कारोबार


गौतमबुद्ध विमानस्थलको ९० प्रतिशत काम सम्पन्न

गौतमबुद्ध विमानस्थलको ९० प्रतिशत काम सम्पन्न

सीबी अधिकारी
फागुन २९, २०७६ बिहिबार १०:३८,

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ। हालको अवधिमा करिब ९० प्रतिशत भौतिक प्रगति रहेको यो विमानस्थल सन्निकट सञ्चालनको अवस्थामा रहे पनि कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी प्रकोपका कारण आयोजनालाई असर परेको छ।


अबको ६ महिनाभित्र विमानस्थल पूर्णरुपमा सञ्चालन गर्ने पूर्वनिर्धारित योजना अझै कम्तीमा छ महिना लम्बिने आयोजनाका अधिकारी बताउँछन्। यही हिसाबले गौतमबुद्ध विमानस्थल अर्को अङ्ग्रेजी वर्ष अर्थात् सन् २०२१ को सुरुआतबाट मात्रै सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले भौतिक संरचना तयार भइसकेको गौतमबुद्ध विमानस्थल कोरानाको प्रभावले सञ्चालन अवधि केही लम्बिने अवस्थामा रहेको बताए। ‘भौतिक संरचना निर्माण भइसके पनि विमानस्थलको प्राविधिक काम धेरै बाँकी छ, कतिपय उपकरण आउन सकेका छैनन् त्यसैले आयोजना झण्डै एक वर्ष ढिलो हुने स्थिति रहन्छ, त्यो भनेको अर्को वर्षबाट विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आउनेछ’, उनले भने।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो। सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को शुरुमा उद्घाटन भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो। पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्यरुपमा प्रगति भएको थियो।

निर्देशक अधिकारीका अनुसार अहिले यो विमानस्थलको ९० प्रतिशत काम सकिएको छ। अब मात्रै विमानस्थलको टर्मिनल भवनको फिनिसिङको काम बाँकी छ। टर्मिनलभित्र उपकरण जडानको काम बाँकी छ। व्यागेज ह्यान्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा छ।

प्राविधिक उपकरण जडानलगायतका बाँकी काम पनि धमाधम भइरहेको छ। कोरोनाकै प्रभावले गौतमबुद्ध विमानस्थललाई त्यति धेरै असर नगर्ने निर्देशक अधिकारीको भनाइ छ। ‘गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको अवस्था राम्रो छ, अन्य आयोजना जस्तो ढिलो हुने अवस्था छैन’, उनले भने, ‘हामी पूर्ण तयारीका साथ लागेका छौँ।’

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ। एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी रु सात अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ। आयोजनामा चिनियाँ कामदार केही समय क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले काममा तत्कालका लागि केही अवरोध सिर्जना भएको निर्देशक अधिकारीको भनाइ थियो।

निर्देशक अधिकारीले टर्मिनल भवनमा जडान हुने उपकरणका लागि आयोजनाका अधिकारीले फ्याक्ट्रीको स्थलगत निरीक्षण गर्ने (एफएटी) काम रोकिएको बताए। यी उपकरण चीनबाट ल्याउनुपर्नेछ।

अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको विश्वव्यापी मापदण्डअनुरुप विमानस्थल सञ्चालन योग्य भएको छ महिना अगाडि नै अन्तरराष्ट्रिय वायु सेवा प्रदायकलाई जानकारी गराउनुपर्ने हुन्छ। निर्माणका हिसाबले छ महिनामा सबै काम सकिए पनि विमानस्थल व्यावसायिक सञ्चालनमा आउन अर्को छ महिना अर्थात् एक वर्षको अवधि लाग्नेछ।

पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो। प्राविधिक कारण ढिलाइ हुने खतरामा रहेको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब हुने भएको हो।

सो विमानस्थल सञ्चालन तयारीका लागि प्राधिकरणले निर्देशक प्रतावबाबु तिवारीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले विमानस्थल सञ्चालनका लागि गर्नुपर्ने कामबारे सुझावसहितको प्रतिवेदन हालै तालुकदार संस्कृति, पर्यटन मन्त्रालय र प्राधिकरणलाई बुझाएको थियो।

विमानस्थल निर्माणमा ११४ चिनियाँ कामदार छन्। यीमध्ये केही चीनतिरै छन भने नेपाल आएका छ जना कामदार पनि अहिले क्वारेनटाइनमा छन्। यता गौतमबुद्ध विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले अबको दुई महिनाभित्र विमानस्थल सञ्चालनको भौतिक संरचना निर्माण सक्ने गरी काम भइरहेको जानकारी दिए।

अबको मुख्य काम भनेको टर्मिनल भवनभित्र उपकरण जडान कार्य हो। यसका लागि विशेष प्राविधिक जनशक्ति आवश्यक हुन्छ। ‘गौतमबुद्ध विमानस्थलको करिब ९० प्रतिशत काम सकिएको छ, यतिखेर चिनियाँ कामदार आवतजावत गर्नुपर्ने अवस्थामा कोरोनाको त्रासले उनीहरु अड्किएका छन् आएका पनि केही क्वारेन्टाइनमा बसेकाले आयोजनाको काममा असर पर्ने देखिन्छ’, आयोजना प्रमुख अधिकारीले भने।

कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक उडान सञ्चालन गर्ने र हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न सहयोग पुग्ने प्राधिकरणको योजना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad