कारोबार


डाक्टर बन्न काठमाडौँ छिरेका अधिकारी जेठो बैंकको मुटु छाम्दै

डाक्टर बन्न काठमाडौँ छिरेका अधिकारी जेठो बैंकको मुटु छाम्दै

रमेश लम्साल
फागुन २७, २०७६ मंगलबार १०:५१,

सानोमा इच्छा डाक्टर बन्ने थियो। प्रवेशिका परीक्षा उत्र्तीण गरे पनि बाल वयको सपना पूरागर्न पाटन संयुक्त क्याम्पसमा विज्ञान विषयमा भर्नाको प्रक्रिया पनि अगाडि बढाए। तर जसलाई क्याम्पस भर्ना गरिदिन भनेका थिए, उनले गरिदिएनन्। सात दिन बायोलोजी पढे पनि डाक्टर बन्ने सपनाको त्यसवर्ष पूर्णविराम लाग्यो।

‘सपनाको खुडकिलो उक्लिने आधार नबनेपछि कर्मस पढ्न म पिपल्स क्याम्पस हान्निएँ। नियतीले नै पर हुत्यादिएजस्तो लाग्यो। अब मेरा लागि अर्को एउटा सपना थियो जुन, विपनामै साकार भएर आएको रहेछ। शंकरदेवबाट विकम (वाणिज्य शास्त्रमा स्नातक) उतीण गरेपछि गाँउकै सेवामा फर्किएँ।’

नेपाल बैंकको प्रधान कार्यालय भूगोलपार्कको चौथो तल्लामा रासससँग आफ्नो जीवन, अध्ययन तथा ‘करियर’का बारेमा खुलेर प्रस्तुत भए कृष्ण अधिकारी। कुनै समय पार नै लगाउन नसकिने गरी अनगिन्ती समस्यामा जेलिएको नेपाल बैंक कसरी चक्रव्यूहबाट बाहिर निस्क्यो र अहिले अरु वाणिज्य बैंकजस्तै सफल बैंकको रुपमा स्थापित हुँदै गएको छ भन्ने कुरोको चुरो हामीलाई खोले। एमबीए उतीर्ण अधिकारीले १५ वर्ष पुग्यो नेपाल बैंकका सेवा गरेको।

डाक्टर बन्न काठमाडौँको खाल्डोमा पसेका अधिकारीलाई बैंकर बनाउने अवसर लिएर आयो २०६१ साल। बैंकमा रोजगारीको अवसर खुलेको रहेछ। छैटाैं तहमा। परीक्षा दिउँ, मान्छेहरुले त नेपाल बैंकमा भनसुन पनि चल्छ भन्थे, तर मेरो हकमा भनिदिने त कोही थिएन। तर, ढुंगाको काप फोरेर पिपल उम्रिएझैँ उनी उतीर्ण भए। बैंक प्रवेशको समय सम्झँदै अधिकारीले भने ‘बैंकको काठमाडौं बैंकिङ कार्यालयमा म छैटौँ तहमा प्रवेश गरेँ। त्यहाँ टे«ड फाइनान्स डिपार्टमेन्टमा म ग्यारेन्टी हेर्थेँ।’

करिब ६ वर्ष सोही विभागका काम गरे अधिकारीले। आन्तरिक प्रतिस्पर्धाबाट सातौँ तहमा पुग्न पनि कुनै समस्या भएन। तर, सातौँ र नवौँ तहको परीक्षा करिब सँगसँगै भएकोले अधिकारीले छैटाैं तहबाट एकैपटक जसो नवौँ तहमा पुगे।

नवौँ तहमा पुगेपछि वीरगञ्ज जस्तो औद्योगिक करिडोरमा रहेको बैंकको वीरगञ्ज सिटी अफिसको ब्रान्च मेनेजरको रुपमा काम गर्ने अवसर पाएको सगौरव बताउँछन् अधिकारी। पुनः काठमाडौँ बैंकिङ असफिमा टे«जरी, क्रेडिट हुँदै पुनः शुरुको कार्यालयको प्रमुख भएर बैंकिङ क्षेत्रमा घनघस्याको उकालो चढेका अधिकारी एसीओ, डीसीओ गरी १४ वर्ष १० महिना नियमित कर्मचारीको रुपमा नेपाल बैंकको सेवा गरे। कायममुकाय र पूर्णकालीन प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेको एक वर्षमात्रै हुन लाग्यो।

कुनै समय नराम्ररी समसयमा फसेको सरकारी लगानीको बैंकलाई नयाँ गति दिने र अरु वाणिज्य बैंक भन्दा सबल र सक्षम बनाउने ध्येय राखेको र सोही अनुसारको गतिविधि समेत अगाडि बढाएको बताउने अधिकारी भन्छन्, ‘सफल बन्ने हो भने लोभ नगरौँ, मेहनत गरौँ, एक दिन सफलताको मीठो स्वाद चाख्न पाइन्छ।’

सरकारले खोलौँ बैंक खाता अभियान शुरु गरेको करिब एक वर्ष हुन लाग्यो। अरु बैंकले भन्दा यस बैंकले केही नयाँ दिमाग लगायो। स्थानीय तह र जनप्रतिनिधिसँग मिलेर अभियान चलायो। शुक्रबार र शनिबार विशेषगरी विदाको समयमा स्थानीय तहले नै संयोजन गरेर मानिसहरु भेला गर्न थालियो। खाता खोल्न भनेर प्रत्यक्ष भनिएन, तर वित्तीय साक्षरता बढाउने प्रयास गरियो। स्थानीय जनप्रतिनिधि पनि खुसी भए। हाम्रै लागि बैंक आयो भन्ने ठाने।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको राष्ट्रिय सभागृहबाट अभियान शुरु गरेको भोलिपल्ट देखि नै नेपाल बैंकले त्यस्तै अभियान चलायो। नयाँ वर्षको अवसर पारेर २०७६ साल वैशाख १ गतेदेखि सो अभियान शुरु भएको हो। प्रमुख कार्यकारी अधिकृत अधिकारी भन्छन्, ‘अरुहरुले भन्दा हामीले नयाँ तरिकाले स्थानीय तहमा जाँदा त्यसले दिएको खुसी शब्दमा नै व्यक्त गर्न नसकिने खालको छ।’

उनी भन्छन्, ‘हामीले शाखा कार्यालयहरुलाई भन्याैं, शुरुमै खाता खोल्नुस् भन्दै नजानुस, वित्तीय साक्षरताका कार्यक्रम बनाउनुस, बैंकले कस्तो सुविधा दिन्छ, खाता खोल्दाको फाइदा के हुन्छ भनेर बुझाउनु, स्थानीय नागरिक आफैँ खाता खोल्न तयार भइहाल्छन्।’

सोही अभियान चलाएपछि मात्रै ५५ देखि ६० हजार नयाँ खाता खुलेका छन्। करिब रु ५० करोडको हाराहारीमा निक्षेप जम्मा भएको छ। सफल कार्यक्रमको रुपमा देखिएको छ। राज्यले पनि बैंक खातालाई एक खालको अनिवार्य जस्तै गरेको छ।

सरकारी सुविधा खाता मार्फत जाने भएकाले पनि सहज भएको छ। दूरदराजमा बैंकिङ पुगेको छ। नेपाल राष्ट्र बैंककै तथ्यांकअनुसार ६१ प्रतिशत क्षेत्रमा बैंकको सेवा पुगेको छ। त्यसमा सहकारीको हिस्सा जोडिएको छैन।

सबै नेपालीको बैंक खाता हुनैपर्छ। देशको जनसंख्या तीन करोडको हाराहारीमा पुगेको छ। त्यसमा खाता खोल्न योग्य व्यक्ति कति हुन् भन्ने बारेमा स्पष्ट पहिचान गर्नु जरुरी छ। अभियान नियमित रुपमा नै चलाउनुपर्छ। त्यसले नागरिक र बैंकबीचको सम्बन्ध स्थापित हुँदै जान्छ। त्यसले पनि बैंकको क्षेत्र थप विस्तार हुँदै जान्छ।

सशस्त्र द्वन्द्व अघि नेपाल बैंक देशभर नै पुगेको थियो। शाखा सङ्ख्या मात्र २१४ थिए। त्यो घट्दै ९६ मा सिमित भयो। शान्ति प्रक्रियापछि शाखा सङ्ख्या बढ्दै पुनः हाल १७७ मा पुगेको छ। पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको अवसर पारेर सक्रान्ति बजारमा शाखा पुनस्र्थापना गरिएको छ। पहिलेकै अवस्थामा पुग्न अझै ३७ शाखा विस्तार गर्न बाँकी छ।

अधिकारीले भने, ‘चालु आवको अन्त्यसम्म २०० शाखा पु¥याउने योजना छ। सम्भाव्यता भएका सबै क्षेत्रमा हामी पुग्छौँ। हामी सरकारी बैंक भएकाले पनि नागरिकलाई सरल र सहज बैंकिङ सेवा पु¥याउने हाम्रो दायित्व हो।’ विगतमा केही व्यवसाय नभएर पनि शाखा विस्थापित भए, केही असुरक्षाका कारणले पनि हटे।

नयाँ योजना सुनाउँदै अधिकारीले सुनाए, ‘यस वर्ष हामी प्रदेश नं १ को रविबजार, वसन्तपुरमा नयाँ शाखा खोल्छौँ। काठमाडौँमा भाटभटेनी, नयाँ बजार, इमाडोल, बूढानीलकण्ठलागतयका छ स्थानमा नयाँ शाखा खोल्दैछौँ। गाउँ, शहर दुवै हाम्रो प्राथमिकतामा छ।’

आफूलाई निजी भन्ने बैंकहरु समेत जान नमान्ने स्थानमा समेत शाखा विस्तार गर्ने बैंकको योजना छ। नेपाल सरकार र आम नागरिकको संयुक्त लगानीको बैंक हो नेपाल बैंक। व्यवसायिकतासँगै सेवालाई पनि प्राथमिकतामा राखेको छ। बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र आम नागरिकको ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ।

कारोवार अपेक्षित रुपमा कम भएपनि दायित्व सम्झेर ती स्थानमा जाने र सोही अनुसार प्रादेशिक कार्यालयलाई समेत निर्देशन गरिएको छ भन्छन्, अधिकारी।

‘हामीले शाखा कार्यालयलाई भनेका छौँ, बैंकिङ सेवाबाट बन्चित भएका ठाँउहरु खोज्नुस्। अब यसको मतलब निरन्तर घाटा सहने भन्ने त होइन। हामीमा पनि व्यवसायिकता आउनैपर्छ’ अधिकारीले भने, ‘हाम्रा पनि सीमा छन्। शेयरधनी छन्। राज्यले पनि प्रतिफल खोज्छ, सेवा र व्यवसाय हाम्रा दुई प्रमुख क्षेत्र नै हुन्। व्यवसायिक सम्भाव्यता छ भने जान्छौँ।’

बैंक वित्तीय संस्था पैसा हुनेहरुका लागि मात्र भए र हुने गरेका छन् भन्ने गुनासो छ। सामान्यतया त अवस्था पनि त्यस्तै देखिन्छ।

बैंक त पैसा हु्नेका लागि मात्रै भए भन्ने आम गुनासो छ। सर्वसाधारण नेपालीलाई बैंक हुनु र नहुनुको कुनै अर्थ छैन, भुक्तभोगी यसै भन्छन्। हाम्रो जिज्ञासा अधिकारीसँग पनि यस्तै थियो। उनले कुनै समय नै नदिई भने, ‘हाम्रो हकमा त्यो लागू हुँदैन। हामीले सरकारले ल्याएको सहुलियतपूर्ण कर्जालाई विशेष प्राथमिकतामा राखेका छौँ। हामी पहिलो बैंक भएकाले हाम्रो योगदान अरुको भन्दा फरक हुन्छ नै।’

नेपालको औद्योगिक घरानाका लागि नेपाल बैंक ‘मदर’ बैंक हो। ५० देखि ६० को दशकमा बैंकलाई राजनीतिक चक्रव्यूहले गाँज्यो। अनधिकृत रुपमा ऋण दिइयो। केही राजनीतिक नेतृत्व तथा उच्च पदस्थको योजनामा बैंकको निक्षेप माथि खेलबाड भयो। जसका कारण बैंक आर्थिक रुपमा समस्यामा प¥यो। प्राकृतिक नियम नै हो, काला रातहरु छिचोलेर सुन्दर विहान जन्मिन्छ। यस्तै कालो जुग विताएर नेपाल बैंक यतिखेर सबल बैंकको रुपमा स्थापित भएको छ। गत वर्षको नाफाबाट बैंकले शेयरधनीलाई २३ वर्षपछि प्रतिफल समेत दिएको छ।

विगतमा बैंकसँग सम्बन्ध बिच्छेद गरेकाहरु समेत क्रमशः जोडिन थालेका छन्। सर्वसाधारणहरु पनि सानो विपन्न वर्ग कर्जा मार्फत लाभ लिन थालेका छन्। नेपाल सरकारको योजना र केन्द्रीय बैंकको निर्देशनलाई पूर्ण रुपमा परिपालना गरिएको छ। कृषि, पर्यटन, ऊर्जा क्षेत्र प्रमुख प्राथमिकतामा छ।

केन्द्रीय बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको सात महिनाको अवधिमा २० हजार ५६२ ले सहुलियत कर्जा लिएका छन्। त्यसमा नेपाल बैंकको हिस्सा १ हजार ३८२ रहेको छ। महिलालाई उद्यमशील बनाउने योजना प्रमुख प्राथमिकतामा छ। दलित समुदायका लागि समेत बैंकले सहज रुपमा ऋण दिएको छ। कृषि क्षेत्रको आधुनिकीकरणका लागि बैंकले ध्यान दिएको छ।

कुनै समय नेपाल बैंकमा कारोबार गर्न नै समस्या जस्तो लाग्थ्यो। कर्मचारी कुनै अर्कै संसारबाट झरेका जस्ता छन् भन्ने गुनासो हुन्थ्यो सेवाग्राहीको। तर पूराना ढड्डा पल्टाउने जमानाको बैंकलाई अहिले धेरै आधुनिकीकरण गरिएको छ। अरु निजी क्षेत्रका बैंकभन्दा कुनै अर्थमा कमजोर छैन भन्छन्, प्रमुख कार्यकारी अधिकृत अधिकारी। ‘अधिकांश सरकारी निकायका काममा ढिलासूस्ती हुन्छ, उनीहरु ग्राहकमैत्री हुँदैनन भन्ने सोचलाई हामीले पूर्ण रुपमा बदलेका छौँ। दशवर्ष पहिले त्यस्ता सोच राख्नेहरु थिए होलान्’ अधिकारीले भने, ‘यो बैंकको सबैभन्दा बुढो कर्मचारी अब म मात्रै हो। एकाध बाँकी होलान्। युवा, केही नयाँ गरौँ भन्ने सोच भएका कर्मचारी भर्ना गरेका छौँ। जसका कारण नेपाल बैंकलाई अरु व्यवसायीक बैंकभन्दा अब्बल बनाउन सकेका छौँ।’

कुनै समय टोकन लिएर बजार घुमेर आउँदा पनि पालो नआउने अवस्था थियो। ग्राहकलाई बैंकिङ कारोबार गर्न गाह्रो थियो। गुनासोका चाङ हुन्थे। सेवाग्राहीका असन्तुष्टिको पहाड हुन्थ्यो। यो विगतको कुरा हो, अधिकारी यसै भन्छन्। ‘आज यस्तो अवस्था कहीँकतै छैन, भएपनि त्ससलाई सुधार गरेर जान अधिकतम प्रयास गरेका छाँै’ एमबीए स्कलर अधिकारी भन्छन्, ‘पछिल्लो दिनमा वातावरण पूर्ण रुपमा परिवर्तन भइसकेको छ। काराबार गरेर हेर्दा हुन्छ। मेरो आग्रह यही छ।’

‘बैंकमा युवा जनशक्ति भएकाले आन्तरिक रुपमा पनि प्रतिस्पर्धा छ, कसले राम्रो गर्ने भनेर। सेवा क्षेत्र हो बैंक। उपभोक्तालाई कसरी खुसी बनाउने भन्ने तर्फ नै हाम्रो ध्यान छ। सबैको इच्छा त पूरा नहोला, तर सकेसम्म गर्ने प्रयासमा नै छाैं, हुने कामलाई सहजै गर्छौँ, नहुने भए, यसकारण हुँदैन भनेर सम्झाएर पठाउँछाैं’ उनले भने।

पछिल्ला दिनमा आएका ग्राहकको धारणा बदलिएको छ। उनीहरु भन्छन् ‘बैंक परिवर्तन भएछ हामी त पूरानै नजरले हेरिरहेका थियौँ। बैंकको पछिल्ला सेवा हेर्दा अरु बैंक पूराना भएकि भन्ने अवस्था आएको छ। विगतमा बैंकसँग कारोबारको दिगो सम्बन्ध जोडेकाहरु समेतले बीचमा छाडे तर अहिले फर्केर आएका छन्। आमा जति नै नराम्री भएपनि आमा आमा नै हुन्’ अधिकारी बैंकलाई पनि आमासँग तुलना गर्छन् र भन्छन्, ‘नेपालको व्यवसायीक र बैंकिङ क्षेत्रका लागि त नेपाल बैंक आमा नै हो।’

किन नेपाल बैंक?

देशमा धेरै बैंक तथा वित्तीय संस्था छन्। यहाँ हाल २७ वटा त वाणिज्य बैंक नै छन्। नेपाल बैंक किन आउने ग्राहक? हाम्रो प्रश्न थियो।  ‘नेपाल बैंकसँग कारोबार गर्नु भनेको नेपालको पहिलो बैंकसँग सम्बन्धित छु भन्ने गर्वको महसुस हुन्छ। नपाल देशसँगको नाम जोडिएको बैंकसँग सम्वद्ध छु भन्ने अनुभव गर्नु पनि हो, यहाँ जुन काम हुन्छ स्वच्छ हुन्छ, पारदर्शी हुन्छ। प्रणाली अनुसार काम हुन्छ भन्न पाउने गरी ग्राहकमैत्री वातावरण पनि हामीले बनाएका छौँ।’

कुनै कालखण्डमा आर्थिक अवस्था कमजोर भएर, खराब अवस्थामा पुगेर पुनः रिभाइभ भएको नमीठो इतिहास पनि छ बैंकको। दुःखका शरदकालीन रातहरु मात्रै होइन, वसन्तका न्यायो घाम पनि देखेको छ बैंकले। निजी क्षेत्रका बैंकहरुले स्प्रेड दर कसीरहेको बेला नेपाल बैंकको ४.५ प्रतिशत मात्रै रहेको छ। यो अन्य बैंकको तुलनामा असाध्यै कम हो। अरु बैंकले जस्तै स्प्रेड ५.५ वा सो भन्दा बढी बनाएको भए नाफा रु एक अर्ब माथि सोझै हुन्थ्यो, तर आफूहरुले नाफा मात्रै नहेरेको अधिकारी दावी गर्छन्।

निक्षेपकर्तालाई पनि बैंकले राम्रै व्याज दिएको छ। वचत खातामा ६ प्रतिशत व्याज पाउने ग्राहकले मुद्दतीमा ९.७५ प्रतिशतसम्म व्याज पाउँछन्। कर्जाको ग्राहक भए न्यूनतम व्याजमा पाएका छन्।

‘हामी नेपाल सरकारप्रति उत्तरदायी छौँ, सर्वसाधारणप्रति हाम्रो जिम्मेवारी छ। तत्कालका लागि होइन, हामीले दीर्घकाललाई हेरेका छौँ’ अधिकारी बैंकको रणनीति सुनाउँदै भन्छन्, ‘आम मानिसले सहज र सरल ठान्ने सेवा दिएका कारण पनि ग्राहकहरु नेपाल बैंकमा आउनुहुन्छ। मेरो पूर्ण विश्वास छ। बैंकले कमाएको कूल नाफामध्ये ५१ प्रतिशत राज्यलाई जान्छ, ४९ प्रतिशत सर्वसाधारणलाई जान्छ। राज्यलाई दिएको त घुमीफिरी सर्वसाधारणमा नै आउँछ।’

विलासिशताका लागि सवारी साधन खरीद गर्नुप¥यो भने सहजै ऋण दिने बैंक तथा वित्तीय संस्था उत्पादनमूलक क्षेत्रमा लगानी गर्न मान्दैनन्, किन होला? उनको जवाफ छ, ‘नेपाल बैंकमा यो कुरा लागू हुँदैन। हामीले सवारी साधान कर्जालाई कडाइ गरेका छौँ। कुनै पोर्टफोलियोमा कम र बढी त हुन्छ नै, तर उत्पादकत्व बढाउने क्षेत्रमा नै हामी बढी केन्द्रीत छौ।’

उत्पादनमकूलक काम हो भने कर्जा दिने, तर घर जग्गा राखेर, विलाशिताका लागि मात्रै हो भने त्यसमा तयार नहुने रणनीतिमा छ बैंक। अधिकारीको प्रष्ट भनाई छ, ‘त्यसलाई ‘डिस्करेज’ नै गर्ने हो।’

बैंकको प्रमुख प्राथमिकता कृषि, पर्यटन, जलविद्युत् र साना तथा मझौला कर्जा हुन्। अरु बैंकले जस्तो होडबाजीमा विलासिशताका वस्तुमा हुने लगानीलाई प्रोत्साहित नगर्ने नीति छ यो बैंकको। ‘हामी बरु नेपाल भरिकै सानो हुन चाहन्छौ, तर आफ्नो लक्ष्यमा प्रतिवद्ध छौँ। हामीले राम्रो गर्दागर्दै पनि अरुले झन राम्रो गरेभने त्यो त झन राम्रै भयो नि’ आफ्नो परिवारकै पहिलो बैंकर रहेका अधिकारीले भने, ‘लक्ष्य त आफूले न तय गर्ने हो, अन्ध नक्कल गरेर होडबाजी गर्ने योजनामा बैंक छैन।’

प्राथमिकताका क्षेत्रमा केन्द्रीय बैंकले तोकेकोभन्दा बढी लगानी गरेको छ बैंकले। कृषि, पर्यटनमा त १७ प्रतिशतको लगानी छ। जबकी राष्ट्र बैंकले १५ प्रतिशत मात्र लगानी गर भनेको छ। ऊर्जामा पनि उत्तिकै लगानी छ।

पैँतीस सालतिरकै ऋण उठाउन बाँकी छ
बैंकका लागि ५० देखि ६० को दशक असाध्यै दुःखद रह्यो। त्यसलाई कालो इतिहासका रुपमा अथ्र्याउँछन् धेरैले। व्यवस्थापनको अदूरदर्शिता, लोभलालच वा दबाव जस्ता कारण भएपनि बैंक समस्यमा परेको थियो। त्यतिबेला डुबेको ऋण उठाउन एगे्रसिभ भएर लागेको छ बैंक। अधिकारीको भनाइ छ, ‘त्यतिखेरको लगानी हामीले रिकभर गरिसकेको छौँ। केही लगानी अझै बाँकी छ उठाउन।’

कुनैबेला ६० प्रतिशत एनपिए बुक गरेको बैंकको अहिले २.६६ प्रतिशत मात्र छ। धेरै व्यवस्थापन भएको छ। अझै केही त बाँकी नै छ। कुनै ‘रिभाइभ’ गरिएको छ भने केहीलाई ‘रिकभरी’मा पनि लगिएको छ।

मजदुरको अनावश्यक मागका कारण बन्द भएको पोखराको फुलबारी रिसोर्टलाई समय दिएर रिभाइभको अवस्थामा लगिएको छ। नयाँ वर्षको अवसरमा सो रिसोर्ट पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ। बैंकले केही समय पहिले स्थापनाको ८३ वर्ष मनायो। ‘२०३५ सालतिर दिएका केही ऋण भने उठाउन बाँकी नै छ। केही ऋणी छन्, त्यसलाई छिमल्न लागि परेका छाैं, अधिकारीको विश्वास छ, ‘त्यसमा पनि हामी लागि परेकै छौँ।’

शेयरधनीले बैंकबाट प्रतिफल पाउन पनि लामो समय कुर्नुपर्‍यो। २३ वर्षपछि बैंकले २५ प्रतिशत लाभांश दियो। ‘नेपाल बैंक भएर धैर्यता राख्नुभएको हो। बैंकले दिन त सकेको छैन, तर यसको सम्पत्ति त यत्ति छ नी भन्ने थाहा पाएर नै उहाँहरु चुप लाग्नु भएको हो। उहाँहरुप्रति हामी अनुग्रहित छौँ’ अधिकारी शेयरधनीलाई सम्मान गर्दै भन्छन्, ‘हामी ग्राहकको विश्वास बढाउउँछौ, टुटाउँदैनौ।’

व्यवसाय विस्तारमा बैंक लागेको छ। शेयरधनीलाई एकैनाशको लाभांश दिनुपर्छ भन्ने मान्यता राखिएको छ। ‘हाम्रा शेयरधनीलाई अहिलेको जति नै दिन सक्यो भने कामले सार्थकता पाउँछ।’ अधिकारीले सम्वादलाई बीट मार्दै भने, ‘दीर्घकालीन लक्ष्यका साथ काम गरेका छौँ। सोच राम्रो राखौँ, इमान्दार बनाैं, सफलता एक दिन हासिल भइ नै हाल्छ।’

यस्तो छ पछिल्लो ६ महिनाको विवरण
व्यापार विस्तारमा आक्रामक देखिएको बैंकको स्प्रेडकै कारण नाफामा केही सङ्कुचन देखा परेको छ। अघिल्लो वर्षको पुससँग तुलना गर्दा नाफा १८ प्रतिशतले घटेको देखिएको छ। तर पछिल्लो तीन महिनाको मात्र हिसाब गर्ने हो भने नाफा ३ प्रतिशतले बढेको पाइएको छ। बैंकले गत पुससम्म रु १ अर्ब ३५ करोड नाफा गरेको छ। विसं २०७५ को पुस मसान्तसम्म रु १ अर्ब ६६ करोड नाफा गरेको थियो।

बैंकको निक्षेप रु २ अर्ब ३२ करोडले बढेर रु १ खर्ब १७ अर्ब पुगेको छ। ऋण विस्तारमा आक्रामक देखिएको बैंकले चालु आवको ६ महिनामा रु ६ अर्ब ४ करोड ऋण विस्तार गरेको छ। बैंकले कुल रु ९८ अर्ब ४५ करोड ऋण प्रवाह गरेको छ। बैंकले खराब ऋणको मात्रा २.७४ प्रतिशतबाट घटाएर २.६६ प्रतिशतमा झारेको छ। बैंकले गत पुस २५ गते वार्षिक साधारणसभा सम्पन्न गरी २३ वर्षपछि २५ प्रतिशत लाभांश दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad