कारोबार


चर्को हवाइ भाडाले महँगिए पर्यटकीय गन्तव्य, व्यवसायीलाई पर्यटक भारत ‘डाइभर्ट’ हुने डर

चर्को हवाइ भाडाले महँगिए पर्यटकीय गन्तव्य, व्यवसायीलाई पर्यटक भारत ‘डाइभर्ट’ हुने डर

नेपालखबर
कात्तिक २७, २०८१ मंगलबार १८:६, काठमाडौँ

चर्को हवाइ भाडाका कारण नेपालका पर्यटकीय गन्तव्यको यात्रा महँगो भएको छ। 

नेपाल आउने पर्यटकको धेरै रकम हवाइ भाडामै खर्च हुने भएकाले पर्यटक आगमनमै असर पर्ने देखिएको हो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द गराएपछि हवाइ कम्पनीले दोब्बरले भाडा बढाएका हुन्। तर सरकारले खुल्ला बजार भएकाले कुनै कारबाही गर्न नसकिने उल्लेख गरेको छ। 

२४ गते मन्त्रालयमा बैठक बसेर हवाइ भाडा बढ्न नदिने निर्णय गरे पनि कार्यान्वयन हुन सकेन। नेपालको तुलनामा भारतमा हवाइ भाडा कम भएकाले पर्यटक भारत डाइभर्ट हुनसक्ने भन्दै व्यवसायी चिन्तित भएका छन्। 

अहिले काठमाडौं र दिल्लीको औसत भाडादर तुलना गर्दा नेपालको हवाइ भाडा धेरै महँगो छ। काठमाडौंबाट दुबई उडानको इकोनोमी क्लासको करिब १ लाख रुपैयाँ पुगेको छ। सबैभन्दा कम मूल्य नै ९३ हजार रुपैयाँ छ। भारतको दिल्लीबाट ३४ हजार ६०० भारु छ। 

त्रिभुवन विमानस्थलबाट मलेसियाको ७३ हजार ५०० रुपैयाँ छ। दिल्लीको इन्दिरा गान्धी विमानस्थलबाट १६ हजार २०० भारतीय रुपैयाँ मात्रै छ। काठमाडौंबाट रियादको भाडा ८१ हजार छ। दिल्लीबाट रियादकै ४१ हजार रुपैयाँ छ। 
युरोप, अस्ट्रेलिया, अमेरिकाका अधिकांश पर्यटक, दोहा, इस्तानबुल, बैंककलाई ट्रान्जिट बनाई जाने गरेका छन्। 

नेपाली श्रमिकसँगै ट्रान्जिट विमानस्थलको रुपमा रहेको दोहामा कतार एयरवेजको काठमाडौंबाट दोहा बुधबारकै लागि ६२ हजार छ। दिल्ली दोहासम्म २१ हजार ७०१ अर्थात् ३४ हजार ७४८ रुपैयाँमा दिल्लीबाट उडान गर्न पाइन्छ।

काठमाडौंबाट टर्किको इस्तानबुल १ लाख रुपैयाँ भाडा रहेको छ। दिल्लीबाट सोही दिन इन्डिगो एयरलाइन्सले ३२ हजार ५०० भारतीय रुपैयाँ छ। काठमाडौंबाट बैंककको भाडा ५ हजार रहेको छ। भारतको दिल्लीबाट १ हजार भारतीय रुपैयामै बैंकक उडान भैरहेको छ। काठमाडौंबाट लन्डनको भाडा ट्रान्जिटमा ९० हजार रहेको छ। दिल्लीबाट ३९ हजार भारुमै टिकट पाइरहेको छ। 

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टका अध्यक्ष कुमारमणी थपलियाले अन्तराष्ट्रिय रुपममै नेपाल सबैभन्दा महँगो गन्तव्यको रुपमा चित्रित हुन थालेको बताउँछन्।

‘पर्यटन क्षेत्रको लागि हवाई टिकट सबैभन्दा महत्वपूर्ण पाटो हो। विश्वका गन्तव्यहरुमा नेपालको भाडा उच्च देखिएको छ’, अध्यक्ष थपलियाले भने, ‘सरकारले केही गर्न नसक्ने भएपछि वायुसेवा कम्पनीहरुले जथाभावी भाडा लिएका छन्। सरकारले केही गर्न सक्दैन भनेको छ।’

काठमाडौंसँगै भैरहवाबाट उडान हुँदा समेत सिटसंख्यामा धेरै कटौती नभए पनि राज्यले कुनै कारबाही नगर्ने हुँदा कम्पनीहरुले तेब्बरसम्म भाडा बढाएका छन्। मलेसिया र खाडी मुलुकमा जाने कामदारले त महिनौँ दुःख गरेको रकम हवाइ टिकटमै खर्च गर्नुपर्ने अवस्था छ।

‘सरकारले विज्ञप्ति त जारी ग¥यो। तर अहिलेसम्म भाडा घटेको देखिँदैन’, उनले भने, ‘व्यवसायीहरुले सचेत गर्दा पनि नेपाल सरकारले पूर्वअनुमान गर्न नसक्दा हवाई भाडाले धेरै वृद्धि भएको छ।’

काठमाडौंमा यात्रुको चाप भए पनि भैरहवामा नियमित उडान भए पनि हवाई कम्पनीले सिट खाली राखेरै उडान गरिरहेको विमानस्थलले जनाएको छ। 

‘जजिरा एयरवेज फुल सिट क्षमतामा उडान गरिरहेको छ’, गौतमबुद्ध विमानस्थलमा महाप्रबन्धक प्रतापबाबु तिवारीले भने, ‘अन्य एयरलाइन्सले भर्खर उडान सुरु गरेकाले यात्रुलाई आकर्षण गरेका छैनन्।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad