कारोबार


केही दिनमा जाइकाको निर्णय आएपछि क्षतिग्रस्त बीपी राजमार्ग पुनःनिर्माण थाल्ने तयारी

केही दिनमा जाइकाको निर्णय आएपछि क्षतिग्रस्त बीपी राजमार्ग पुनःनिर्माण थाल्ने तयारी

बाढीले बीपी राजमार्ग बगाएको स्थानमा बनाइएको डाइभर्सन


राजकुमार पराजुली/रासस
कात्तिक ८, २०८१ बिहिबार १३:३४, काभ्रेपलाञ्चोक

गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गका विभिन्न खण्ड पुनःनिर्माणका लागि सडक डिभिजन, भक्तपुर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को निर्णय पर्खिरहेको छ। कार्यालयले केही दिनमै जाइकाको निर्णय आउने र आएलगत्तै पुनःनिर्माण थालिने जनाएको छ। 

बीपी राजमार्ग (धुलिखेल-सिन्धुली–बर्दिबास) अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्म अधिकांश सडक क्षतिग्रस्त अवस्थामा छ।

केन्द्रीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो राजमार्ग अहिले कतै एकतर्फी तथा कतै दुईतर्फी सवारीसाधन सञ्चालन भइरहेका छन्। 

उक्त राजमार्ग पुनःनिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुता युताकासँग शिष्टाचार भेट गरी सहयोगबारे छलफल गरेका थिए। 

“जाइकाको ‘रेस्पोन्स’को पर्खाइमा छौँ, एक/दुई दिनमा निर्णय आएपछि निर्माण थालिनेछ”, कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले भने, “पुनःनिर्माणका ढिला गर्ने पक्षमा छैनौँ, तत्कालै निर्माण थाल्नेगरी सरोकारवाला निकायसँग छलफल पनि सुरु भइसकेको छ।” 

उनका अनुसार प्रधानमन्त्री ओलीसँग राजमार्ग पुनःनिर्माणबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक/दुई दिनमै थप छलफल गर्ने योजना तय गरिएको छ। बाढीपहिरोका कारण असोज ११ गते रातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको उक्त राजमार्ग सडक विभाग, डिभिजन कार्यालय, राजमार्गअन्तर्गतका स्थानीय तह, नेपाली सेनालगायत सुरक्षाकर्मी तथा स्थानीयको निरन्तरको पहलमा असोज २५ गतेदेखि खुलाइएको हो। 

पछिल्लोपटक राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मङ्गलटारस्थित बोक्सीकुनामा ‘डाइभर्सन’ बनाएसँगै उक्त स्थानमा हाल एकतर्फी यातायात सञ्चालनमा ल्याइएको योगेशले जानकारी दिए। उनका अनुसार बाढीपहिरोले राजमार्गको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ र रोशी–७ को सीमास्थल चौकीडाँडामा करिब २०० मिटर राजमार्ग बगाएको स्थानमा पनि अस्थायी सडक बनाएर सवारीसाधन एकतर्फी सञ्चानल गराइएको छ। 

बाढीपहिरोले चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म क्षति पुर्‍याएपछि उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।

“राजमार्गका सडक, पुल र कल्भर्ट बगेको स्थानमा हाललाई सडक सञ्चालनार्थ अस्थायी संरचना निर्माण गरिएको हो”, योगेशले भने। उनका अनुसार धेरैजसो स्थानमा खोला फर्काएर तथा खोलाको बहाबलाई सोझ्याएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै अस्थायी सडक बनाइएको छ। 

कार्यालयका अनुसार रोशी खोलाको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म २१ किलोमिटर सडकखण्डको १४ स्थानमा करिब आठ किलोमिटर सडक क्षतिग्रस्त गराएको थियो। राजमार्गको कुल १६० किमीमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौँथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमि सडकका विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको कार्यालयले जनाएको छ। 

जाइकाद्वारा निर्मित उक्त राजमार्ग सडक निर्माण गर्दा प्रति किमी रु ३५ करोड लागत थियो। उक्त रकम हालको हिसाबमा रु ५० करोडभन्दा माथि पर्नेछ। क्षति पुगेको करिब दुई किमी सडक र अन्य स्थानमा भएको क्षतिको मूल्यांकन गर्दा रु दुई अर्बभन्दा माथिको क्षति गराएको प्रारम्भिक अनुमान गरिएको योगेशले बताए। 

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माण सुरु गरिएको थियो। खण्डखण्ड विभाजन गरी विसं २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। तत्कालीन अवस्थामा जापान सरकारको २६ बिलियन जापानी येन र नेपाल सरकारको एक दशमलव एक बिलियन (जापानी येन) लागतमा उक्त राजमार्ग निर्माण भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad