इलामको माईखोलामा आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको पुनर्निर्माण सकिएको छ।
गत असोज १२ गते शनिबार माईखोलामा आएको बाढीले काबेली करिडोर प्रसारणलाइनअन्तर्गत इलामको माई नगरपालिका वडा नम्बर १ र ७ स्थित धोद्रेबेसीमा ४ वटा टावरमा क्षति पुर्याएको थियो।
नेपाल विद्युत प्राधिकरण र काबेली करिडोर प्रसारणलाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत आयोजनाले संयुक्तरूपमा पुनर्निर्माण तथा पुनर्स्थापना गरी सोमबार दिउँसो ४.३० बाट प्रसारणलाइन सञ्चालनमा ल्याएका हुन्। काम सुरु गरेको १९ दिनमा काम सम्पन्न गरी सञ्चालनमा ल्याइएको ऊर्जा उद्यमी मोहन कार्कीले बताए।
प्रसारणलाइन सञ्चालनमा आएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरूले विद्युत् उत्पादन सुरु गरेका छन्। ती आयोजननाहरूबाट १२ असोजबाट विद्युत् उत्पादन बन्द थियो।
यस क्षेत्रमा प्राधिकरण र निजी क्षेत्रले संयुक्त रूपमा नमुनाका रूपमा पुनर्निर्माण अगाडि बढाएका थिए। प्राधिकरणले प्रसारणलाइनका पाटपुर्जाहरूलगायतका सामग्री उपलब्ध गराएको छ भने निजी क्षेत्रका जलविद्युत आयोजनाहरूले श्रम लागत र अन्य खर्च बेहोरेका छन्। यसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका छन्।
काबेली करिडोर प्रसारणलाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डको धोद्रेबेसीमा ५०, ५१, ५२ र ५३ नम्बर टावरलाई माईखोलाको बाढीले क्षति पुर्याएको थियो। त्यस स्थानबाट प्रसारणलाइनलाई माईखोला पार गराएको थियो। उक्त स्थानमा प्रसारणलाइनको स्पान साढे सात सय मिटर रहेको छ।
चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्णरूपमा क्षति गरेको थियो। बाढीले उक्त टावर ढालेको थियो। त्यहाँ अर्को नयाँ टावर बनाइएको छ।
५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको थियो। ५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको थियो। ५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको थियो। दुवै टावरको मर्मत गरिएको थियो। प्रसारणलाइन पुनर्निर्माणमा उक्त स्थानका वडाका जनप्रतिधिहरूबाट सहयोग प्राप्त भएको प्राधिकरणले जनाएको छ।
Shares

प्रतिक्रिया