नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रहेको सिनामंगलको हवाइ इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ।
निगमले यसका लागि विस्तृत परियोजना अध्ययन (डीपीआर) को लागि इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकलाई दिएको हो।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निगमले यसको जानकारी दिएको छ। डीपीआर सम्झौतापत्रमा इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकको तर्फबाट सहप्रध्यापक नारायणप्रसाद गौतम र हवाइ इन्धन डिपो सिनामंगलको तर्फबाट प्रदीप यादवले हस्ताक्षर गरेका छन्।
उक्त डिपोका प्रमुख प्रदीप यादवले एपीआईको मान्यताअनुसारको सुरक्षित नभएको, इन्धन भण्डार क्षमता कम र हवाइ सुरक्षा मापदण्डभित्र रहेकाले डिपो सार्न लागिएको बताए।
उनले पछिल्लो समय हवाइ इन्धनको माग उच्च भएको बताउँदै अन्य समयमा ४ लाख लिटर मात्रै हुने गरेको इन्धन यो वर्षको दशैँमा ९ लाख लिटर हवाइ इन्धन खपत भएको उल्लेख गरे।

हवाइ डिपोको ७६ लाख लिटरको क्षमता मात्रै रहेको उनको भनाइ छ। हवाइ डिपो विमान दुर्घटना हुँदा पनि सुरक्षित नरहेकाले सार्न लागेको बताए। उनले हवाइ डिपोको लागि नागरिक उड्डयन प्राधिकरणले आयल निगमसँग नसोधी जर्मन कम्पनीसँग गुह्येश्वरीमा अध्ययन गरी ६ अर्ब रुपैयाँ दिएको बताए।
उनले सरकारले निर्देशन र निर्णयअनुसार डीपीआर बनाएर काम अगाडि बढाएको बताए। उनले इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले डिपो बनाउन डिजाइन गरेर दिने उल्लेख गरे।
डिजाइन आएपछि डिपो बनाउन निगमले सार्वजनिक खरिद ऐनअनुसार निगम अगाडि बढ्ने उनको भनाइ छ।
इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकका सहप्रध्यापक नारायणप्रसाद गौतमले हवाइ इन्धन डिपो सिनामंगललाई स्थानन्तरण गर्नको लागि एपीआईको स्ट्याण्डरअनुसार गुणस्तरीय डीपीआर बनाउने प्रतिबद्धता जनाए।
उनले नेपालमा पहिलो पटक अटोमेसनबाट डिपो सञ्चालन हुनेगरी डिजाइन बनाउने सोच रहेको र त्यहीअनुसार सम्झौता गरिएको बताए।
इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले गौरवका आयोजनाहरुको पनि डिजाइन गरिसकेको उनको भनाइ छ।
मूलपानी क्रिकेट स्टेडियमको डिजाइन अन्तिम चरणमा पुर्याएर पेस गरिसकेको पनि उनले बताए। उनले विगतमा बिल्डिङ बनाउँदै गए पनि अब नयाँ कामहरु गरिरहेको जानकारी दिए। उनले आयल निगममा धेरै आयोजनाहरुमा कन्सल्टेन्सी सेवा पुल्चोकले काम गरिहेको पनि उल्लेख गरे।
सिनामंगलको घना बस्तीबीच अति जोखिम अवस्थामा रहेको हवाइ इन्धन डिपो सारिने भएको छ। ५० वर्षअघि निर्माण भएको यो डिपो जोखिमका दृष्टिकोणले अनुपयुक्तका साथै विमानस्थल विस्तारको क्रममा ‘ट्याक्सी वे’ र ‘ट्याक्सी वे स्ट्रिप’ को निर्माणसमेत हुन लागेकाले सार्न लागिएको निगमले जनाएको छ।
तत्कालीन समयमा निर्माण भएको यो डिपोले अहिलेको विश्वस्तरीय सुरक्षाको मापदण्ड र सुविधा दिन नसकेकाले अहिलेको मापदण्ड अनुसार नयाँ स्थानमा सारेर अत्याधुनिक सुविधासहित निर्माण गर्न लागिएको हो।
डीपीआर गर्नको लागि ६ महिनाको समय तोकिएको छ। निगमको सञ्चालक समितिले डीपीआर गर्न र डीपीआर गर्न लाग्ने खर्च १ करोड ९८ लाख रुपैयाँ विनियोजनसहित निर्णय गरेपछि डिपो सार्ने विषयअघि बढेको हो।
डीपीआर तयार भएपछि निगमले उक्त प्रतिवेदन स्वीकृत गरेपछि निर्माण प्रक्रिया अघि बढ्नेछ।
Shares

प्रतिक्रिया