कारोबार


दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा

दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा

नेपालखबर
मंसिर ४, २०८१ मंगलबार २१:५६, म्याग्दी

दुई महिनामा एक लाख ७३ हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। असोज र कात्तिक महिनामा एक लाख ४४ हजार १५५ जना स्वदेशी र २८ हजार ९७६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले असोज महिनामा ५९ हजार ८३१ र कात्तिकमा एक लाख १३ हजार ३०० जना पर्यटक हवाई तथा स्थलमार्ग भएर मुस्ताङ भित्रिएको बताए।  

प्रहरीले घाँसामा सडकमार्ग र जोमसोम विमानस्थलको चेक पोष्टमा हवाईमार्गबाट भित्रनेको अभिलेख राख्ने गरेको छ। असोजमा बेनी–जोमसोम सडक भएर ५७ हजार ९८२  र पोखरा–जोमसोम हवाईमार्गबाट एक हजार ८४९ जना मुस्ताङ भित्रिएका प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।   

कात्तिकमा सडकबाट एक लाख ११ हजार ६५५ र हवाईमार्गबाट एक हजार ६४५ जना पर्यटक मुस्ताङ पुगेका प्रहरीको तथ्याङ्क छ। दसैँतिहार पर्व र बिदाको अवसर पारेर मुस्ताङ घुम्न आउनेहरूको सङ्ख्या अन्य महिनाको तुलनामा असोज र कात्तिकमा धेरै हुन्छ।

होटल व्यवसायीका अनुसार मुस्ताङ घुम्दा एक जना पर्यटकले सरदर न्युनतम रु १५ हजार खर्च गर्छन्। असोज र कात्तिक यहाँ भित्रिएका पर्यटकले रु दुई अर्ब ५९ करोड ६९ लाख ६५ हजार बराबरको आर्थिक कारोबार भएको अनुमान गरिएको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताए।

मुस्ताङमा रहेका तीन सय २५ वटा होटलमा एक दिनमा सात हजार जनाको हाराहारीमा पर्यटक बस्न सक्ने क्षमता रहेको पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका प्रमुख प्रेमप्रसाद पौडेलले बताए।

दसैँतिहारको समयमा मुस्ताङका सबैजसो होटल पर्यटकले भरिभराउ भएका थिए। मङ्सिर लागेसँग चिसो बढेपछि भने केही दिनयता पर्यटक आगमन घटेको छ।

आर्थिक वर्ष २०८०/८१ मा चार लाख २७ हजार र २०७९/०८० मा तीन लाख ७९ हजार ७६७ जना पर्यटक मुस्ताङ पुगेका थिए।

सडक यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वप्रसिद्ध सञ्चार माध्यमले संसारका उत्कृष्ट दश गन्तब्यमा समेट्नु, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल खुलेका कारण पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताए।

मुस्ताङ भित्रने विदेशी पर्यटकमध्ये भारतीय धेरै छन्। उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन्। मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङमा धार्मिक र पर्यटकीयस्थल रहेका छन्।

म्याग्दी हुँदै सडकमार्ग, मुस्ताङको थोराङ्ला भञ्ज्याङ हुँदै पैदलमार्ग र पोखराबाट हवाईमार्ग भएर पर्यटक यहाँ पुग्छन्। सार्क मुलुक बाहिरका पर्यटकको सङ्ख्या घट्दै जाँदा यहाँका व्यवसायी भने चिन्तित छन्।

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक कालोपत्र योजना निर्माण सम्पन्न हुने हो भने पर्यटक आगमन अझै बढ्ने घरपझोङका अध्यक्ष लालचनले बताए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad