सुदीप श्रेष्ठले ७० हजार रुपैयाँबाट व्यापार सुरु गरे। जुन उनलाई आमाले बीउपुँजीका रुपमा दिएकी थिइन्।
उनै सुदीपको आज आधा दर्जन व्यवसाय छ। ६८ जनालाई रोजगारी दिइरहेका छन्। पूर्वी जिल्लाहरू झापा र इलाममा उनी स्थापित भएका छन्।
१२ वर्षको उमेरमै सुदीपले बुबालाई गुमाए। योसँगै बुबाले सुरु गरेको क्लोदिङ व्यवसाय हाँक्ने जिम्मेवारी आफ्नो काँधमा आयो। यसलाई बढाएर फराकिलो बनाए।
सन् २००५ मा ‘द लुक्स’ क्लोदिङबाट उनको व्यावसायिक करिअर सुरु भयो। भर्खर १६ टेकेका उनलाई ३ वर्षको अनुभवपछि विदेश जाने हुटहुटी चल्यो।
सन् २००८ मा सिंगापुर हानिए। वैदेशिक रोजगारीबाट बढी कमाउने आश थियो। तर सन्तुष्ट हुन सकेनन्। महिना दिनमै नेपाल फर्किए।
‘सिंगापुर पुगेपछि यो ठाउँ मेरा लागि उपयुक्त होइन, आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचले फर्कायो’, श्रेष्ठले सुनाए, ‘स्किल पास (सीप दक्षता) भएर गएको थिएँ। राम्रो तलब थियो तर टिक्ने आधार भएन।’
सिंगापुरबाट फर्किएपछि सन् २०१० मा ‘हेङआउट डी क्याफे’ सुरु गरेको सुदीप बताउँछन्।
त्योसँगै उनी बिर्तामोडबाट आतिथ्य उद्यममा प्रवेश गरे। सन् २०१४ मा चेनकै रुपमा दमकमा पनि थाले। अहिले उनी रेस्टुराँ चेन, क्लब व्यवसायमा भिजिसकेका छन्। यसकै उन्नयनमा तल्लीन छन्।
‘मैले बिर्तामोडमा रेस्टुराँ सुरु गर्दा खर्च गर्ने सोच हुँदैनथ्यो’, उनी भन्छन्, ‘बाहिर निस्किएर खाने संस्कृति नै बसेको थिएन। अहिले सामान्य भइसक्यो।’
व्यवसाय थप्ने क्रममा उनले सन् २०१७ मा क्लब खोले। रात्रिकालीन व्यवसायको रुपमा उनको हाइप क्लबिङ छ। त्यो बेला बिर्तामोड क्षेत्रमा रात्रिकालीन व्यवसाय थिएन। क्लब जोगाइराख्न उनलाई चुनौती थियो तर हार खाएनन्।
‘क्लब खोल्दा ग्राहक आउन अप्ठ्यारो मान्थे’, उनले सुनाए, ‘अहिले क्लबमा रमाउने बानी परिसक्यो।’
अहिले प्रतिस्पर्धी धेरै आए पनि संस्कृतिकै विकास भएकाले समग्र आतिथ्य सेवामा राम्रो भएको उनको अनुभव छ।

झापामा आफ्नो व्यवसाय सफल हुँदै गएसँगै पर्यटकीय क्षेत्र कन्याममा जरवा क्याफेटेरियामा समेत सुदीपले लगानी गरेका छन् भने चिया बगानमा रमाउने पर्यटकका लागि रिसोर्ट बनाइरहेका छन्।
‘कन्याम घुम्न आउने पर्यटकलाई राम्रो सुविधा दिने गरी नयाँ रिसोर्ट खोल्ने तयारी छ’, योजनाबारे उनले भने।
रेस्टुराँ व्यवसाय गर्दा उनमा इन्टेरियर डिजाइनमा चासो बढिरहेको थियो।
सोही कारण सन् २०१९ बाट इन्टेरियर डिजाइनसम्बन्धी आफैँ अध्ययन गर्न थाले। कोभिड महामारीकै बीचमा उनले डिजाइनको काम पनि गर्न थाले।
‘इम्याजिन इन्टेरियो’बाट होटल, रेस्टुराँ र घरहरूको डिजाइनको काम गर्दै आएको उनको भनाइ छ।
झापामा उनको इन्टेरियर व्यवसाय फस्टाउँदै गएको छ। त्यसबाहेक उनले चिसो पेय पदार्थको ट्रेडिङ व्यवसाय पनि गरे। कोका–कोलाको डिलरसिप लिएर कामको अनुभव लिए।
‘ब्राडी’ क्लोदिङको नयाँ ब्रान्ड लन्च गर्दै
सुदीपको व्यवसाय क्लोदिङबाटै सुरु भएको थियो। त्यसकारण पनि उनको मनमा ‘आफ्नै ब्रान्ड’को अभाव खट्किरहन्थ्यो। अब त्यो अभाव पनि पूर्ति हुने भएको छ।
‘ब्राडी हाउस अफ क्लास’को रुपमा नयाँ ब्रान्ड ल्याउने तरखरमा रहेका उनी यसबाटै सपना साकार पार्दै छन्।
यो क्षेत्रमा आफ्नै ब्रान्डका क्लोदिङ व्यवसाय अरुले गरेका छैनन्।

‘जेन्सहरूलाई लक्षित गर्दै ब्राडी ल्याउनलागेका छौँ’, उनले थपे, ‘लेदरका पर्स, बेल्टबाट सुरु भएर क्याजुअल टिसर्ट, जिन्सहरूका प्रोडक्ट ल्याउँछौँ।’
उनका अनुसार २ वटा लाइनअपमा ब्राडी ब्रान्डका प्रोडक्ट बजारमा आउनेछ। जुन ‘लो रेन्ज’ र उच्च गुणस्तरसहित ‘हाई रेन्ज’ मूल्यका हुनेछन्। अर्थात् ब्राडीले सस्ता र महंगा दुवैखाले ग्राहकलाई तान्नेछ।
‘अहिले लेदरसहितका प्रोडक्ट बनाउने भएकाले आउट सोर्सिङ गरेरै सुरु गर्नेछौँ’, सुदीप भन्छन्, ‘ब्रान्ड स्थापित हुँदै गएपछि उद्योग नै खोल्छौँ।’
धैर्यशील व्यक्तिका उदाहरण बनेका छन् सुदीप। नेपालमै गर्न सकिन्छ भन्ने उनले देखाएका छन्।
अहिले युवाहरूमा लगानी गरेको केही महिनामै प्रतिफल खोज्ने प्रवृत्ति छ। तर व्यवसायमा लगानी गरी एक÷डेढ वर्ष धैर्य गर्न सक्दा स्थापित हुन सकिने उनको अनुभव छ।
‘डेढ–दुई वर्ष मैले व्यवसाय खोले पनि चल्नसकेका थिएनन्। व्यवसायमै खटिँदै जाँदा अहिले सफल भएको छु’, उनी भन्छन्, ‘अब हुन्छ भन्ने आशामा बसेर नै व्यवसाय विस्तार गर्ने चरणमा पुगेको हुँ।’
उनको व्यावसायिक मन्त्र छ– युवालाई नै लक्षित गर्ने। किन त?
‘किन कि युवाले सधैँ नयाँ कुरा खोज्छन्’, उनी भन्छन्।
सुदीपले आतिथ्य होस् वा क्लोदिङ व्यवसाय, प्राथमिकतामा युवालाई नै राखेका छन्।
Shares

प्रतिक्रिया