काठमाडौँ उपत्यकाको अव्यवस्थित सवारी पार्किङलाई व्यवस्थित बनाउनका लागि मेकानिकल पार्किङको प्रस्ताव गरिएको छ।
अव्यवस्थित पार्किङले बढाएको यातायात आवागमन असहजता र प्रदुषण घटाउन जापानको निपोन केवल कम्पनीले मेकानिकल पार्किङको प्रयोग गर्न प्रस्ताव गरेको छ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको मेकानिकल पार्किङबाट निजी क्षेत्रसँग दिगो व्यापारको सम्भाव्यता अध्ययन र यसको सञ्चालन व्यवस्थापनको दिगोपनाका लागि काठमाडौंमा गरिएको सर्वेक्षणको तथ्य देखाउँदै कम्पनीका अधिकारीले यसप्रकारको प्रस्ताव गरेका हुन्।
थोरै ठाउँमा धेरै गाडी पार्किङ गर्न सकिने, अव्यवस्थित पार्किङले ओगटेको जमिन अन्य उपयोगमा ल्याउन सकिने, सहरी सुन्दरता बढाउन र प्रदुषण घटाउन, जाम घटाउन मेकानिकल पार्किङ उपयुक्त देखिएकाले यसको प्रयोगको प्रस्ताव गरिएको बताइएको छ।
प्रारम्भिक अध्ययनले देखाएको तथ्य उल्लेख गर्दै अध्ययन कार्यदलका प्रतिनिधि सुम्पेइ इचिकावाले थोरै जमिनमा धेरै सवारी अट्ने भएकोले राजस्वमा वृद्धि हुने, पार्किङ् गरिएका सवारीको सुरक्षा हुने भएकोले हामीले मेकानिकल पार्किङको प्रस्ताव अघि सारेको बताए। सर्वेक्षण टोलीका अर्का प्रतिनिधि सेइजी ओकानोले यो प्रणाली जडान र सञ्चालन गर्दा महानगरका प्राविधिकलाई प्रविधि र प्राविधिक पक्षमा बुझ्ने बनाउने र त्यसपछि परियोजना महानगरलाई निःशुल्क हस्तान्तरण गर्ने योजना रहेको बताए। तर, यो परियोजना जाइकाले स्वीकृत गरेपछि मात्र लागू हुने बनाए।
त्यस क्रममा बोल्दै सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले काठमाडौंमा बढ्दो सवारी चाप नियन्त्रण गर्न र अव्यवस्थित पार्किङ प्रणालीलाई बिस्थापन गर्न अपरिहार्य भएको बताउँदै प्रस्तावकले दिएको बनिबनाउ परियोजनाभन्दा आधारबाटै महानगर सहभागी भएको परियोजना महानगरको प्राथमिकतामा रहेको बताए। ‘यो जरुरी छ, नभइ हुँदैन तर एकैपटक जटिल खालका प्रविधि ल्याउने नसोचौं। शुरुवातमा सामान्य प्रविधिको उपयोग गरौं, यसलाई बिस्तार र विकास गर्दै लैजाऔं।’
पार्किङको समस्या झेलिरहेका सहरबासीले तत्काल सहज महसुस गर्ने खालको परियोजना सञ्चालन गर्न खोजेको उनको भनाइ थियो। बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले तहगत छलफल र बैठकबाट निष्कर्षमा पुग्ने बताए।
काठमाडौं महानगरका प्युखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्ग क्षेत्रमा सशुल्क पार्किङ् सञ्चालन गर्दाको अनुभव सुनाउँदै बैठकमा ट्रुली योर्स प्रालिका सूचना प्रविधि संयोजक हरिश अग्रवाल, सहरमा भएका कारहरु ९० प्रतिशत समय पार्किङमै बस्ने र बाँकी ५ प्रतिशत मात्र सडकमा गुड्ने भएकोले पार्किङ समस्या देखिएको बताए। काठमाडौंमा भर्टिकल पार्किङ प्रणाली नै उपयुक्त रहेको र सामाजिक परिस्थिति हेरेर काम गर्नुपर्ने बताए।
अहिले प्रस्ताव गरिएको पार्किङ पजल ढाँचाको एकै पटक १३ वटा कार पार्किङ गर्न मिल्ने खालको हो। यस प्रकारको पार्किङ प्रणालीले व्यापारिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रलाई प्रत्यक्ष लाभ पु¥याउने अध्ययन टोलीको भनाइ थियो।

प्रतिक्रिया