कारोबार


राष्ट्र बैंकको तथ्यांकले देखायो बजार चलायमान हुने संकेत, हेर्नुहोस् अर्थतन्त्रका यी ७ सूचक

समग्र आयात बढ्दा भारतसँगको व्यापार घट्यो, चीनसँग बढ्यो
राष्ट्र बैंकको तथ्यांकले देखायो बजार चलायमान हुने संकेत, हेर्नुहोस् अर्थतन्त्रका यी ७ सूचक

निर्यात घटे पनि आयात उल्लेख्य बढेका कारण खपत बढाई बजारलाई चलायमान बनाउने संकेत गरेको छ। फाइल तस्बिर


नेपालखबर
असोज २९, २०८१ मंगलबार १९:१९, काठमाडौँ

चालू आर्थिक वर्षका दुई महिनामा अर्थतन्त्रका अधिकांश सूचक सुधारिएका छन्। अर्थतन्त्रमा सुस्तता कायमै रहे पनि सरकारको चालु खाता ४९ अर्ब माथि छ भने शोधानान्तर स्थितिमा पनि उल्लेख्य सुधार देखिएको छ। 

साउन र भदौ महिनामा महँगीको जनाउ दिने उपभोक्ता मुद्रास्फीति घटेर ३.८५ प्रतिशतमा आइपुगेको छ। यस्तै गत वर्षको दुई महिनाको तुलनामा यो वर्षको भदौ महिनासम्म आयात बढ्दा निर्यात भने घटेको छ। विदेशी मुद्राको प्रमुख स्रोत रहेको रेमिट्यान्स १५ प्रतिशतले बढेको छ।

यस अवधिमा शोधानान्तर स्थिति एक खर्ब माथिको बचतमा रहँदा सरकारसँग १३ महिनाको वस्तु तथा सेवाको आयात धान्ने गरी वैदेशिक सञ्चिति २१ खर्ब बढी पुगेको छ। सरकारको खर्च पनि ४.९ प्रतिशतले बढेको छ भने बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाहमा उल्लेख्य वृद्धि देखिएको छ।

कुन सूचकको अवस्था कस्तो छ? 
महँगीको वृद्धिदर घट्यो 

भदौ महिनामा उपभोक्ता मुद्रास्फीति घटेको छ। अर्थात्, गत वर्ष जुन दरमा महँगी बढेको थियो, यसपालि त्योभन्दा कम दरले बढेको छ।

२०८१ भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशतमा ओर्लिएको राष्ट्र बैंकको तथ्यांकमा छ। अघिल्लो वर्षको सोही महिनामा यो अंक ८.१९ थियो।

राष्ट्र बैंकका अनुसार भदौ महिनासम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति घटेर ५.०३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशतमा ओर्लिँदा दाल तथा गेडागुडी १०.८० प्रतिशत, तरकारीको ९.८४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३४ प्रतिशत र फलफूलको ४.९४ प्रतिशतले मूल्य बढेको देखिएको हो। 

आयात बढ्दा सकिएन निर्यात बढाउन 
यो दुई महिनामा आयात बढ्दा निर्यात भने बढाउन नसकिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। साउन र भदौ महिनामा वस्तु आयात १.१ प्रतिशतले बढेको छ भने निर्यात ५.१ प्रतिशतले घटेको छ। राष्ट्र बैंकका अनुसार यस अवधिमा २ खर्ब ६२ अर्ब रुपैयाँको वस्तु तथा सेवा नेपालले आयात गर्दा नेपालबाट भने २५ अर्ब रुपैयाँ बराबरको मात्रै वस्तु तथा सेवा निर्यात भएको हो। 

यस अवधिमा नेपालबाट वस्तु निर्यात हुने देशहरु भारत, चीन र अन्य मुलुकहरुमा अपेक्षित वस्तु तथा सेवा निर्यात भएन। गत वर्षको दुई महिनाको तुलनामा चालु आवका दुई महिनामा भारततर्फको निर्यात ४.५ प्रतिशत, चीनतर्फ ४५.३ प्रतिशत र अन्य मुलुकमा ३.९ प्रतिशतले कमी आएको छ। 

निर्यात घटे पनि आयात उल्लेख्य बढेका कारण यसले खपत बढाई बजारलाई चलायमान बनाउने संकेत गरेको छ। रोचक त के छ भने वैदेशिक व्यापारको मुख्य साझेदार मुलुक भारतबाट हुने आयातमा ०.१ प्रतिशतले घटेको छ भने चीनबाट ११.९ प्रतिशतले बढेको छ। 
अर्थतन्त्र चलायमान बन्न नसक्दा थुप्रियो विदेशी मुद्रा 

चालु आवको दुई महिनामा वस्तु तथा सेवा आयात गर्ने क्षमतामा वृद्धि भएको छ। यी दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिन्छ। 

राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म वैदेशिक मुद्रा सञ्चिति ५.५ प्रतिशतले बढेर २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँबराबर पुगेको छ। यसले १६ महिना ८ दिनको वस्तु आयात धान्न सक्नेछ। गत असारमा २० खर्ब ४१ करोड १० अर्ब रुपैयाँ बराबरको सञ्चिति रहेकोमा भदौ महिनामा बढेर २१ खर्बमाथि पुगेको हो। 

चाडबाडले बढायो रेमिट्यान्स 
चालु आवको दुई महिनामा नेपाल भित्रिने रेमिट्यान्समा १५.२ प्रतिशतले बढेको छ। साउन र भदौ महिनामा विदेशमा रहेका नेपालीले २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ स्वदेश पठाएको राष्ट्र बैंकको तथ्यांकमा देखिएको छ। 

दसैँ, तिहारलगायतका मुख्य चाडबाडका कारण विदेशमा रहेका नेपालीले आफ्नो परिवारका लागि पठाउने रकम उल्लेख्य बढेको अनुमान गरिएको छ।  

अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम १८.७ प्रतिशतले बढेको थियो। 

अमेरिकी डलरमा हेर्दा यस वर्षका दुई महिनामा १ अर्ब ९६ करोड रेमिट्यान्स भित्रिएको छ। गत वर्ष १ अर्ब ७३ करोड डलर भित्रिएको थियो।

यस्तै यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढेर २ खर्ब ८६ अर्ब ४५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ५१ अर्ब ६५ करोड रहेको थियो।

त्यसो त रेमिट्यान्सको स्रोत वैदेशिक रोजगारीमा जानेको संख्यामा पनि यो दुई महिनामा उल्लेख्य बढेको छ। 

भदौ महिनाको मसान्तसम्मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७६ हजार ४ सय ८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५ सय ८३ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४ हजार ४ सय ५५ र ३२ हजार ४ थियो। 

चालु खाता र शोधानान्तर स्थिति दुवै बचतमा 
यो दुई महिनामा सरकारको चालु खाता र शोधानान्तर स्थिति दुवै बचतमा छन्। जसमा चालु खाता ४९ अर्ब ६९ करोडले बचतमा छ भने शोधानान्तर स्थिति १ खर्ब १ अर्ब बचतमा रहेको छ। 

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २३ अर्ब ९७ करोडले बचतमा थियो। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति पनि ५५ अर्ब १० करोडले बचतमा थियो।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब २० करोड कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) २ अर्ब ७१ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर ८५ करोड ८ लाख थियो भने प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब आएको थियो।

सकारकारको खर्च र राजस्व दुवै बढ्यो
महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१-८२ को दुई महिनामा नेपाल सरकारको कुल खर्च १ खर्ब ३७ अर्ब ५५ करोड रहेको छ। गत आवको सोही अवधिमा यस्तो खर्च १ अर्ब ३१ अर्ब थियो। यस हिसाबले दुई महिनामा सरकारले ४.९ प्रतिशतले बढी खर्च गरेको देखिन्छ।

सरकारले चालु खर्च ८२ अर्ब ९९ करोड गरेको छ। यो रकम तलबभत्ता, सुविधा एवं प्रशासनिक खर्च हो। विकास निर्माणमा परिचालन हुने पुँजीगत खर्च १४ अर्ब ८९ करोड देखिएको छ। सरकारले दुई महिनामा ऋण तथा ब्याज तिर्न ३९ अर्ब ६७ करोड खर्च गरेको छ। 

यता सोही अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) भने १ खर्ब ६६ अर्ब ३९ करोड पुगेको छ। गत वर्ष १ खर्ब ४१ अर्ब रुपैयाँ परिचालन भएको थियो। 

१.४ प्रतिशतले बढ्यो कर्जा प्रवाह 
ब्याजदर घटेपछि बैंक तथा वित्तीय संस्थाहरुबाट जाने कर्जा बढ्न थालेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दुई महिनाको देशको आर्थिक तथा वित्तीय विवरणमा बैंक तथा वित्तीय संस्थाहरुले चालु आवको दुई महिनामा कर्जा प्रवाहलाई १.४ प्रतिशतले बढाएको उल्लेख गरेको हो। 

राष्ट्र बैंकका अनुसार यो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७३ अर्ब ३९ करोड अर्थात् १.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३३ अर्ब ६० करोड प्रवाह भएको थियो, जुन ०.७ प्रतिशतको वृद्धि थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad