नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तको नेतृत्वमा रोल्पाको लिबाङबाट प्रसिद्ध पर्यटकीय स्थल जलजलासम्मको पदयात्रा सुरु भएको छ।
उत्कृष्ट पर्यटकीय गन्तव्य जलजला क्षेत्रको प्रवर्धनका लागि ‘घुम्न जाऔँ जलजला’ नारासहित आवासीय पदमार्ग सुरु गरिएको हो। सोमबार सदरमुकाम लिवाङबाट हिँडेको करिब ५० जनाको टोली राति ओखरेनीमा बास बसेर मंगलबार अपराह्न जलजलाको टाकुरमा पुगेको छ।
टोलीमा नेता पुनसहित पूर्वसभामुख ओनसरी घर्ती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र पुन, रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र घर्ती थापासहित १० वटा पालिकाका प्रमुख र उपप्रमुख, जिल्ला समन्वय समिति रोल्पाकी प्रमुख सीता आचार्य, उपप्रमुख कर्मलाल परियार, प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझी प्रहरी प्रमुख डीएसपी भरत लामा, उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष केशव आचार्यसहित व्यवसायी, सञ्चारकर्मी, साहित्यकार, कलाकारलगायत छन्।
पदयात्राको व्यवस्थापन रोल्पा नगरपालिकाका साथै थबाङ र सुनछहरी गाउँपालिकाले गरेका हुन्।
पूर्वअर्थमन्त्री पुनले जलजलालाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तथा स्थानीय उत्पादन वृद्धि, बजार विस्तार र प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको बताए।
आफूहरूको पहलमा सरकारले गत वर्ष जलजलालाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा समावेश गरेको उल्लेख गर्दै उनले त्यसलाई स्थापित गर्न आवश्यक पूर्वाधार निर्माणका काम अघि बढिरहेको जानकारी दिए।
‘सांस्कृतिक सम्पदाको सम्वर्द्धन, स्थानीय उत्पादन वृद्धि, बजार व्यवस्थापन र पर्यटकीय क्षेत्रका रूपमा जलजलाको विकासका लागि पदयात्राले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरेको छु’, पुनले भने।
मंगलबार साँझ जलजलामा विशेष सांस्कृतिक साँझ आयोजना गरिएको छ। कार्यक्रममा गीत र नृत्यका साथै कविता, गजल र हाइकु प्रस्तुत हुने पुनले बताए।
यसअघि पदयात्राको पहिलो दिन सोमबार साँझ ओखरेनीमा पनि त्यस्तै कार्यक्रम भएको जानकारी उनले दिए। पदयात्रा बुधबार थबाङ पुगेर समापन हुनेछ।
जलजलामा के छ?
जलजला पहाड समुद्र सतहबाट करिब ३ हजार ६ सय मिटरको उचाइमा अवस्थित रमणीय स्थल हो। जलजला थबाङ नगरपालिका, सुनछहरी गाउँपालिका र रोल्पा नगरपालिकाको संगमस्थल हो। झट्ट हेर्दा यो तीनै पालिकाको टोपी आकारमा छ।
जलजला पुग्नेलाई अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरी, नीलगिरि र पुथाजस्ता हिमालको मनोरम दृश्यले लोभ्याउने गरेको छ। उचाइमा भएका कारण मौसम खुलेका बेला जिल्लाको अधिकांश भूभाग देख्न सकिन्छ।
जलजला लोपोन्मुख रेड पान्डाको बासस्थानका रूपमा पनि परिचित छ। जलजलामा चितुवा, भालु, बँदेल, हरिण, घोरल, थार र रतुवाजस्ता जंगली जनावरका साथै डाँफे, मुनाल, कालिज, प्युरासहित सयौँ प्रकारका चराचुरुङ्गी पाइन्छ। यस्तै १४ प्रजातिका लालीगुराँस फुलेर हिउँदमा जलजला दुलहीझैँ सिँगारिएको हुन्छ। लोपोन्मुख सेतो लालीगुराँस पनि यहाँ पाइन्छ।
जलजला पाँचऔँले, जटामसी, चिराइतो, सुनगाभा, सुगन्धवाल, दालचिनी, सुनाखरी, पदमचाल, बोजो, कचुर, पुदिना, टिमुरजस्ता बहुमूल्य जडीबुटीको प्राकृतिक भण्डार पनि हो।
पछिल्लो समय हिउँ पर्ने समयमा हिउँसँग खेल्न पनि मानिसहरू जाने गरेका छन्। यस्तै त्यहाँको दलदले जमिनमा टेक्न पाउँदा मानिसहरू धेरै रमाउँछन्।
४७ हेक्टर क्षेत्रफलमा फैलिएको जलजलामा घाँसे मैदान पनि छ। जलजलालाई यसअघि ‘गामा’ भनिन्थ्यो। मगर खाम भाषामा गामाको अर्थ ‘अग्लो लेकको बुकी पाटन’ भन्ने हुन्छ। आजभोलि ‘गोङ’ पनि भन्ने गरिएको छ।
जलजलामा भामा गुफा र बराह मन्दिर आकर्षणका रूपमा छन्। यहाँ बराहका तीनवटा मन्दिर छन्। ती मन्दिरलाई कैलु बराह, बजु बराह र सहदे बराहका नामले चिन्ने गरिएको छ।
जसलाई बराहको उत्पत्तिस्थलसमेत मानिन्छ। मगर खामभाषाबाट जलजलालाई गोङ भनिन्छ।
रुकुम, सल्यान, दाङ, प्युठान, र सुर्खेत छिमेकी जिल्लाहरूबाट मानिसहरू धार्मिक उद्देश्यले त्यहाँ पुग्ने गर्दछन्।
वैशाख पूर्णिमा, जेठ पूर्णिमा र श्रावण पूर्णिमा गरी वर्षमा तीनपटक बराहमा मेला लाग्ने गर्दछ। मनोकांक्षा पूरा हुने, परिवार शान्ति र सन्तान प्राप्ति हुने विश्वासमा ती मेलामा भेडा र कुखुराको बली दिने चलन छ।
Shares

प्रतिक्रिया