छिमेकी मुलुक चीनको तुलनामा अमेरिकी पर्यटकको संख्या नेपालमा बढ्दो छ।
नेपालले अमेरिकाभन्दा अर्ब बढी जनसंख्या भएको मुलुकबाट पर्यटक नै ल्याउन सकेको छैन। कोभिड महामारीअगाडि भारतपछि दोस्रो नम्बरमा रहे पनि चिनियाँ पर्यटक अहिले भारतीय र अमेरिकीभन्दा पछि छन्।
नेपालमा चीनलक्षित होटल रेस्टुराँसहितका व्यवसायमा लगानी बढे पनि पर्यटनका हिसाबले चिनियाँहरू आउन चाहेका छैनन्।
लामो समय लकडाउनको अवस्थामा रहेको चीन १ वर्षअघि मात्र पूर्ण रुपमा खुलेको थियो।
पछिल्लो १० महिनाको तथ्यांक हेर्दा धेरै पर्यटक आउनेमध्ये भारत पहिलो, अमेरिका दोस्रो र चीन तेस्रोमा छ। उक्त अवधिमा भारतबाट २ लाख ७३ हजार, अमेरिकाबाट ९३ हजार र चीनबाट ८३ हजार पर्यटक आएका हुन्।
सन् २०२३ मा भारतीय ३ लाख १९ हजार, अमेरिकी १ लाख, चिनियाँहरू ६० हजार मात्रै नेपाल आएका थिए।
नेपालबाट सिधा उडान समेत नभएको अमेरिकाको जनंसख्या साढे ३४ करोड छ। नेपालबाट सिधा हवाइ उडान भएको चीनको भने १ अर्ब ४१ करोड जनसंख्या छ। तर पनि चिनियाँको तुलनामा अमेरिकी पर्यटक बढी छन्।

नेपालमा चिनियाँ पर्यटक भित्र्याउन ड्रागन फेस्टिभलदेखि विभिन्न रेसिङका कार्यक्रम हुने गरेका छन्। चिनियाँहरू पोखरा विमानस्थलमा चार्टर्ड उडान गरी आए पनि समग्रमा कम छन्।
कोभिडअघि भारतपछि धेरै चिनियाँ पर्यटक आउने गरेका थिए। भारतीय पर्यटक हवाइमार्गबाट आउने मात्रै गणना हुने गरेको छ। यता नेपालले चिनियाँहरूलाई सन् २०१६ देखि अनअराइभल भिसा दिने गरेको छ।
पर्यटनको अवस्था सामान्य हुँदा सन् २०१९ मा भारतको बजार हिस्सा २ लाख ५४ लाख अर्थात् २१.२ प्रतिशत थियो। सन् २०१८ मा १ लाख ९४ हजार भारतीय नेपाल घुम्न आएको तथ्यांक छ।
सन् २०१९ मा चिनियाँ पर्यटक १ लाख ६९ हजार भित्रिएका थिए अर्थात् १४.२ प्रतिशत बजार हिस्सा ओगटेको थियो। त्यसअघि सन् २०१८ मा १ लाख ५३ हजार चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए। तेस्रोमा रहेको अमेरिकाबाट सन् २०१९ मा ९३ हजार, सन् २०१८ मा ९१ हजार पर्यटक भित्रिएका थिए।
अहिले नेपाल र चीनबीच ७ वायुसेवा कम्पनीले नियमित उडान गरिरहेका छन्। काठमाडौं–हङकङ क्याथे प्यासिफिक र नेपाल एयरलाइन्सले उडान गर्छन्। हिमालय एयरलाइन्सले ल्हासा, चाङ्सा, सांघाई, बेइजिङ, चोङकिङ, क्विङडो सहरमा उडान गर्छ।

चीनकै चाइना साउदर्नले ग्वान्झाउ–काठमाडौं र चाइना इस्टर्नले कुनमिङ काठमाडौं एयरलाइन्सले नियमित उडान गर्छ। पहिला २ उडान गर्ने कम्पनीले अहिले एउटा मात्रै उडान गर्छ। एयर चाइनाले छेन्दु–काठमाडौं, सिचुवानले छेन्दु काठमाडौं दैनिक उडान गरिरहेको प्राधिकरणले उल्लेख गरेको छ।
‘चीन–नेपाल हवाइ कनेक्टिभिटीमा उडान कटौती छैन। ५ वटा चिनियाँ कम्पनीले नै उडान गरिरहेका छन्’, नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘उडान कटौती भएर यात्रु कमी भएको भन्ने होइन। विभिन्न कारणले यात्रुको चाप नै कमी भएको छ।’
त्यसो त जाडोयाम सुरु हुने समयमा चिनियाँहरू कमै आउने गरेका छन्। चिनियाँ यात्रुहरूको ट्रेन्ड हेर्दा जनवरीपछि यात्रुको चाप बढ्ने उनको भनाइ छ।
चीनको विभिन्न सहरमा उडान गर्दै आएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ पनि चिनियाँ यात्रुको चाप नै कम रहेको सुनाउँछन्।
‘हामीले विभिन्न गन्तव्यमा उडान गर्दा यात्रुको संख्यामै कमी देखिन्छ’, उपाध्यक्ष श्रेष्ठले भने, ‘चीनको आन्तरिक उडानमा यात्रु चाप राम्रो देखिए पनि अन्तर्राष्ट्रिय उडानमा कम नै देखिन्छ।’

अक्टोबरमा चिनियाँ पर्यटक चौथो नम्बरमा
अक्टोबरमा चीनबाट आउने पर्यटक चौथो नम्बरमा पुगेको छ। भारतबाट १६ हजार ३१३ पर्यटक भित्रिँदा अमेरिकाबाट १६ हजार २३ जना आएका छन्। तेस्रोमा बेलायतका ८ हजार पर्यटक भित्रिएका छन्। चौथो नम्बरमा रहेको चीनबाट ७ हजार ७७५ पर्यटक भित्रिएका छन्।
भारतबाट सेप्टेम्बरमा २२ हजार ९८४ भित्रिएका थिए। त्यसपछि अमेरिकाबाट १० हजार ८४ पर्यटक र चीनबाट ८ हजार ४२ आएका थिए।
अगस्ट महिनामा भारतबाट २५ हजार ८३२ पर्यटक भित्रिँदा चीनबाट ६ हजार ६१४ भित्रिए। तेस्रोमा रहेको अमेरिकाबाट ५ हजार ६१४ भित्रिए।
जुलाईमा भारतबाट २१ हजार ४९१, अमेरिकाबाट ७ हजार ८६४ र चीनबाट ६ हजार ८१९ भित्रिए। जुनमा भारतबाट ३७ हजार ८३५ पर्यटक भित्रिए। अमेरिकाबाट ८ हजार २८१ र चीनबाट ७ हजार ४९४ पर्यटक आए।
मे महिनामा भारतबाट ३८ हजार २८८, अमेरिकाबाट ८ हजार ५२७ र चीनबाट ८ हजार ३८१ पर्यटक भित्रिए। अप्रिलमा भारतबाट ३० हजार १५८, अमेरिकाबाट ९ हजार ९४३ र चीनबाट ९ हजार ७५० भित्रिए।
मार्च महिनामा भारतबाट ३० हजार ७९८, चीनबाट १२ हजार ९३ र अमेरिकाबाट १० हजार ७६३ भित्रिए। फेब्रुअरी महिनामा भारतबाट २५ हजार ५७८, चीनबाट ९ हजार १८० र अमेरिकाबाट ९ हजार ८९ भित्रिए। जनवरीमा भारतबाट २४ हजार १३९ पर्यटक भित्रिँदा चिनियाँ ७ हजार २६७ र अमेरिकी ७ हजार ४७ जना पर्यटक भित्रिए।
पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले कोभिड महामारीको कारण लामो समय बन्द हुँदा पुरानो अवस्थामा फर्किन गाह्रो भएको सुनाए।
‘कोभिडपछिको अर्थतन्त्र लयमा नफर्किएको भन्ने छ। चिनियाँहरू जति बाहिर निस्किनुपर्ने हो त्यति नआएको देखिएको छ’, उनले थपे, ‘अमेरिकी अर्थतन्त्र राम्रो हुँदा पर्यटक बाहिर निस्केको देखिन्छ।’

अक्टोबरमा चौथो नम्बरमा पुग्नुको कारण शिवपुरीको सूर्यचौरमा हेलिकप्टर दुर्घटनालाई कारण मान्छन्। दुर्घटनाले चिनियाँहरू यात्रा गर्न डराएको उनको भनाइ छ।
‘पर्यटन बोर्डले पहिलाजस्तो चिनियाँ बजारमा प्रवद्र्धनका कार्यक्रम गर्न सकेका छैनौँ’, लामिछानेले अर्को कारण थपे, ‘बोर्डको बजेट पारितमा ढिलाइ हुँदा मार्केटिङ गर्न नपाउँदाको प्रभाव पनि हुनसक्छ।’
हिमालय एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठ पनि चिनियाँ अर्थतन्त्रकै कारण पर्यटकमा कमी आएको आकलन गर्छन्।
‘मैले हेर्दा चिनियाँ अर्थतन्त्रमा अझै समस्या देखिन्छ। उनीहरू बाहिर निस्किएका छैनन्’, श्रेष्ठले भने, ‘त्यसबाहेक भूराजनीतिक प्रभाव, पर्यटन गन्तव्यका सुरक्षा दोस्रो कारण देखिन्छ।’
चिनियाँ अध्ययनले नै कोभिडअघिको तुलनामा पर्यटक कम नै बाहिर घुम्न गएको देखाएको छ। ड्रागन ट्रेल इन्टरनेसलको सर्भेअनुसार २०२३ को तुलनामा २०२४ मा संख्या भने बढेको छ।
करिब १३ करोड जनसंख्या घुम्न जाने गरेको सर्भेले देखाएको छ। कोभिड महामारीअघि साढे १५ करोड चिनियाँ विदेश घुम्न निस्किएका थिए।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले मुख्यतः ३ कारणले चिनियाँ पर्यटक आउन नसकेको बताएको छ।
‘कोभिडअगाडि जस्तो हवाइ उडानमा कमी हुँदा हवाइ भाडा बढेको छ’, नाट्टाका सचिव विष्णु पाण्डेले भने, ‘चिनियाँ घुम्ने गन्तव्य चितवन, लुम्बिनी र पोखराको सडक राम्रो नहुँदा पनि पर्यटक घटेको देखिन्छ।’
नेपालमा आउने चिनियाँ पर्यटक श्रीलंका डाइभर्ट भएको पाण्डे दाबी गर्छन्।
‘श्रीलंकाको पर्यटक पुनर्स्थापना ३०० प्रतिशतसम्मले बढेको छ’, उनले भने, ‘नेपालका गन्तव्य महँगो बन्दा श्रीलंकाको फ्रि भिसा र आकर्षक प्याकेजले पर्यटक डाइभर्ट भएको देखिन्छ।’

‘अब चिनियाँ वर्ष मनाउँछौँ’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने पनि पर्यटक ल्याउने लक्ष्य भेटाउन नसकेको स्वीकार्छन्।
अहिलेको पर्यटक संख्या सन्तोषजनक नभएकाले बढाउनुपर्ने अवस्थामै लागेको उनको भनाइ छ।
अब चिनियाँ पर्यटकलाई प्राथमिकता दिने गरी कार्यक्रम बनाउन लागेको लामिछानेले जानकारी दिए।
‘आगामी वर्ष नेपाल–चीन सम्बन्ध स्थापना भएको ७० वर्षगाँठ हुँदै छ’, मन्त्रालयका प्रवक्ता समेत रहेका उनले भने, ‘चिनियाँ वर्ष भनेर पर्यटक लक्षित प्रवद्र्धनका कार्यक्रम चलाउने योजनामा छौँ। पर्यटन बोर्डले चीन लक्षित कार्यक्रम गर्नेछ।’
चिनियाँ पर्यटक बढाउन कूटनीतिक माध्यमबाट नेपालको प्रचारप्रसार गर्ने र नेपाल आएका पर्यटकबाटै राम्रो अनुभूति दिएर पठाउनुपर्ने उनले बताए।
चिनियाँहरू नेपालमा घुम्न मात्रै नभई होटल तथा रेस्टुराँमा लगानी समेत गरेका छन्। सेवा क्षेत्रमा लगानी गर्न खोज्नेलाई सहज बनाइदिने सरकारी नीति नै रहेको बताउँछन्।
‘चिनियाँहरूलाई नेपालमा घुम्न कठिनाइ भएर कम आएको भन्ने छैन। प्रवर्द्धनका कार्यक्रम कमी भए होलान्, त्यसलाई बढाउनुपर्छ’, लामिछानेले भने, ‘त्रिभुवन विमानस्थलमा विस्तार गर्दा समेत चिनियाँ वायुसेवा कम्पनीका उडानलाई प्राथमिकता नै दिएका छौँ।’
चीनको टुरिस्ट ब्युरोले २०२५ को लागि नेपाललाई पर्यटक गन्तव्य देशको सूचीमा प्राथमिकता दिएकाले केही आशावादी हुने अवस्था रहेको व्यवसायीहरू समेत बताउँछन्।
‘नेपाली सडकको अवस्था सुधार्न नसक्ने, हवाइ भाडा घटाउन नसक्दा र आकर्षक प्याकेज नल्याए पर्यटन वर्ष मनाए पनि धेरै बढ्ने देखिँदैन’, नाट्टा सचिव पाण्डेको मत छ।
Shares

प्रतिक्रिया