चीनको ग्वान्जाओमा हुने अन्तर्राष्ट्रिय सिस्मे फेयरमा नेपालका मझौला उद्योगी, व्यवसायीहरुले सहभागिता जनाउने भएका छन्।
आइतबार साना तथा मझौला व्यवसायी महासंघका सदस्यहरु अन्तर्राष्ट्रिय सिस्मे फेयरमा सहभागी जनाउन चीन प्रस्थान गरेका हुन्।
मेलामा नेपालले ३२ वटा स्टल राख्ने साना तथा मझौला व्यवसायी महासंघकी अध्यक्ष इनु पौडेलले बताइन्। उनले नेपालको तर्फबाट ३२ वटा स्टल राख्ने र ३६ जना साना तथा मझौला व्यवसायीहरु चीन प्रस्थान गरेको जानकारी दिइन्।
यस्ता मेलाले नेपालमा उत्पादन हुने वस्तुहरुको गुणस्तर मापन हुनुका साथै बजारीकरणका लागि सहज हुने उनले उल्लेख गरिन्। उनले नेपालमा उत्पादन भएको पस्मिना, मूर्ति, थान्का, चियापत्तीहरुको स्टलहरु राख्ने बताइन्।
अन्तर्राष्ट्रियस्तरका मेलाहरुले नेपालमा उत्पादित सामग्रीलाई बजारीकरण गर्न र अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सहयोग पुग्ने उनको भनाइ छ। मेला कात्तिक ३० गतेदेखि मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ।
Shares

प्रतिक्रिया