कारोबार


उत्तरका दुवै नाका ठप्प हुँदा एलसी खोलेका व्यवसायीले ल्याउन पाएनन् गाडी

कुन कम्पनीका कति गाडी रोकिए?
उत्तरका दुवै नाका ठप्प हुँदा एलसी खोलेका व्यवसायीले ल्याउन पाएनन् गाडी

वसन्त अर्याल
कात्तिक ७, २०८१ बुधबार १९:८, काठमाडौँ

एक महिनायता दुवै उत्तरी नाका बन्द हुँदा चिनियाँ गाडी आयात ठप्प भएको छ। दसैँ र तिहारलाई लक्षित गर्दै एलसी खोलेका व्यवसायीले सडक अवरुद्ध हुँदा गाडी ल्याउन नपाएका हुन्।

व्यवसायीहरूका अनुसार दुवै नाकामा एक हजार बढी गाडी रोकिएका छन्। रसुवागढी नाकामा चीनतर्फ सडक बिग्रिएको छ भने तातोपानी नाकामा असोज १२ को वर्षातले पुल नै बगाएको छ। 

तातोपानी प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले बेलिब्रिज नै बगाएकाले नाका बन्दजस्तै रहेको जानकारी दिए। 

‘बाढीले २ वटा बेलिब्रिज बगाएको छ। तत्काल बेलिब्रिज बनाउन सक्ने अवस्था नभएपछि कल्भर्ट राखेर सडक बनाइँदै छ’, भन्सार प्रमुख भट्टराईले नेपालखबरसँग भने, ‘२–३ दिनमा अस्थायी रुपमा गाडी हिँड्न सक्ने देखिन्छ। हिउँदभरमा पुल बनाए अर्को वर्षातमा समस्या हुँदैन।’

व्यवसायीहरुले बोर्डर छेउमा आएर रोकिएका फलफूललगायत कुहिनसक्ने वस्तु भरियालाई बोकाएरै ल्याएका थिए। दैनिक २ गाडीसम्म फलफूल बोकाएर लगेको भट्टराईको भनाइ छ।

रसुवागढी नाका

‘चीनतर्फ नै रोकिएका भन्सार हुन थुप्रै गाडी छन्। तर एकीन तथ्यांक भन्सार नआई भन्न सकिँदैन’, उनले भने, ‘त्यसबाहेक लत्ताकपडा, इलेक्ट्रोनिक्सका सामान रोकिएका छन्।’

उनले तिहारअघि नै गाडी र अन्य वस्तु तातोपानी नाकाबाट नियमित हुने बताए। 

त्यस्तै, रसुवा भन्सारका अधिकृत रविन्द्र प्रसाद प्याकुरेलले नेपालतर्फको सडक राम्रो भए पनि केरुङतर्फ खोलाले बगाएको छ। चिनियाँले खोलाबाटै वाल उठाएर सडक निर्माण गरिरहेको जानकारी आएको बताए। 

‘रसुवागढीबाट तिहारअघि गाडीसहितका वस्तु आयात हुने सम्भावना देखिँदैन’, प्याकुरेलले भने, ‘गाडीहरु केही समय होल्ड भएर आउँदा पनि खासै समस्या हुँदैन। अन्य वस्तुमा भने गिरावट आउँछ।’

सडक निर्माणमा काम गरिरहेकाले अझै २ हप्ता लाग्ने जानकारी चिनियाँ पक्षले गराएका छन्। 

दसैँमा गाडी रोकिँदा आयात नै ४.१७ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ। 

‘दसैँको समयमै आयात ४.१७ प्रतिशतले घट्नुमा गाडी आयात रोकिनु एक कारण हो’, विभागका उपमहानिर्देशक जनकराज शर्माले भने, ‘समग्रमा पेट्रोल डिजेल र औद्योगिक कच्चा पदार्थको आयात समेत घटेको देखिन्छ।’

बाटो बन्द हुँदा पनि २५ सय बढी गाडी
चालू आर्थिक वर्षको ३ महिनामा कुल २५ सय १६ गाडी आयात भएका छन्। 

गत वर्ष नाका सहज हुँदा पनि २१ सय ३५ विद्युतीय गाडी भित्रिएका थिए। 

५० किलोवाटसम्मका विद्युतीय गाडी ७७२ छन्। जसमा चीनबाट ३९९ र भारतबाट ३७३ आयात भएका छन्। 

५१ देखि १०० किलोवाटसम्मका १५ सय ८२ भित्रिँदा चीनबाट १२ सय ८ र भारतबाट ३७४ गाडी आएको भन्सार विभागले उल्लेख गरेको छ। 

१०१ देखि २०० किलोवाटसम्म १५९ गाडीमा चीनबाट १५४, जर्मनीबाट ४ र अमेरिकाबाट एउटा गाडी भित्रिएको छ। त्यसमाथिका ५ वटा गाडी मात्र आयात भएको भन्सार विभागले उल्लेख गरेको छ। 

त्यसबाहेक ११ सिटमाथिका विद्युतीय माइक्रो ४३९ वटा भित्रिएका छन्। गत वर्ष १२५ मात्रै विद्युतीय माइक्रो भित्रिएका थिए। 

तातोपानी नाका

कुन कम्पनीका कति गाडी रोकिए?
कतिपय व्यवसायीले दुवै उत्तरी नाका बन्द हुँदा गाडी ल्याउन नपाएको बताएका छन्। नेपालमा चिनियाँ ब्रान्डको सबैभन्दा बढी बीवाईडीले बिक्री गर्दै आएको छ। उत्तरी नाकाबाटै गाडी ल्याउँदै आएको छ। नाका अवरोध हुँदा करिब ६०० बढी गाडी रोकिएको आयातकर्ता साइमेक्स इंकले जानकारी दिएको छ।

‘नाका नै बन्द भएको अवस्थामा बुकिङको गाडी डेलिभरी गर्न सकेका छैनौँ। तर प्राकृतिक विपत्तिको कारणले बाटो बन्द भएकाले ग्राहकको प्रेसर धेरै छैन’, साइमेक्स इंककी प्रबन्धनिर्देशक यमुना श्रेष्ठले भनिन्, ‘नाका खुल्नेबित्तिकै हाम्रा ६०० बढी गाडी भित्रिन्छन्।’

चिनियाँ ब्रान्ड ओमोडा, जेको, जिकर नेपालमा सारडा ग्रुपले बिक्री गर्दै आएको छ। ओमोडाका गाडी दसैँअघि नै आयात भएकाले बोर्डरमा रोकिएका छैनन् भने जेकोको करिब ५० युनिट गाडी रोकिएका छन्। 

‘हामीले सुरुको १०० गाडीमा छुट दिने घोषणा गरेका थियौँ तर गाडी ल्याउन नसक्दा पूरा गर्न सकेनौँ’, कम्पनीका बजार अधिकृतले भने, ‘अब नाका खुलेपछि ५० गाडी ल्याएर डेलिभर गर्ने योजना छ।’

नेपालमा एक दर्जन चिनियाँ ब्रान्ड होल्ड गर्ने सीजी मोटर्सले बाढी आएपछि नाकामा भएका गाडी छुटाए पनि चीनतर्फ नै भएका गाडी ल्याउन नसकिएको जानकारी दिएको छ। 

‘बुकिङअनुसारको डेलिभरी दिन बाटोको कारण गाडी ल्याउन पाएका छैनौँ’, सीजी मोटर्सका बजार प्रमुख किरण आचार्यले भने, ‘बोर्डरमा भएका गाडी ल्याएर डेलिभरी गरिसक्यौँ। केही आउनै बाँकी छ।’

सीजी मोटर्सले नेटा, आयन, एक्स्पेङ, अवतार, केवाईसी, किङलङ लगायतका ब्रान्ड आयात गरी बिक्रीवितरण गरिरहेको छ।  

पछिल्लो समय काठमाडौंका सडकमा देखिन थालेको डिप्पलको भने अहिले पनि डेलिभरी भइरहेको छ। सडक बिग्रिनुअघि नै कम्पनीले गाडी भित्र्याएको हुँदा चाडपर्वमा अर्डर गरेका गाडी डेलिभरीमा कुनै समस्या नभएको जनाएको छ।

एमएडब्लु वृद्धिले डिप्पलसहित सेरेस, नामी लगायतका ब्रान्डको बिक्री वितरण गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad