ad ad

कारोबार


हप्तामा ५ लाख मास्क उत्पादन गर्ने मेसिन ल्याउने तयारी

हप्तामा ५ लाख मास्क उत्पादन गर्ने मेसिन ल्याउने तयारी

सन्तोष न्यौपाने
फागुन २०, २०७६ मंगलबार १८:८,

मुलुकमा कोरोना भाइरस (कोभिड—१९) फैलने त्रास बढेसँगै मास्कको अभाव हुन थालेको छ। बजारमा उपलब्ध मास्कको उच्चरुपमा मूल्य वृद्धि गरिएको छ।

कोरोना भाइरस फैलन सक्ने उच्चजोखिम र मास्कको अभाव हुन थालेपछि नेपाल चेम्बर अफ कमर्सले मुलुकमै ठूलो परीमाणमा मास्क उत्पादन गर्ने मेसिन ल्याउने प्रस्ताव सरकारसमक्ष गरेको छ।

चेम्बरका उपाध्यक्ष दीपक मल्होत्राले कारोना भाइरस जोखिम न्यूनिकरणको लागि स्वदेशमै ठूलो परीमाणमा मास्क उत्पादन गर्न सकिने प्रस्ताव सरकारसमक्ष राखेको बताए।

उनका अनुसार चेम्बरले ल्याउन लागेको उक्त मेसिनले हप्तामा ५ लाख मास्क उत्पादन गर्न सक्नेछ। एक हप्ताभित्र मेसिन ल्याएर उत्पादन गर्न सकिने मल्होत्राले बताए।

मंगलबार सरकार र निजी क्षेत्रका प्रतिनिधिहरुको कोरोना भाइरसको जोखिम र बजार व्यवस्थापनका विषयमा भएको छलफलका बेला उक्त प्रस्ताव राखिएको हो।

‘मुख्य सचिवसहितको वैठकमा हामीले नेपालमै हप्ताको पाँच लाख मास्क उत्पादन गर्न सक्ने मेसिन ल्याउन पहल गरेको र सरकारले सहयोग गर्नुपर्ने प्रस्ताव राखेका छौं,’ मल्होत्राले भने।

सरकारले सहयोग र केही सहुलियत दिएमा एक हप्ताभित्र उक्त मेसिन ल्याएर उत्पादन थाल्ने उनले बताए।

‘बजारमा मास्कको अभाव हुन थालेपछि चेम्बरले केही दिनदेखि मास्कलाई कसरी सर्वसुलभ बनाउन सकिन्छ भनेर गृहकार्य गरिरहेको थियौं,’ मल्होत्राले भने, ‘आज मुख्य सचिवसँगको भेटमा यो प्रस्ताव राखेका छौं।’

मुख्य सचिवले एकदुई दिनभित्र यो कुरालाई थप निर्णय गर्ने बताएको मल्होत्राले बताए।

सरकारको तर्फबाट हुने सहुलियतको व्यवस्था गर्न सकेमा चेम्बरका तर्फबाट केही दिनभित्रै उक्त मेसिन ल्याएर उत्पादन गर्न पहल गर्नसकिने मल्होत्राको भनाइ छ।

उनका अनुसार उक्त मेसिन एक हप्ताभित्र भारतबाट ल्याउन सकिन्छ। ‘मेसिनको बारेमा भारतमा बुझ्ने काम भइरहेको छ,’ मल्होत्राले भने, ‘सरकारले सहजीकरण गरेको केही दिनमै ल्याउन सकिन्छ।’

मल्होत्राका अनुसार उक्त मेसिनले हप्तामा ५ लाख मास्क उत्पादन गर्नेछ। भारतबाट मास्क बनाउन चाहिने कच्चा पदार्थ पनि ल्याउने र त्यसरी उत्पादन गर्दा ५ रुपैयाभन्दा कम मूल्यमा बेच्न सकिने उनको भनाइ छ।

बजारमा अहिले मास्कको अभाव छ। अरु बेला ५ रुपैया पर्ने मास्कलाई ६० रुपैयाँसम्म मूल्य बढाएको पाइएको छ। यही अवस्थालाई सहजीकरण गर्न ठूलो मात्रामा मास्क उत्पादन गर्न आवश्यक रहेको मल्होत्राले बताए।

मंगलबार बेलुका मुख्य सचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा निजी क्षेत्रका प्रतिनिधिहरुसँगको बैठकमा उक्त प्रस्ताव गरिएको थियो।

उक्त बैठकमा मुख्य सचिवसहित गृह सचिव, अर्थ सचिव, कृषि सचिव, स्वास्थ्य सचिव, उद्योग तथा वाणिज्य सचिवको सहभागिता थियो।

त्यस्तै, निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका तर्फबाट उपाध्यक्ष दिपक मल्होत्रा र नवराज ढकाल र नेपाल उद्योग परिसंघका तर्फबाट अध्यक्ष सतिस मोरको सहभागिता थियो।

बैठकमा मुख्य सचिवले निजी क्षेत्रले कोरोना भइरसबाट बच्न ठूलो भूमिका रहने बताएका थिए।

विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका देशहरुको सूचीमा राखेपछि उच्च सतर्कता अपनाइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .