसक्ने, प्रिमियम थप्न नपाउने

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार १४:२४, काठमाडौँ

धितोपत्र निष्काशन तथा बाँडफाँटसम्बन्धी निर्देशिका आठौँपटक संशोधन भएको छ। 

धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी बोर्डले यो निर्देशिका तयार गरेको हो। 

बोर्डले तोकेको मितिदेखि लागू हुने निर्देशिकामा संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीको सेयर निष्काशन तथा कारोबारसम्बन्धी विशेष व्यवस्था गरिएको छ। 

यसअनुसार संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले सेयर जारी गर्न चाहेमा ऐन, नियमावली तथा आवश्यक प्रक्रिया पूरा गरी सेयर निष्काशन गर्न सकिने भएको छ। 

यसरी सेयर निष्काशन गर्दा संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीले नियमावलीको नियम ९ को उपनियम १ अनुसार जारी पुँजीको १० प्रतिशतभन्दा घटी र ४९ प्रतिशतभन्दा बढी नहुने गरी नियमावलीको नियम ४१ ख अनुसार गैरआवासीय नेपालीको लागि मात्र सेयर निष्काशन गर्नुपर्नेछ। 

गैरआवासीय नेपाली भन्नाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्यराष्ट्र बाहेकका विदेशी मुलुकको नागरिकता वा त्यस्तो विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त गैरआवासीय नेपाली सम्झिनुपर्ने निर्देशिकामा उल्लेख छ। त्यस्तै संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनी भन्नाले सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनी सम्झिनुपर्ने निर्देशिकामा उल्लेख छ। 

यसरी निष्काशन गरिने सेयर गैरआवासीय नेपालीले मात्र खरिद गर्न सक्नेछन्। यस्तो कम्पनीले प्रिमियम थप गरी सेयर निष्काशन गर्न भने नपाउने व्यवस्था गरिएको छ। 

यस्ता कम्पनीको सेयर निष्काशन गर्नुपूर्व सेयर बोर्डमा दर्ता गर्नुपर्नेछ। सेयर दर्ताका लागि नियमावलीको अनुसूची १ अनुसार कम्पनी दर्ता प्रमाणपत्र, अद्यावधिक प्रबन्धपत्र र नियमावली, कम्पनीको पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण तथा वार्षिक प्रतिवेदन, सेयर दर्ता गराउन गरिएको सञ्चालक समितिको निर्णय र सो कार्य गर्न दिइएको अख्तियारी, विदेशी लगानी स्वीकृतिको पत्रको प्रतिलिपिसहित बोर्डमा निवेदन दिनुपर्नेछ। 

त्यसपछि बोर्डले ती कागजातको जाँचबुझ गरी उपयुक्त देखिएमा ७ कार्यदिनभित्र नियमावलीअनुसार दर्ता दस्तुर बुझाउन निवेदक कम्पनीलाई सूचित गर्ने निर्देशिकामा भनिएको छ। सूचित भएपछि कम्पनीले दर्ता दस्तुर बोर्डको खातामा जम्मा गरेको बैंक भौचर बोर्डमा बुझाउनुपर्नेछ। त्यसको ७ कार्यदिनमा बोर्डले सेयर दर्ता गरी सोको जानकारी गराउनेछ। 

विवरणपत्र स्वीकृतिको लागि कम्पनीले निवेदन दिनुपर्ने, विवरणपत्रको जाँचबुझ, स्वीकृति र प्रकाशनबारे निर्देशिकामा खुलाइएको छ। 

निर्देशिकाअनुसार यस्तो कम्पनीको निष्काशन गरिने सेयरको दरखास्त खुला रहने अवधिमा कम्तीमा ४ कार्यदिनको हुने उल्लेख छ। निष्काशन गरिने सेयरको बिक्री खुला गरिने दिनभन्दा कम्तीमा ७ कार्यदिनअगाडि नियमावलीको अनुसूची ८ अनुसार विवरण खुलाई सबैको जानकारीका लागि राष्ट्रिय दैनिक पत्रिका र निष्काशनकर्ता कम्पनीको वेबसाइटमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरिएको छ। यसको जानकारी पनि बोर्डलाई गराउनुपर्नेछ। 

आह्वानपत्र वा निष्काशनसम्बन्धी कुनै सूचनाबारे सूचना प्रकाशन गर्ने मितिभन्दा कम्तीमा १ कार्यदिन अगाडि नै बोर्डलाई जानकारी गराउनुपर्नेछ। 

त्यसैगरी सेयर बाँडफाँट भएको ७ कार्यदिनभित्र कम्पनीले आवश्यक कागजात राखी आफ्नो सेयरको अभौतिकीकरणको लागि अनुमतिपत्रप्राप्त केन्द्रीय निक्षेप कम्पनीमा निवेदन दिनुपर्नेछ र सोको जानकारी बोर्डलाई दिनुपर्ने व्यवस्था गरिएको छ। 

कम्पनीको निष्काशन गरिने सेयरको दरखास्त दिन सकिने न्यूनतम सीमा १ हजार कित्ता र अधिकतम सोको गुणांकमा हुने गरी व्यवस्था गर्नुपर्नेछ। सेयर निष्काशनको लागि दरखास्त दिन सकिने अधिकतम सीमा विवरणपत्रमा उल्लेख भएअनुसार हुने र सेयर खरिदको लागि दरखास्त आह्वान गर्दा प्रतिसेयर अंकित मूल्यको शतप्रतिशतबराबरको रकम दरखास्त साथ माग गर्नुपर्नेछ। 

आफ्नो नाममा गैरआवासीय नेपालीको नेपाली रुपैयाँको बैंक खातावाहकले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। 

निर्देशिकामा सेयर बाँडफाँटसम्बन्धी व्यवस्था गरिएको छ। यसअनुसार निष्काशित सेयरमध्ये ५० प्रतिशतभन्दा कमका लागि आवेदन परेमा त्यस्तो निष्काशन प्रक्रिया रद्द गरी आवेदकको रकम फुकुवा गर्नुपर्नेछ। ५० प्रतिशत बढी र शतप्रतिशतभन्दा कमका लागि आवेदन परी सेयर बाँडफाँट भएकोमा आवेदन नपरी बाँकी रहन गएको सेयर तत्काल कायम रहेका सेयरधनीले खरिद गर्न चाहे सक्ने र त्यसरी सेयरधनीले खरिद नगरे प्रचलित कम्पनी ऐनअनुसार पुँजी संरचनामा हेरफेर गरी सेयर पुँजी समायोजन गर्नुपर्नेछ। 

बाँडफाँट भएको सेयरबापतको रकम सम्बन्धित आवेदकको खाताबाट निष्काशनकर्ता कम्पनीलाई भुक्तानी गर्ने व्यवस्था निष्काशन तथा बिक्री प्रबन्धकले गर्नुपर्नेछ। 

यस्तो छ निर्देशिका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad