कारोबार


दाना–कुश्मा प्रसारणलाइन वैशाखभित्रै सञ्चालनमा आउने

दाना–कुश्मा प्रसारणलाइन वैशाखभित्रै सञ्चालनमा आउने

नेपालखबर
फागुन २७, २०७६ मंगलबार १०:५६,

कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइनअन्तर्गत म्याग्दीको दानाबाट पर्वतको कुश्मासम्मको खण्ड आगामी वैशाखभित्रमा संचालनमा आउने (चार्ज) हुने भएको छ। ३९ किलोमिटर दाना–कुश्मा २२० केभी प्रसारणलाइन तथा दाना र कुश्मास्थित खुर्कोटमा २२०/१३२ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ।

प्रसारण लाइन र सबस्टेसन वैशाखभित्र चार्ज गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ। दाना–कुश्मा खण्डमा पर्ने १ सय १० टावरमध्ये २ वटा मात्रै खडा गर्न बाँकी छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरीबगरमा स्थानीयको अवरोधले २ वटा टावर खडा गर्न रोकिएको काम अहिले सहमति जुटेपछि धमाधम भइरहेको छ।

पोखरीबगर र कुुश्मा नगरपालिकाको पाँगामा गरी करिब २ किलोमिटर मात्रै तार टाँग्न बाँकी छ। दुवै सबस्टेसनमा उपकरणहरु जडान भइसकेका छन्।

यही प्रसारण लाइनमा निजी क्षेत्रका लगानीकर्ताहरुले निर्माण म्याग्दीमा निर्माण गरिरहेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजनाको विद्युत् जोडिने छ। निर्माणको अन्तिम चरणमा रहेको आयोजनाको विद्युत् दाना सबस्टेसनमा जोडिनेछ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालसहितको टोलीले सोमबार प्रसारण लाइन, सबस्टेसन र जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको छ।

टोलीले प्रसारण लाइन निर्माणमा पोखरीबगर र कुश्मामा हुनसक्ने सम्भावित अवरोध हटाउन आवश्यक व्यवस्था गरिदिन म्याग्दी र पर्वतका प्रमुख जिल्ला अधिकारीहरुलाई अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारीहरुले राष्ट्रिय महत्वको आयोजनाको टावर रहने जग्गाको मुआब्जा, लाइनको दायाँबायाँको क्षतिपूर्ति निर्धारण र निर्माण सम्पन्न गर्न आवश्यक परेमा सुरक्षा व्यवस्था उपलब्ध गराउने प्रतिबद्धता जनाए।

टोलीले निर्माणमा खटिएका आयोजना व्यवस्थापन र ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेड, भारतसँग छलफल गरी निर्माणमा देखिएका समस्या, सबस्टेसन तथा लाइन चार्ज गर्ने मितिलगायतका विषयमा छलफल गरी वैशाखभित्रमा काम सक्न निर्देशन दिएको छ।

‘लाइन र सबस्टेसन तत्काल चार्ज गर्न सकेनौं भने मिस्त्री खोलाको विद्युत् जोड्न नसकी खेर फाल्नुपर्ने अवस्था छ, त्यस्तो अवस्था आउन नदिन सबै पक्ष गम्भीर र जिम्मेवार भएर बाँकी काम जतिसक्दो छिट्टै सम्पन्न गर्नु पर्ने छ, विद्युत खेर फालेर पेनाल्टी तिर्नु पर्ने अवस्था आएमा यसको मूल्य ठेकेदार कम्पनीले तिर्नु पर्ने छ,’ घिसिङले निर्देशन दिंदै भने, ‘केही ठाँउमा निर्माणमा भइरहेको अवरोध हटाएर काम गर्न साइट उपलब्ध उराउँछौं, ठेकेदार कम्पनी निर्माणमा गम्भीर भएर लाग्नुपर्यो।’ ठेकेदार कम्पनीले वैशाखभित्रमा लाइन तथा सबस्टेसन चार्ज गर्ने प्रतिबद्धता जनाएको छ।

मिस्त्री खोला जलविद्युत आयोजनाको विद्युत गृहमा केही उपकरणहरुको जडान, संरचना र उपकरणहरुको ड्राइ तथा वेट टेष्ट बाँकी नै रहेकाले अझै विद्युत् उत्पादन गर्न कम्तीमा पनि दुई महिना लाग्ने उल्लेख गर्दै उनले त्यतिवेलासम्ममा प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आइसक्ने बताए।

‘अब प्रसारण लाइन पूर्वाधार तयार भइसकेकाले त्यहाँ विद्युत् जडान गर्ने गरी विद्युत् खरिद बिक्री सम्झौता गरेका आयोजनाहरुले पनि निर्माण तत्काल सुरु गर्नुपर्छ’, घिसिङले भने।

कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो।

करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भुमही (न्यू बुटवल सबस्टेसन)सम्मको प्रसारणलाइनको निर्माण पनि भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad