कारोबार


दसैँपछि बढेको सेयरबजार अब कता?

यस्ता छन् साताका सर्किट ब्रेकर कम्पनीहरू
दसैँपछि बढेको सेयरबजार अब कता?

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार १३:५७, काठमाडौँ

चाडबाडको समयमा प्रायःजसो सेयरबजार घट्ने गर्छ। यसअघिका वर्षहरूमा पनि चाडपर्व सुरु हुनासाथ बजारमा कारोबारसँगै सूचक पनि तल झर्ने गर्थ्यो। 

तर यो पटक बजारको माहोल भने दसैँअगाडि र पछाडि फरक देखियो। दसैँअगाडि नै केही दिन निरन्तर नेप्से बढेर हरियाली छाउँदै बन्द भएको बजार दसैँपछि पनि उस्तै हरियाली बनेको हो। 

दसैँपछि बजार खुलेको पहिलो साताभर नेप्से सूचक बढेर बजार हरियाली नै बनिरह्यो। 

यो साता ३ दिन मात्रै खुलेको बजारमा तीनै दिन नै नेप्से उकालो लाग्यो। पहिलो दिन मंगलबार बजारमा लगानीकर्ताको उपस्थिति निकै कम देखिए पनि उपस्थित लगानीकर्ताले सेयर खरिदलाई बढाए। फलतः नेप्से सूचक ३१.४८ अंक, दोस्रो दिन बुधबार ४३.२२ अंक र तेस्रो दिन बिहीबार २.४७ अंकले बढ्न पुग्यो। जसमा मंगलबार ३ अर्ब २ करोड, बुधबार ५ अर्ब ४९ करोड र बिहीबार ७ अर्ब १९ करोड रुपैयाँ सेयर कारोबार भयो। 

हप्ता दिन बन्द भएर खुलेको बजारमा पहिलो दुई दिन कारोबारले खासै लय नसमाते पनि अन्तिम दिन बजारमा देखिएको लगानीकर्ताको उपस्थितिले भने बजारमा दसैँ सकिएको अनुभूति गराएको छ। बिहीबार ७ अर्बको कारोबार हुनुले लगानीकर्ताहरू चाडबाड सकिएसँगै पुनः बजारमा फर्किन थालेको जनाउ दिन्छ।

समग्रमा यो साता नेप्से ८० अंकले बढ्दा लगानीकर्ताले तीन दिनमै १५ अर्ब ४० करोड रुपैयाँको सेयर कारोबार गरेका छन्। 

कारोबारमा भने अन्य दिनभन्दा अन्तिम दिन उत्साह बढी देखियो। बिहीबार दिनभरजसो धरमरमा रहेका लगानीकर्ताले अन्तिम समयमा पुनः खरिदलाई प्राथमिकता दिए। उनीहरूले सो दिन ७ अर्बमाथिको कारोबार गरेका थिए। 

यो साताभर नै बजारप्रति लगानीकर्ताको मनोविज्ञान बलियो देखिएकाले आउँदो साता पनि बजारले उकालो यात्रा समात्न सक्ने आकलन गर्न सकिन्छ। 

यसअघि बजारमा नेप्सेले २६४३ अंकमा ‘सपोर्ट’ पाएर उकालो लागेको थियो। २६४३ पछि उकालो लागेको बजारमा २७६६ तिर नेप्सेले ‘करेक्सन’ लिने लगानीकर्ताको आकलन थियो। सोहीअनुसार नेप्से पनि २४८० मा पुगेर ‘करेक्सन’ हुँदै २७३४ मा ओर्लियो। 

तर अन्तिममा खरिद चाप पुनः देखिन थालेपछि झिनो अंकको वृद्धिसहित नेप्से २०४५मा आएर रोकिन पुग्यो। यसले लगानीकर्ताको अनुमानअनुसार सानो ‘करेक्सन’सहित बजार पुनः उकालो यात्रामा लाग्ने देखाउँछ। 

यस्ता छन् साताका सर्किट ब्रेकर कम्पनीहरू 
मंगलबार जानकी फाइनान्स र मिथिला लघुवित्त कम्पनी ‘सर्किट ब्रेकर’ बने। यी कम्पनीहरूको सेयरमूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेकर बनेका थिए भने सो दिन मल्टी पर्पस फाइनान्स पनि ९.३२ प्रतिशतको वृद्धिसहित सर्किटनजिक पुग्यो।

यो दिन कुनै पनि कम्पनी ‘नेगेटिभ सर्किट ब्रेकर’ भएनन्। 

यस्तै बुधबार सर्किट स्तरमै मूल्य बढे पनि कुनै पनि कम्पनी ‘सर्किट ब्रेकर’ भने बन्न सकेनन्। यो दिन विजय लघुवित्त, इस्टर्न हाइड्रोपावर ९ प्रतिशतको वृद्धिसहित सर्किट लेभलमा पुगे पनि ब्रेकर भने बन्न सकेनन्। 

यो दिन अपर स्यांगे हाइड्रोपावर ‘नेगेटिभ सर्किट ब्रेकर’ बन्यो। 

बिहीबार भने बजारमा मध्यमखालको घटबढ देखियो। जसले गर्दा यो दिन सर्किट ब्रेकर कुनै पनि कम्पनी बनेनन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad