भर्खरैको एक सर्वेक्षणअनुसार हङकङका एक तिहाइ बासिन्दाले विदेश जान चाहेको बताएका छन्। सहरको जीवनयापनस्तरको मूल्यांकन उच्च दिए पनि सहर छोड्न चाहनेको संख्या पनि उच्च नै देखिएको हो।
हङकङको चाइनिज युनिभर्सिटी अफ एसिया-प्यासिफिक स्टडिजको हङकङ इन्स्टिच्युट अफ द हङकङले आप्रवासी योजना र सहरको जीवनयापनबारे आफ्नो वार्षिक सर्वेक्षणको नतिजा सोमबार सार्वजनिक गरेको छ।
सर्वेक्षणमा प्रश्न सोधिएका मध्ये ३४ प्रतिशतभन्दा बढी उत्तरदाताले हङकङ छाड्ने इच्छा व्यक्त गरेका छन्। यिनिहरूमध्ये अस्ट्रेलिया उनीहरूको शीर्ष वाञ्छित गन्तव्य रहेको छ भने त्यसपछि क्रमश: बेलायत, क्यानडा, ताइवान र जापान छन्।
अस्ट्रेलिया जान चाहनेको संख्या १२.७ प्रतिशत रहेको छ। विदेश जान चाहेको सङ्केत गर्ने २७.६ प्रतिशतले गन्तव्यको निर्णय नगरेको बताएका छन्।
तर, यो वर्षको सङ्ख्या सन् २०१९ देखि २०२१ को भन्दा चाहिँ कम छ। जबकि यतिबेला ४० प्रतिशतभन्दा बढी उत्तरदाताले आफू विदेश जान चाहेको बताएका थिए। यसो हुनुमा ठूलो संख्यामा विरोध प्रदर्शन, राष्ट्रिय सुरक्षा कानुन र कोभिड -१९ महामारीको प्रकोपले असर गरेको मान्न सकिन्छ।
विगत ९ वर्षमध्ये सन् २०२२ मा हङकङ छोड्न चाहनेको संख्या सबैभन्दा कम थियो। यतिबेला यो संख्या २८.४ प्रतिशत रहेको थियो।
उत्तरदाताले यस वर्ष हङकङको जीवनयापनलाई १०० मा ६०.८ को औसत स्कोर पनि दिएका छन्। जबकि गत वर्ष ५६.५ थियो।
सर्वेक्षणका लागि १८ वर्षदेखि माथिका ७ सय ११ उत्तरदातासँग फोनमार्फत प्रश्न सोधिएको थियो। जुन ९ देखि २५ अक्टोबरमा गरिएको थियो।
विदेश जान चाहनेहरूमध्ये २६.६ प्रतिशतले बसाइँ सर्ने तयारी गरिरहेको बताएका छन् भने ७३.१ प्रतिशतले सोचाइ मात्र रहेको बताए।
सहर छोड्न चाहनुको कारण सम्बन्धमा, २३.८ प्रतिशतले हङकङको कमजोर अर्थतन्त्र र आर्थिक सम्भावनाको कमीलाई उद्धृत गरेको पाइयो। १४.९ प्रतिशतले हङकङको अलोकतान्त्रिक प्रणाली र १४.९ प्रतिशतले राजनीतिक अस्थिरताले सहर छोड्ने आफ्नो मनसायलाई योगदान गरेको बताए।
पाँचमध्ये एक जना उत्तरदाताले भने यो भन्दा फरक मत दिएका छन्। उनीहरूले मौका पाए मुख्यभूमि चीन जान चाहेको जवाफ दिएका छन्।
२०१९ को अन्त्यमा, हङकङको जनसंख्या ७५ लाख २० हजार थियो। यस वर्षको जुनसम्ममा सहरको जनसङ्ख्या करिब ७५ लाख ३० हजार रहेको छ। (हङकङ फ्रि प्रेसबाट)
Shares

प्रतिक्रिया