कारोबार


बिहानै भैरहवा अवतरण असहज: आईएलएसमा समस्या, आरएनपीएआर परीक्षण हुनै बाँकी

भारतीय क्षेत्रमा उडान सुरक्षामा चुनौती थप्ने गतिविधि रोक्नु अर्को चुनौती
बिहानै भैरहवा अवतरण असहज: आईएलएसमा समस्या, आरएनपीएआर परीक्षण हुनै बाँकी

भैरहवा विमानस्थलमा जजिरा एयरवेजको जहाज (फाइल तस्बिर)


वसन्त अर्याल
कात्तिक २९, २०८१ बिहिबार ९:२, काठमाडौँ

जजिरा एयरवेजको जहाज कुवेतबाट बिहान भैरहवा जानुपर्नेमा मंगलबार र बुधबार काठमाडौंमै अवतरण गर्‍यो।

कारण, भैरहवा विमानस्थलमा तुँवालो लागेकाले भिजिबिलिटी कम थियो अर्थात् जहाजबाट धावनमार्ग नै राम्रोसँग देखिएन।

यद्यपि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै विकल्पका रूपमा निर्माण गरिएको थियो।

विमानस्थलमा ठूला जहाज बस्नसके पनि अवतरण उपकरण प्रणाली सञ्चालन नहुँदा भैरहवा उडान गर्न थालेका कम्पनीलाई समस्या भएको छ।

कुवेतबाट आउँदा जजिरा एयरवेजको जहाज भैरहवा विमानस्थलमा बिहान साढे ७ बजे अवतरण गर्छ। साढे ८ बजे भैरहवाबाट पुनः कुवेत उड्ने तालिका छ। भिजिबिलिटी कम हुँदा उडान गर्न समस्या नभए पनि अवतरण गर्न भने समस्या हुन्छ। 

जाडोयाम सुरु भएसँगै तराईका विमानस्थलमा हुस्सु लाग्छ। सामान्यतया बिहान ९–१० बजेअघि विमान अवतरण गर्न सक्दैनन्।विमानस्थलआसपास समथर भूभाग भए पनि भिजिबिलिटी कम्तीमा २ हजार मिटरमाथि हुनुपर्छ।

मंगलबार र बुधबार भैरहवामा अवतरण गर्न नसक्दा सो जहाज काठमाडौंमै ‘डाइभर्ट’ विमानस्थलले जनाएको छ। भैरहवा विमानस्थल काठमाडौंभन्दा पनि कम भिजिबिलिटीमा उडान गर्न सकिने गरी आईएलएस सिस्टम जडान गरिए पनि प्रयोगमा आउनसकेको छैन। 

भैरहवा विमानस्थल सञ्चालनमा भारतले २ वटा विषय सहजीकरण गर्दा सजिलै अन्तर्राष्ट्रिय उडान र अवतरण हुन सक्थ्यो। एउटा हवाई प्रवेश बिन्दु सिमरा हुँदा पश्चिम क्षेत्रबाट आउने जहाज पूर्व पुगेर फेरि पश्चिमतर्फ केही मिनेट घुम्नुपर्छ। कम्पनीहरुलाई अप्ठ्यारो भए पनि उडान गर्न सक्छन्। तर आईएलएस सिस्टम सञ्चालन नहुँदा तुँवालो लागेको समयमा जहाज नै अवतरण गर्न नसक्ने अवस्था भएको छ। 

भैरहवा विमानस्थलमा जडान भएको इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) भारतले चलाउन दिए पनि प्राविधिक समस्या रहेको प्राधिकरणले जनाएको छ। आईएलएस सिस्टमले भारतीय आकाश ओगट्दा भारतीय क्षेत्रमा उडान सुरक्षामा चुनौती थप्ने गतिविधि प्रतिबन्ध गराउनुपर्छ। 

‘आईएलएस सिस्टम चलाउँदा भारतीय आकाश छुने देखिन्छ। सिस्टम चलाउन भारतले अनुमति दिए पनि ड्रोन, चङ्गा, ठूला भवन बनाउन प्रतिबन्ध नलगाए हाम्रो उडान सुरक्षाको चुनौती बढ्छ’, भैरहवा विमानस्थलमा महाप्रबन्धक समेत भइसकेका उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेले भने, ‘भारतलाई कानुन बनाएर प्रतिबन्ध लगाउन आग्रह गरेका छौँ। यो हाम्रो हातमा छैन।’

भैरहवा विमानस्थल निर्माण हुँदा त्रिभुवन विमानस्थलमा बस्न नसकेका जहाज भैरहवामा अवतरण गर्न सकिने प्राधिकरणले दाबी गरेको थियो। तर विमानस्थलमा आईएलएस जडान गर्दा प्राविधिक रूपमा ध्यान नदिँदा भैरहवा अवतरण गर्न नसक्ने जहाज काठमाडौं नै आउनुपर्ने बाध्यता बनेको छ। 

भैरहवा विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आईएलएस सिस्टम नहुँदा कठिनाइ भोग्नुपरेको सुनाए।  गौतमबुद्ध विमानस्थलले आईएलएसको विकल्पमा भूउपग्रहमा आधारित आरएनपीएआर ल्यान्डिङ विधि बनाउन प्राधिकरणलाई आग्रह गरेको बताए। 

‘प्राधिकरणले आरएनपीएआर विधि बनाएको भन्ने सुनेको छु, त्यसलाई छिट्टै परीक्षण गर्दा भैरहवाका उडानलाई सहज हुन्थ्यो’, महाप्रबन्धक तिवारीले भने, ‘जाडो समयमा बिहान उडान तालिका भएका कम्पनीलाई अप्ठ्यारो हुनसक्छ।’

आरएनपीएआर विधि तयार, परीक्षणमा अझै वर्ष लाग्ने
अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आईकाओ)को मान्यता दिएको रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथोराइजेसन रिक्वायर्ड (आरएनपीएआर) उडान विधिबाट उडान गर्न सकिन्छ। 

आरएनपीएआर एउटा विधि हो, विमानस्थलमा थप उपकरण राख्नुपर्दैन। भूउपग्रहका सिग्नलको आधारमा कसरी उडान गर्ने भन्ने विधि हो।

उक्त विधि लागू हुँदा विमानस्थलमा नयाँ हवाईमार्गको तर्जुमा हुन्छ। नागरिक उड्डयन प्राधिकरणले हवाईमार्गको तर्जुमा गरिसकेको छ। 

‘अहिलेको हिउँदमा भूउपग्रहमा आधारित नयाँ सिस्टमबाट उडान गर्न सकिने अवस्था छैन’, प्राधिकरणका उपमहानिर्देशक पाण्डेले भने, ‘आईएलएस सिस्टम चलाउन नसकिए पनि आरएनपीएआर विधिबाट उडान गर्ने प्रक्रियामा गएका छौँ।’

उक्त मार्ग सुरक्षित छ कि छैन भनी स्पेसल जहाजमार्फत परीक्षण गर्नुपर्छ। सिमुलेटर उडान गर्नुपर्छ। यसका लागि पाइलटले छुट्टै लाइसेन्स लिएको हुनुपर्छ। 

‘रुट परीक्षणको लागि कति समय लाग्छ, एउटा पाटो छ’, पाण्डेले भने, ‘आरएनपीएआर विधिबाट उडान गर्न वायुसेवा कम्पनीले पाइलटलाई तालिम दिनुपर्छ। पाइलटको लाइसेन्स दिनेले प्रमाणीकरण गरेपछि उडान गर्न पाउँछन्।’

अन्तर्राष्ट्रिय उडान गर्ने अधिकांश जहाजमा उक्त सिस्टममा चल्न सक्छन्। त्रिभुवन विमानस्थलमा समेत आरएनपीएआर विधि लागू छ।

काठमाडौंमै कतिपय एयरलाइन्सले त्यसमार्फत उडान गरिरहेका छन्। तर सबै एयरलाइन्सका पाइलटले उक्त विधिमा उडानको अनुभव छैन। 

‘काठमाडौंमा कतार एयरवेज, नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, कोरियन एयरलाइन्सले भूउपग्रहमा आधारित विधिबाटै उडान गर्छन्’, प्राधिकरणका प्रवक्ता समेत रहेका पाण्डे भन्छन्, ‘जजिरा, फ्लाई दुबई, एयर अरेबियाले आरएनपीएआर विधिबाट उडान गर्दैनन्, थप तालिम दिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad