प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ।
बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी बैंकले एकीकृत कारोबारको औपचारिक घोषणा गरिएको हो।
गत असार २० गते प्राइमले कैलाशलाई प्राप्ति गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार कैलाश विकास बैंकलाई प्राइम कमर्सियल बैंकले १०० बराबर ९४ दरको स्वाप रेसियोमा प्राप्ति गरेको हो।
प्राइम र कैलाश गाभिएपछि बनेको प्राइम कमर्सियल बैंकको चुक्ता पुँजी करिब १४ अर्ब रुपैयाँ पुगेको छ भने पुँजीकोष करिब १९ अर्ब पुगेको छ।
एकीकृत कारोबारको औपचारिक सुरुवात गर्दै बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बैंकले आफ्नो पुँजी बढाई अझ विश्वासिलो र भरपर्दो सेवा प्रदान गर्नका लागि मर्जरलाई विशेष प्राथमिकतामा राखेको बताए। उनले कैलाश विकास बैंकलाई प्राप्ति गरेपछि बैंकको पोर्टफोलियो १ खर्ब ३० अर्बभन्दा बढी पुगेको जानकारी दिए।
मर्जपछि बैंकको शाखा १ सय ९९ पुगेको छ। त्यस्तै बैंकको निक्षेप १ खर्ब २८ अर्ब र कर्जा लगानी १ खर्ब १५ अर्ब पुगेको छ।

प्रतिक्रिया