नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर पोखरा र गौतमबुद्ध विमानस्थल चलायो भन्ने सोच राख्नु राष्ट्रघात हुने बताएका छन्।
एउटा विमानस्थल मर्मतको काम हुँदा अर्को प्रयोग गरिएको रुपमा मात्रै लिनुपर्ने बताउँदै महानिर्देशक अधिकारीले यस्तो बताएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतको लागि १० घण्टासम्म बन्द हुने भएसँगै विमानस्थलको विकल्प गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्नेछन्।
प्राधिकरणले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई अन्तर्राष्ट्रिय उडान गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न आग्रह पनि गरेको छ।
यसैबीच प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि मर्मत गर्ने बहाना बनाएको आरोप पनि लागेको छ।
तर, यस्तो आरोपको खण्डन गर्दै महानिर्देशक अधिकारीले भने,‘भैरहवा र पोखरा विमानस्थल चलाउँछु भनेर सोच्नु गलत होइन। त्रिभुवन विमानस्थल बन्द गरेर पोखरा र भैरहवा विमानस्थल चलायो भनेर सोच राख्नु राष्ट्रघात हो।’
महानिर्देशक अधिकारीले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै हवाई भाडा पनि नियन्त्रणमा आउने पनि दाबी गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत गर्ने बहाना भन्दा पनि बाध्यताले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन लागिएको महानिर्देशक अधिकारीको भनाइ छ।
‘विगतमा भैरहवा विमानस्थल किन बनाएको भन्नेहरूलाई किन बनाएको रहेछ भन्ने थाहा भयो। एउटा विमानस्थल मर्मत गर्दा अर्को विमानस्थल प्रयोग भयो। त्रिभुवन विमानस्थलमा प्राविधिक रुपमा विमान अवतरण गर्न नसक्दा एयरलक हुन्छौँ। ल्याण्डलक देश थियौँ। त्यसले अर्को आधार तयार गर्यो,’ उनले भने।
विमानस्थलको क्षमताभन्दा बढी भएपछि भैरहवाको विकल्प देखिएको महानिर्देशक अधिकारी बताउँछन्।
‘विमानस्थल बन्द गर्ने निर्णय सात महिना पहिला भएको हो। अहिले चार विमान कम्पनीहरू भैरहवा जान तयार भए। त्रिभुवन विमानस्थलको निश्चित क्षमता भएकाले विमानहरू थप्दै जान सक्दैनौं । विमानस्थलको क्षमता भन्दा बढी भएपछि कहाँ जाने भन्दा भैरहवा छ भन्ने देखियो,’ अधिकारीले भने, ‘प्राधिकरण प्रमुख भएपछि भैरहवा विमानस्थल सञ्चालनमा ल्याउँछु भनेर निर्णय गरी सोच राख्नु गलत हो र? भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउँछु। दुई वटै विमानस्थल सञ्चालनको लागि बनाएको हो।’
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नेगरी नै सरकारले प्राधिकरणमा राखेको उनको भनाइ छ।
‘मलाई सरकारले काठमाडौँ मात्रै चलाउ भैरहवा र पोखरा नचलाउन भनेर राखेको होइन। तर आजको अवस्था भनेको बाध्यकारी अवस्था हो। सात महिनाअघि निर्णय गरेको विषय हो। यो निर्णयमा कतैको कनेक्सन छैन। यो प्राधिकरणको रणनीति होइन। अवस्था यस्तो आइपरेको हो,’ उनले भने।
Shares

प्रतिक्रिया